गहुँखेतीमा बढ्दै प्रविधिको प्रयोग

मधेश ब्युरो । यति बेला गहुँबालीलाई भित्र्याउन किसानहरू व्यस्त छन् । पछिल्लो समय गहुँखेतीमा किसानले प्रविधिको प्रयोग बढाउँदै लैजाँदा खेती सजिलो हुँदै गएको छ ।

गहुँ छर्ने बेलामा ट्रयाक्टरको उपयोग गर्ने गरेका किसानले गहुँ काट्नका लागि पनि मेसिनको प्रयोग बढाएका छन् । मेसिनको प्रयोगले किसानलाई निकै सहज भएको उनीहरू बताउँछन् ।

कटहरिया नगरपालिकाको फत्तेपुरमा गहुँको खेतमा मेसिनको उपयोग गरिएको छ । गहुँलाई काट्नका लागि मेसिनको उपयोग गरिएको किसान राम विनय यादवले बताएका छन् । १० जना मजदुरले दिनभरमा काट्ने जति गहुँ एउटा मेसिनले दुई घन्टामा नै काट्ने गरेको हुनाले किसानलाई सजिलो भएको किसान यादवको भनाइ छ ।

गहुँ काटेर एकातिर राख्दै जाने गहुँ काटेर एकैचोटि दाइँसमेत गरिदिने गरी दुई किसिमको मेसिनको प्रयोग अहिले बढ्दै गएको छ । मधेस प्रदेशमा करिब २५ प्रतिशत गहुँ कटाइमा मेसिनको प्रयोग भइरहेको छ । अझै पनि अधिकांश किसानले मानिस लगाएर नै गहुँ काट्न लगाइरहेका छन् । तर, मजदुरको अभाव बढ्दै गएको कारण गहुँबाली भित्र्याउन मेसिनको उपयोग बढेको हो ।

एक घन्टामा करिब एक बिघा क्षेत्रफलको गहुँ मेसिनले काट्ने गरेका छन् । एक घन्टा गहुँ काट्न लगाएवापत मेसिनको ज्याला १ हजार २०० देखि १ हजार ५०० सम्म हुने गरेको छ । गहुँको दाइँसमेत गर्ने मेसिनले फरक किसिमले ज्याला लिने गरेको हो ।

गहुँ काट्ने श्रमिकहरूको अभाव हुँदै जाँदा मेसिनले सजिलो बनाएको सर्लाहीको रामवनका उचित महतोको भनाइ छ । महतोले किसानलाई सजिलो बनाएकोले अबको दिनमा मजदुरको अभाव होला भनेर गहुँखेती गर्न नचाहने किसानले पनि गहुँखेती गर्ने बताएका छन् । मजदुरहरूले सबै काम गर्दा गहुँखेती महँगो हुने गरेको तर मेसिनले गर्न थालेपछि मजदुरभन्दा झन्डै २५ प्रतिशत सस्तो खेती भइरहेको महतोको भनाइ छ ।

मेसिनको प्रयोगले गहुँबाली भित्र्याउँदा समयको बचत हुने तथा सस्तो पनि हुनाले किसानहरू मेसिनतिर आकर्षित भएका छन् । विगतका वर्षहरूको तुलनामा मधेस प्रदेशको सबै जिल्लामा गहुँखेतीमा मेसिनको उपयोग बढेको बाराको चिउँटाहाका किसान रामदेनी साहले बताएका छन् । मेसिनको उपयोगले गहुँबाली भित्र्याउदा गहुँको गुणस्तर पनि राम्रो कायम हुने गरेको किसानहरूको दाबी छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया