घर फर्किंदै गरेका ७ नेपालीको मृत्यु

नैनीतालमा सवारी दुर्घटना

काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा भएको सवारी दुर्घटनामा परी ७ जना नेपालीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दुर्घटनामा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको हो ।

सोमबार राति नैनीतालको बेतालघाट नजिकै बोलेरो जिप सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ) को टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । उद्धार टोली र स्थानीयले मिलेर घटनास्थलबाट ८ जनाको शव निकालेका थिए ।

मृत्यु हुने नेपाली नागरिकहरू बर्दियाका ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धीरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् । यस्तै, नैनीतालको ओडा बाँस्कोटका हरीशरामको पनि मृत्यु भएको जनाइएको छ ।

मृतकमध्ये अधिकांश नेपाली मजदुर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटना परी अन्य २ नेपाली नागरिकसहित ३ जना गम्भीर घाइते भएका छन् । शान्ति चौधरी, छोटु चौधरी र प्रेमबहादुर नाम गरेका श्रमिक घाइते भएको बताइएको छ । भारतीय प्रहरीले दुर्घटनाबारे अध्ययन भइरहेको सञ्चारमाध्यमहरूलाई जानकारी दिएको छ ।

घटनास्थल वरपर नेपाली नागरिक सडक छेउमा पाइप बिछ्याउने काम गर्थे । उनीहरू गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दैगर्दा गाडी सडकबाट तल खसेको बताइएको छ ।

‘काम गर्ने ठाउँनजिकै दुर्घटना हुँदा ७ नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,’ बेतालघाट पुलिस थानाका सब–इन्सपेक्टर अनिश अन्सारीले भने, ‘उनीहरूको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ ।’

प्रतिक्रिया