स्तरीय गायकलाई समेट्न सफल सुमी

काठमाडौं । संगीतको अंक गणितीय मापन मात्र छाडेर गुणात्मक मापन पनि हेर्ने सुमी सिंह पक्कै प्रशंसा गर्न लायक गीतकार हुन् । एउटै एल्बम ‘सुमी’ मा नेपालका नाम चलेका कलाकारको स्वर आबद्ध गराउन सफल उनी सधैँ उत्कृष्ट सिर्जनामा रमाउन चाहने कलाकार हुन् । ७० को दशकको सुरुआतमै उनको सो एल्बम नेपाली संगीतमा एउटा उचाइ दिलाउन काफी भयो । २०७१ सालमा सार्वजनिक भएको एल्बम नेपालका ६ स्टारको स्वरले लयबद्ध थियो ।
रिमा गुरुङ, अन्जु पन्त, शिव परियार, सत्यराज आचार्य, थुप्देन भुटिया र जिना रसाइलीको स्वर भएको एल्बमपछि उनी लामो समय सुस्ताएकी हुन् । साँचो भन्नुपर्दा अर्को एल्बम निस्केन । जब निस्कने जमर्को गर्दै थिइन् समय फेरिएको छ ।

लामो समय हराँउदा पनि सुमीको एउटै कथन थियो, ‘स्तरीय फुराइका लागि धेरै समय हुन सक्छ ।’ गीतकार आफैँले एल्बम निकाल्नका लागि पर्ने आर्थिक कठिनाइ पनि आफ्नो ठाउँमा छँदै छ ।

इलामको शान्तिपुर एकदमै रमणीय ठाउँ । त्यसै रमणीय ठाउँमा बाबु टेकबहादुर खाती र र आमा शान्ति खातीकी जेठी सन्तानको रूपमा जन्मिएकी सुमी बाल्यकालदेखि नै सिर्जनात्मक थिइन् । स्कुले जीवनमा रहँदा पनि के के लेखिरहने । गीत गाइरहने । हो, त्यही बाल्यकालदेखिको झुकावलाई पछिल्लो समय एल्बमकै रूपमा उतारेकी हुन् ।

०७१ मा बजारमा आएको यो एल्बमका हरेक गीत उत्ति नै प्रिय रहे । हरेक शब्द उत्तिकै गहकिला, संगीत राम्रा र नाम चलेका कलाकारको स्वर । अन्जु पन्तले गाएको ‘पर्खिएकी कतै तिमीलाई सम्झी सम्झी लजाउँछु, थाहै नपाई सप्तरंगी सपनाहरू सजाउँछु’ बोलको गीत गीतकार संघबाट वर्षको उत्कृष्ट १० गीतको रूपमा मनोनयनमा परेको थियो ।

शिव परियारले गाएको ‘सम्झनाको तरेलीमा राखी नदेऊ मलाई’, बोलको गीत इमेज अवार्डको पुरुष भोकलमा उत्कृष्ट पाँचमा परेको थियो । सत्यराजले गाएको ‘लाखौँपटक म मरे पनि जिउन सकूँ तिम्रै लागि’ बोलको गीत म्युजिक खबरको अवार्डको पुरुष भोकलको शीर्ष ५ मा परेको थियो । अनि सोही अवार्डमा रिमाले गाएको ‘फोरेर मुटु के देखाऊ तिमीलाई पीडाले दुखेको’ उत्कृष्ट आधुनिक महिला भोकलमा उत्कृष्ट पाँचमा परेको थियो । उनको एल्बम पनि म्युजिक खबरबाट वर्षको उत्कृष्ट पाँच एल्बममा समावेश भएको थियो ।

सन्तोष रजौरेको सगीतमा मनोजराज सिवाकोटीले गाएको ‘नजिक थियौँ नभेट्दा नि लाग्छ सँगै थियौँ’ बोलको गीत रेकर्ड भइसके पनि सार्वजनिक हुन बाँकी रहेको छ । दीपक जंगमको सगीतमा ‘आज बस समीप भई कथाहरू सुनाउनु छ, शिर राखी तिम्रो काखमा पिरहरू भुलाउनु छ’ बोलको गीत बानीका प्रधानले गाएकी छन् ।

प्रतिक्रिया