विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’ का भौतिक संरचनाहरू प्रयोगविहीन

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’ मा निर्माण भएका भौतिक संरचनाहरू प्रयोगविहीन अवस्थामा छन् । नेपाल सरकारले बाराको सिमरास्थित रहेको विशेष आर्टिक प्राधिकरण सेजमा अर्बांैको लगानीमा निर्माण गरेको भौतिक संरचनानाहरू प्रयोगविहीन बनेको छ । सरकारले सेजभित्र प्रशासनिक भवन, सेवा भवनहरू (बैंक, बिमा, भन्सार कार्यालय, हुलाक कार्यालय, बालबालिकाका लागि डे केयर, चमेना गृह, प्रदर्शनी हल, आन्तरिक सडक÷पानी ट्यांकी, आन्तरिक विद्युत् प्रसारण लाइन, प्रदुषित पानी प्रशोधन केन्द्र, खोला तटबन्ध लगायतका पूर्वाधार निर्माण गरेको छ ।

सिमरा सेजको ‘ए ब्लकमा’ दुई वर्षअघि नै निर्माण भएका यी संरचनाको लागि सरकारले ९ अर्ब ५७ करोड रुपैयाँ लगानी गरेको हो । सेजमा सञ्चालनमा रहेका उद्योगलाई एक वर्ष निर्यातमा छुटको व्यवस्था छ । तर, यदि कुनै उद्योगले उत्पादन गरेको वस्तु विदेश निर्यात गर्न चाहेमा भन्सार पास गर्न वीरगञ्ज जानुपर्ने बाध्यता छ । सिमरा सेजका प्राविधिक अजय चौधरीले बैंक तथा वित्तीय संस्थाहरू आएर भवन हेरेर मात्रै फर्कने गरेको बताए । ‘बैंकहरू आफ्नो कार्यालय सेजमा राख्न इच्छुक छन्, तर यहाँ उनीहरूलाई जुन किसिमको भवन चाहिएको हो, त्यो छैन’, चौधरीले भने, ‘बैंक, बिमा कार्यालयले यहाँको भवन भाडामा लिने हो ।

सिमरा सेजको ए ब्लकमा २२ वटा उद्योगले सम्झौता गरेका छन् । जसमध्ये सात वटा भारतीय, ६ वटा चिनियाँ र चार वटा उद्योगमा नेपाली, चिनियाँ तथा भारतीय कम्पनीको संयुक्त लगानी छ । सिमरा सेजमा पाँच वटा उद्योग मात्रै स्वदेशी लगानीका छन् । २२ उद्योगमध्ये पछिल्लो समय केही उद्योगले उत्पादन सुरु गरेका छन् भने केहीले संरचना निर्माणको काम गरिरहेका छन् ।

सिमरा सेजका इन्जिनियर पप्पु गिरीले बैंक तथा वित्तीय संस्थाहरूलाई सेजमा ल्याउने प्रयास भइरहे पनि कुनै बैंकले चासो नदेखाएको बताए । सिमरा सेज बाराको जितपुर सिमरा उपमहानगर–४, १४, १५, १६, १७ को ८३३ बिघा क्षेत्रफलमा फैलिएको छ । हाल सेजमा ए ब्लकको ३४३ बिघामा मात्रै संरचना निर्माण र उद्योग स्थापनाको काम भइरहेको छ भने बाँकी ब्लकका सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ ।

प्रतिक्रिया