एक वर्षयता बजार घटेको छ

यसको स्थिर विन्दु भनेको अर्थतन्त्रमा सुधार हुनु नै हो । घरजग्गा व्यवसाय, सहकारी तथा अन्य व्यवसायमा आएको समस्या समाधान हुने वित्तिकै बिमा व्यवसाय पनि सुधारतर्फ जान्छ ।

पोषकराज पौडेल, अध्यक्ष – जीवन बिमक संघ

जीवन बिमा व्यवसायको पछिल्लो अवस्था

अहिले अर्थतन्त्रमा परेको असरजस्तै जीवन बिमा व्यवसायमा पनि परेको छ । पछिल्लो समय आमनागरिकको आम्दानीमा आएको गिरावट, घरजग्गाको कारोबार पनि घटेको तथा सेयर बजारमा पनि उत्साह नभएको हुँदा जीवन बिमा व्यवसायमा पनि गिरावट आएको छ । नयाँ योजना बिक्री हुनेक्रम एकदमै सुस्त छ । किस्ता तिर्नेहरू पनि दुई–चार दिन ढिला गर्न पाए हुन्थ्यो भन्ने अवस्थमा छन् । बिमाको पोलिसी (योजना) किन्न खोज्ने व्यक्तिहरूको पैसा बजारमा फसेको अवस्था छ । केही मानिसहरू त बिमा योजना बन्द गरेर घर व्यवहार चलाउन रकम निकाल्न पाए हुन्थ्यो भन्ने अवस्थामा छन् । समग्रमा जीवन बिमा व्यवसाय पनि चुनौतीपूर्ण अवस्थामा छ ।

बिमा बजार घट्नुको कारण

समग्र अर्थतन्त्रमा आएको समस्याको असर बिमा क्षेत्रमा पनि परेको हो । हाम्रो आन्तरिक हिसाबले छिटफुटबाहेक ठुलो समस्या छैन । समग्र बजारमै समस्या आउनुको कारण व्यापार व्यवसाय नै सुस्त हुनु हो । अर्थतन्त्र नै कमजोर भएको कारण बिमा बजारमा पनि समस्या देखिएको हो । एक वर्ष यता बजार घट्दै आएको छ । हरेक महिना एक प्रतिशतका दरले बजार घट्नेक्रम जारी छ ।

यसको स्थिर विन्दु भनेको अर्थतन्त्रमा सुधार हुनु नै हो । घरजग्गा व्यवसाय, सहकारी तथा अन्य व्यवसायमा आएको समस्या समाधान हुने बित्तिकै बिमा व्यवसाय पनि सुधारतर्फ जान्छ ।

बिमा व्यवसायभित्र हामीले दिने सेवा, सुविधा तथा अन्य कुराहरूले जीवन बिमामा खासै असर पारेको छैन । विगतका वर्षहरू भन्दा बिमा कम्पनीहरूको सेवा निकै सुधार भइसकेको छ । दक्ष जनशक्ति बिदेसिनु बिमा क्षेत्रको साझा समस्या हो । तै पनि बिमा कम्पनीहरूको अवस्था सुधार हुँदै गएको छ । बिमा कम्पनीहरू मर्जरमा गएपछि थप बलियो बनेका छन् ।

बजारलाई उकास्न संघको भूमिका

बिमा बजारमा सुधार हुनका लागि समग्र अर्थतन्त्रका सूचकहरूमा सुधार हुनु जरुरी छ । हामीले संघको तर्फबाट विभिन्न जनचेतनामूलक कामहरू गर्ने, कहीँ नीतिमा समस्या भए सुधार गर्न पहल गर्ने गरेका छौँ । हामीले बिमा बजारको सुधारका लागि देशव्यापी रूपमा प्राधिकरण र स्थानीयतहसँग मिलेर जनचेतनामूलक कार्यक्रमहरू गरिरहेका छौँ । दुःखको साथी बिमा हो भनेर हामी देशैभरी बुझाउने प्रयासमा छौँ ।

बिमा व्यवसायमा केही समय अगाडि आएका समस्यालाई बोकेर अहिले पनि आरोप लगाउने प्रयास भइरहेको छ, तर त्यो सत्यता के हो ? भनेर बुझ्नु जरुरी छ । कुनै समय प्रिमियम तिरेको कुरा थाहा नहुने अवस्था थियो भने, पाँच वर्ष यता हामीले बिमालाई स्मार्ट बनाइसकेका छौँ । एजेन्टहरूको विषयमा पनि हामीले शुद्धीकरणमा गइरहेका छौँ । अझैंँ हाम्रा सेवाहरू राम्रो बनाउन अस्पतालहरूसँग पनि सहकार्य गरिरहेका छौँ । दाबी रकम चाँडै भुक्तानी दिन हामीले सबै प्रमाणपत्र डिजिटल माध्यमबाट लिन सक्ने व्यवस्था गर्न हामीले काम गरिरहेका छौँ ।

समस्या र चुनौती

यो क्षेत्रको चुनौती भनेको एउटै हो जनचेतना । बिमाको उत्पादन तथा पोलिसी कतिमा किन्ने ? को सँग किन्ने ? यसपछि कति तिर्ने ? त्यसबाट हुने फाइदा के हुन् ? यी सबैकुरा बुझाउनु चुनौतीपूर्ण छ । त्यस्तै, पैसा हुनेले मात्रै बिमा गर्ने भन्ने भाष्य छ, यसलाई परिवर्तन गर्नुपर्ने चुनौती पनि छ । जो सँग जति पैसा छ त्यतिको नै बिमा गराउन सकिन्छ भन्ने कुरा पनि सबैलाई बुझाउन जरुरी छ । दैनिक ज्यालादारी गर्नेका लागि बिमा एकदमै महत्वपूर्ण छ, भनेर बुझाउनु पनि चुनौती छ । जनशक्ति टिकाउने चुनौती पनि छ । यो त राज्यकै चुनौती हो ।

सम्भावना


जीवन बिमाको सम्भावना धेरै छ । हरेक समय सुखदुःखको साथी बिमा हो । अहिले कुल जनसंख्याको २२ प्रतिशत मात्रै बिमामा जोडिएका छन् । यो संख्या एकदमै कम हो । यो संख्या बढाउनसके ठुलो सम्भावना छ । बिमाको बजार बढ्यो भने रोजगारी बढ्नेलगायतका थुप्रै फाइदा छन् । करमा छुट दिने कुरादेखि सरकारी नीति सुधारका लागि प्रयास गरिरहेका छौँ । सरकारलाई बिमाको रकम विकासमा लगाउन सकिन्छ भनेर बुझाउन हामीले प्रयास गरिरहेका छौँ ।

हामीले तिरेको कर जाजरकोटको भूकम्पमा गयो । त्यहाँका नागरिकको बिमा भएको भए राजस्वको रकम खर्चेर सरकार जनताको घरदैलोमा जानै पर्ने थिएन, बिमा कम्पनीले कभर गरिहाल्थे । जस्तै २०७२ सालको भूकम्पमा १६ अर्ब रकम बिमा कम्पनीहरूले तिरे । यदि बिमा नगरेको भए त्यो रकम सरकारले सहयोगको रूपमा दिनुपर्ने हुन्थ्यो । त्यसकारण बिमाको महत्व बुझाउनसके यस क्षेत्रमा ठुलो सम्भावना छ ।
(केशव भट्टसँगको कुराकानीमा आधारित)

दुःखको साथी बिमा अझै पहुँच बाहिर

आठ महिनामा ९८ अर्बको जीवन बिमा कारोबार

प्रतिक्रिया