सिरहा । लहानमा चैत ३० गतेदेखि वैशाख १० गतेसम्म सञ्चालन हुने लहान एक्स्पो मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० को तयारी बारे जानकारी दिन जिल्ला उद्योग वाणिज्य संघ लहानले पत्रकार सम्मेलन गरेको छ ।
‘समृद्धिको आधार, कृषि, पर्यटन उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ जिल्ला उद्योग वाणिज्य संघ लहानले आयोजना गरेको लहान एक्स्पो मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० बारे संघका अध्यक्ष विकास सारडाले जानकारी दिए । उनका अनुसार ३० चैतदेखि सञ्चालन हुने महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले गर्नेछन् । यस्तै मधेस प्रदेशका स्वास्थ्यमन्त्री शत्रुध्न सिंह सो कार्यक्रममा विशिष्ट अतिथि रहने जानकारी गराइएको छ ।
१० दिनसम्म चल्ने अन्तर्राष्ट्रिय महोत्सवमा देश विदेशका ख्याती प्राप्त कलाकारसमेत आउने र प्रत्येक दिन बेलुकी ४ बजेदेखि ९ः३० बजेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
लहान नगरपालिका–१ स्थित पशुपति आदर्श माविको खेल मैदानमा महोत्सवको तयारी तीव्र रूपमा भइरहेको अध्यक्षले पत्रकार सम्मेलनमा बताए ।
महोत्सवमा नेपाली कलाकार पिरिती पासमानको साथै छिमेकी राष्ट्र भारतका भोजपुरी गायिका तथा नायिका अक्षरा सिंह लगायतका कलाकार आउनेछन् ।
महोत्सवले लहानको व्यापार तथा पर्यटन प्रवद्वन र प्रचारप्रसारसँगै स्थानीय कृषि, पर्यटन, उद्योग र व्यापार, संस्कृति, स्थानीय खाना तथा परिकारको उजागर गर्ने अध्यक्षले पत्रकार सम्मेलनमा बताए ।
प्रतिक्रिया