काठमाडौं उपत्यकामा तुवाँलोको प्रभाव, केही प्रदेशमा आज वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने मौसमविद् झाले बताए । उनले भने, ‘आज काठमाडौंमा तुवाँलो लागेको छ, केही समय आकाश खुले पनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवा छैन ।’

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ । यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।– रासस

प्रतिक्रिया