त्रिशूलीमा ट्याक्सी दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, एक अझै बेपत्ता

चितवन । काठमाडौंबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना बेपत्ता छन् ।

प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी वर्षीय दिवस रोकाय अझै बेपत्ता छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीन वटा गाडीमा फर्किँदै गर्दा दुर्घटना भएको हो ।

अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरै बेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।

आज (शनिबार) बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक उक्त दुर्घटना भएको हो ।– रासस

याे पनि : काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्याे, पाँच जनाको मृत्यु

प्रतिक्रिया