कांग्रेसलाई उम्मेदवार छान्नै सकस

इलाम –२ उपनिर्वाचन

काठमाडौं । आउँदो वैशाख १५ गते हुन गइरहेको इलाम–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई उम्मेदवार छान्नै सकस परेको छ । इलाम–२ मा मुख्य प्रतिस्पर्धी दल एमालेले सुहाङ नेम्वाङलाई मैदानमा उतारिसक्दा अर्को प्रतिस्पर्धी कांग्रेसले गरेको ढिलाइलाई अर्थपूर्ण मानिएको छ । यसअघिको निर्वाचनमा सुहाङका पिता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिस्पर्धी कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई जम्मा ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए ।

तर, त्यतिबेला कांग्रेससहित माओवादी, नेकपा (एकीकृत समाजवादी)को गठबन्धन थियो भने एमाले एक्लै चुनावी मैदानमा थियो । सांसद नेम्वाङको १६ भदौ, २०८० मा मृत्यु भएकाले सो क्षेत्रमा आगामी वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो ।

यसअघि भएका निर्वाचन परिणामका आधारमा सो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै देखिएका छन् । त्यसैले पनि एमालेले आफ्नो विरासत जोगाउन बल गरिरहेको छ । अहिलेसम्म त्यो क्षेत्रमा जित निकाल्न नसकेको कांग्रेसले कसलाई उम्मेदवार बनाए ४ तारे झन्डा फहराउन सकिन्छ भन्ने चिन्तनमै व्यस्त छ ।

कांग्रेस कोसी प्रदेश समितिले इलाम–२ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रदेशले ५ जना पुरुष र २ जना महिलाको नाम केन्द्रमा पठाएको हो । डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको छ । तर, कांग्रेस केन्द्रबाट उम्मेदवार तोकेर विवादमा पर्न नचाहेको देखिएको छ । त्यसैले कांग्रेसले स्थानीय कार्यकर्तालगायतको जनभावना बुझ्न महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको छ ।

कांग्रेसको नेतृत्व केन्द्रबाट उम्मेदवार तोकेर स्थानीयको रोषको भागी नबन्न प्रयास गरिरहेको छ । केन्द्रबाट एउटालाई उम्मेदवार छान्दा अन्य ६ जनाले अन्तर्घात गर्ने अवस्था नआओस् भनेर यस पटक कांग्रेस सजग देखिएको छ । यही कुराको पुष्टि शुक्रबार अर्का महामन्त्री गगनकुमार थापाले गरेका छन् । उनले भने, ‘अहिले इलाम–२ मा चुनाव हुँदै छ । ७ जना सिफारिस भएर आउनुभएको छ, १ जनालाई छानेपछि ६ जनाले ममाथि अन्याय भयो भनिहाल्नुहुन्छ । सभापतिले १९ गते बैठक बोलाउनुभएको छ । त्यसैले शेरबहादुर, देउवा र गगनले होइन, त्यहाँकै कार्यकर्ताले उम्मेदवार छान्ने व्यवस्था गरौँ ।’

अघिल्लो निर्वाचनमा सो क्षेत्रमा समानुपातिकतर्फ एमालेले २६ हजार ५६२ मत पाएको थियो भने नेपाली कांग्रेसले २२ हजार ३३३ र माओवादी केन्द्रले ५ हजार १५३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४ हजार ६६८, मंगोल नेसनल अर्गनाइजेसनले १ हजार ६६१, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार ११३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ३२९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १९१ र जनता समाजवादी पार्टीले ९०६ मत प्राप्त गरेका थिए ।

यस पटक एमालेले सो क्षेत्रका पूर्वसांसद सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार छनोट गरेको छ । लिम्बू संघीयता र पहिचानका प्रखर अभियन्ता हुन् । माओवादीले सञ्चालन गरेको १० बर्से सशस्त्र द्वन्द्वमा समेत सहभागी लिम्बू रास्वपाको उम्मेदवार हुनुअघिसम्म माओवादी कार्यकर्ता थिए ।

पहिचानवादीहरूले पनि प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक केन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने भएका छन् । सिके राउतको जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाइसकेको छ । केही स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् ।

प्रतिक्रिया