स्थापित स्टार र सिक्वेलको भरमा चलेको फिल्म

विगत वर्ष झैँ वर्ष २०८० पनि नेपाली फिल्म क्षेत्रका लागि खासै उपलब्धीमूलक भएन । यस वर्ष पनि धेरै फिल्म फल्प भए । यी मध्ये ‘जारी’ वर्षभरिकै सर्वाधिक कमाउने फिल्म बन्न सफल भयो । दर्शक तथा समीक्षकको राम्रो प्रतिक्रिया पाउने फिल्म बन्यो ।
२०७९ सालमा करिब चार दर्जन फिल्म रिलिज हुँदा नौ फिल्म सफल भएका थिए । त्यो वर्ष ४० करोडको लगानी डुबेको जनाइएको छ । २०८० सालमा गत वर्षको तुलनामा बढी लगानी डुबेको छ ।

‘बिहेपास’, ‘बुलाकी’, ‘जारी’ बाट सुरु भएको वर्ष २०८० को नेपाली फिल्मी यात्रा अन्त्यमा ‘रेड सुटकेस’ र ‘डिग्री माइला’ मा आइपुगेर रोकिएको हो । वर्षमा ५३ फिल्म प्रदर्शनमा आए । यी मध्ये ६ फिल्म मात्र सफल भए । ‘जारी’, ‘परदेशी २’, ‘नांगो गाउँ’, ‘पशुपति प्रसाद २’, ‘भष्मे डन’, ‘दिमाग खराब’ र ‘महाजात्रा’ यो वर्षमा सफल फिल्म भए । ११ चैतमा प्रदर्शनमा आएको ‘महाजात्रा’ले अहिले पनि राम्रै व्यवसाय गरिरहेको छ ।
वर्षमा ८८ प्रतिशत फिल्म असफल हुँदा निर्माताले ८६ करोड डुबेको जनाइएको छ । त्यो त वर्ष २०८० मा स्टारमा मात्र नभएर दर्शकले ब्रान्डमा पनि विश्वास गरेको देखिन्छ । पहिले चलेका फिल्मको सिक्वेल पनि यो वर्ष चले । यो वर्ष सफल तीन सिक्वेल फिल्म ब्रान्डले पनि सफल भए ।

वर्षका सफल सबै फिल्म ‘जारी’, ‘परदेशी २’, ‘नांगो गाउँ’, ‘पशुपति प्रसाद २’, ‘दिमाग खराब’ र ‘महाजात्रा’ मा स्टार कलाकारको उपस्थिति छ । यीमध्ये ‘परदेशी २’, ‘पशुपति प्रसाद २’ र ‘भष्मे डन’ र ‘महाजात्रा’ सफल फिल्मका सिक्वेल हुन् ।
५१औँ दिनसमेत मनाएको ‘जारी’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका स्टार रहेको फिल्म उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । ‘परदेशी २’ पनि स्टार कलाकारले नै भरिएको फिल्म हो । फिल्ममा केकी अधिकारी, वर्षा सिवाकोटी, प्रसान्त तामाङ र प्रकाश सपुत लगायतको अभिनय छ । फिल्म ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता हिट फिल्म दिएका नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’को सिक्वेल हो । सिक्वेलका कारणले पनि यो फिल्म चलेको हो ।

‘नांगो गाउँ’ मा यसमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकार थिए । फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । लामाले ‘घामपानी’, ‘२ नम्बरी’लगायत सफल फिल्म दिएका छन् ।
‘नांगो गाउँ’कै बराबरी स्टार कलाकार ‘पशुपति प्रसाद २ र भष्मे डन’मा पनि थिए । फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ लगायतको मुख्य भूमिका थियो । सो फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । यो फिल्म ‘पशुपति प्रसाद’को सिक्वेल हो ।

फिल्म ‘दिमाग खराब’मा पनि चलेका अनुहारको बाहुल्यता थियो । खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, रमा थपलिया, राजन खतिवडाको अभिनय रहेको फिल्म निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।

‘महाजात्रा’मा पनि स्टार कलाकार छन् । फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल लगायतका कलाकार छन् । फिल्म प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

यी हुन् चलेका गीत

यस वर्ष युट्युबमा करोडभन्दा बढी भ्युज पाएका गीतको सूची लामो छ । केही गीत भने युट्युबमा कम भ्युज पाए पनि संगीतप्रेमीका मुखमा झुण्डिन सफल भए । कमै सिर्जनाले यो सफल स्थान पाउँछन् । यस वर्ष सफलता पाउने सिर्जना एलिना चौहान र खेम सेन्चुरीको स्वर रहेको गीत ‘कट्टा हान्दिन्छु’ र वर्षको अन्त्यमा सार्वजनिक भएको भूपू पाण्डेको गीत ‘पिरै पिर’ प्रमुख छन् ।

एक करोड भ्युज पाएका गीतलाई सर्जकहरूले हिट सावित भएको संज्ञा दिन्छन् । यो वर्ष चल्तीका गायकहरूले करोड भ्युज पाउने गीत सार्वजनिक गरेको पाइन्छ । यो वर्ष नेपाली गीत संगीत प्रेमीले धेरै गीत हिट सुन्ने मौका पाए ।
शान्ति श्री परियार तीज गीत ‘अरेली काँडैले’ तीज गीत ‘अरेली काँडैले’ यो वर्षको सबैभन्दा सफल गीत हो । १ भदौमा सार्वजनिक गरिएको सोे गीत अहिलेसम्म युट्युबमा ६ करोड ९३ लाखभन्दा बढीले हेरेका छन् ।

यस गीतको म्युजिक भिडियोमा गायक एवं मोडल प्रकाश सपुत र मोडल अञ्जली अधिकारी छन् । सुशान्त केसीको ‘सारंगी’ बोलको गीत नौ महिनाको अवधिमा ४ करोड ५६ लाखभन्दा बढीपटक हेरिएको छ । उनको यो गीत यस वर्ष युटुबमा सबैभन्दा बढी हेरिएको दोस्रो गीत हो ।

सुशान्तको लेखन र स्वर रहेको यस गीतमा उनी स्वयं र नायिका आना शर्माले अभिनय गरेका छन् । फरक धारको ओएसिस थापाको ‘भिखारी’ युवामाझ लोकप्रिय बनेको छ । सो गीतले १० महिनाको अवधिमा ३ करोड ३९ लाख भ्युज पाएको छ । गीतमा आकाश नेपाली र सरिता कायस्थको अभिनय रहेको छ ।

एैँचो पैँचो फिल्मको ‘काले केटाले’ बोलको गीत पनि धेरै भ्युज पाउन सफल गीत हो । आठ महिनाको अवधिमा सो गीत ३ करोड ३६ लाखभन्दा बढी पटक हेरिएको छ ।

एकनारायण भण्डारीको शब्द रहेको सो गीतमा आशीष अविरल र अस्मिता अधिकारीले आवाज दिएका छन् । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र एलेक्स विश्वकर्मा देखिन्छन् । सुजन चापागाईंको ‘फूलथुंगे रानी’ पनि यो वर्ष धेरै दर्शकको मुखमा झुण्डिन सफल गीत हो ।
सुजनको सो गीतले ११ महिनामा ३ करोड १२ लाखभन्दा बढी भ्युज पाएको छ । हर्क साउदको शब्दमा रहेको यस गीतमा स्वर र संगीत सुजनको रहेको छ ।

प्रतिक्रिया