किसानलाई गहुँ भित्र्याउन चटारो

मधेश ब्युरो । मधेसका किसान यति बेला चर्को घामको परवाह नगरी गहुँ भित्र्याउन ब्यस्त छन् । मधेस प्रदेशको सबै जिल्लामा अहिले गहुँबाली भित्र्याउन किसानहरु एक साथ लागेका छन् । धानपछि मुख्य खाद्यान्न बालीको रुपमा रहेको गहुँबाली एकैचोटि पाक्ने हुनाले सबै किसानलाई भित्र्याउन चटारो भएको हो । भारतको राजधानी नयाँ दिल्ली र नेपालको राजधानी काठमाडौँमा गत दुई दिनमा हल्का पानी परेको समाचार आएसँगै खेतमा पाकिसकेको गहुँलाई सम्भव भएसम्म छिटो भित्र्याउन किसानहरु व्यस्त भएक हुन ।

गहुँबाली लगाएदेखि खासै पानी नपरेको तर आइतवारदेखि मौसम धुम्म परेको हुनाले पाकेको र काटिसकेको बालीमा वर्षाले नोक्सान पुर्याउने हो कि आशंकाले वैशाखको चर्को घामको परवाह नगरी किसानहरु गहुँ भित्र्याउन लागिपरेका छन् ।

एकाबिहानैदेखि काट्ने तथा दिउँसो हुनासाथ मेसिनले दाइँ गर्ने मुख्य चटारोमा किसानहरुे रहेका छन् । कतिपय किसानले मेसिनको प्रयोग गरी गहुँ काट्ने काम पनि गरेका छन् । खेतमा रहेको गहुँलाई मेसिनले काट्दा गहुँको डाँठ सोझो नहुँदा नोक्सान हुने भएकोले अझै पनि गहुँबाली भित्र्याउन मजदुरकै भूमिका बढी हुने गरेको छ ।

गहुँ काट्न, एक ठाउँमा थुपार्न तथा दाईँ गर्न मजदुर नै चाहिने भएकोले गहुँ काट्ने मजदुरको अभाव हुने गरेका छ । गहुँ बाली भित्र्याउने काम एक हप्ताभित्रमा पूरा हुने देखिएको किसानहरुको भनाइ छ । एकैचोटि सुख्खा हावाले सबैको गहुँ सुकाइदिएको हुनाले मजदुरको अभाव भएको किसानहरुको भनाइ छ ।

रौतहटको कटहरियाका किसानले करिब साठी प्रतिशत गहुँ भित्र्याइसकेका छन् । समग्रमा रौतहट र सर्लाहीको करिब सत्तरी प्रतिशत गहुँबाली काटिइसकेको र अबको एक हप्तामा गहुँ बाली किसानको घरमा भित्रिने देखिएको छ । पानी नपरे पनि गत वर्षको तुलनामा यस वर्ष गहुँबालीको उत्पादन केही राम्रो भएको किसानहरुको भनाइ छ ।

रौतहटको मौलापुरका मदन साहले यस वर्ष गहुँको उत्पादन गत वर्षको भन्दा केही राम्रो भएको बताए । गत वर्ष उत्पादित गहुँले खासै मूल्य नपाएको हुनाले निराश किसानहरुले यस वर्ष गहुँको मूल्य राम्रो हुने आशा गरेका छन् ।

मधेस प्रदेशको आठवटै जिल्लामा गत वर्षको तुलनामा गहुँको उत्पादन राम्रो भएको देखिएको छ । सिंचाइको सुविधा राम्रो हुन सकेमा गहुँबाली अझ राम्रो हुने विश्वास किसानहरुको रहेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया