अर्याल र गुरुङलाई बढुवा गर्न डिआइजीको विशेष दरबन्दी

काठमाडौँ । सरकारले नेपाल प्रहरीका दुई जना प्राविधिक एसएसपीलाई बढुवा गर्न डिआइजीको विशेष पद सिर्जना गरेको छ । २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डिआइजीका दुइटा विशेष पद सिर्जना गर्ने निर्णय गरेको हो ।

आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको नियमित पत्रकार सम्मेलनमार्फत् उक्त जानकारी दिएकी हुन् । सिआइबीअन्तर्गतको साइबर ब्युरोका प्रमुख एसएसपी नविन्द अर्याल र केनाइन कार्यालयकी एसएसपी डा. देउती गुरुङको बढुवा गर्नका लागि विशेष पद सिर्जना गरिएको हो ।

अवकाशमा जानुुअघि एक तह बढुवा गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार सरकारले उनीहरूको कार्यकाल सकिएपछि स्वतः खारेज हुने गरी दरबन्दी थप गरेको हो । यस्तै, मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय पनि गरेको छ । प्रवक्ता शर्माले संसद् सचिवालयमा दर्ता भएको उक्त विधेयकलाई फिर्ता लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरिएको जानकारी दिइन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट करिब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ । नेपाल खानेपानी संस्थान कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावली २०८० सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको पनि मन्त्री शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया