खिम्ति जलविद्युत् आयोजनाबाट सिक्नुपर्ने पाठ

पछिल्लो चरण दोलखा र रामेछापमा सञ्चालन भएका माथिल्लो तामाकोसी जलविद्युत् योजनालगायत थुप्रै परियोजनाहरूले यो मोडलमा काम नगरेकोले रोजगारी, आर्थिक र सामाजिक क्षेत्रमा लाभ पाएका छैनन् । मुद्रास्फीतिको कारण आफ्नो लगानी सुरक्षित गर्न नर्बेली लगानीकर्ताहरूले डलरमा सम्झौता गरे । जसको कारणले नेपाललाई वार्षिक अर्बौंको घाटा भयो । यो सम्झौताको सर्तअनुसार २०७७ असार २७ बाट ५० प्रतिशत सेयर नेपाल सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने रहेछ । तर हालसम्म भएको छैन ।

ताराबहादुर कोइराला

बिनाकमिसन कतै पनि काम नहुने अहिलेको अवस्थामा खिम्ती जलविद्युत् आयोजना सुरुआतको घटना धेरैलाई पत्यार नलाग्न सक्छ । कमिसन लेनदेन नभई नेपाली कांग्रेसको सरकारहुँदा जलस्रोत राज्यमन्त्री रहनुभएका लक्ष्मण घिमिरेको पालामा सुरु भएको हो खिम्ती जलविद्युत् परियोजना । खिम्ती परियोजना सञ्चालन गर्दा आवश्यक सडक तथा भवन निर्माण, ढुवानीको काम, बालुवा, गिट्टी, ढुंगा र काठजस्ता निर्माण सामग्री आपूर्ति गर्न सानासाना पिस बनाएर काम लगाउँदा स्थानीय जनताहरूले रोजगारी पाउनुको साथै राम्रो आर्थिक लाभ लिने मौका प्राप्त भएको थियो ।

सानातिना रोजगारी पनि स्थानीय जनताहरूले प्राप्त गरेका थिए । सरकार र राजनीतिक नेतृत्वले हस्तक्षेप गर्ने काम पनि भएको थिएन । यो मोडलमा काम गर्दा विवाद कम भएर समयमा काम सम्पन्न भएको पनि थियो र स्थानीय जनतामा आर्थिक सम्पन्नता वृद्धि भएको थियो । विकास निर्माण र सामाजिक क्षेत्रमा गरेको लगानीले स्थानीय जनता लाभान्वित पनि भएका हुन् । पछिल्लो चरणमा काममा हस्तक्षेप बढेर मोलाकाज, पक्षपात र राजनीतिक प्रभावमा काम नभएका भने होइनन् । यसै प्रसंगमा पछिल्लो चरण दोलखा र रामेछापमा सञ्चालन भएका माथिल्लो तामाकोसी जलविद्युत् योजनालगायत थुप्रै परियोजनाहरूले यो मोडलमा काम नगरेकोले रोजगारी, आर्थिक र सामाजिक क्षेत्रमा लाभ पाएका छैनन् ।

मुद्रास्फीतिको कारण आफ्नो लगानी सुरक्षित गर्न नर्बेली लगानीकर्ताहरूले डलरमा सम्झौता गरे । जसको कारणले नेपाललाई वार्षिक अर्बौंको घाटा भयो । यो सम्झौताको सर्तअनुसार २०७७ असार २७ बाट ५० प्रतिशत सेयर नेपाल सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने रहेछ । तर, हालसम्म भएको छैन । यो आमचासोको विषय हो । कारण जेसुकै भए पनि शंका र अविश्वास व्याप्त यो समयमा ढिलो नगरी हस्तान्तरण गर्नु दुबै पक्षको आपसी हित र मित्रताका लागि अनिवार्य छ ।

खिम्ती विद्युत् सहकारी लिमिटेड सञ्चालन भएको सुरुमा जनसाधारणलाई थाहा नै भएन । स्थानीय स्तरमा हालीमुहाली भएका स्थानीय नेताकार्यकर्ताहरूको सानो चित्त र उनीहरूको चित्त बुझाएपछि कामगर्न सजिलो हुन्छ भन्ने परियोजनाका कर्मचारीहरूको मनोविज्ञानले सहकारी आफ्नो उद्देश्यमा सफल हुन सकेन । आफ्नो पकडबाट बाहिर जान नदिने र सहकारीलाई सबैको साझा बनाउनुपर्छ भन्ने विवादले लामो समयसम्म द्वन्द्व र झगडा पनि उत्पन्न गरायो । यसभित्र ट्रान्सर्फमर, बिजुली मिटर र अन्य सामान खरिद गर्दा नक्कली ल्याएको, विद्युत् महसुल हिनामिना गरेको भन्नेजस्ता भ्रष्टाचारका विषयहरू उठने गरेका थिए ।

विगत केही वर्षदेखि सर्वसम्मत नेतृत्व चयन गर्ने परम्परा सुरु गरेर सहकारीलाई व्यवस्थित बनाउँदै नाफासमेत गरेर देखाउनु उपलब्धिमूलक र प्रशंसनीय काम हो । अझै पनि राजनीतिक आग्रह, निजी लाभ र स्वार्थको अन्त नभएकोले निष्पक्ष, निःस्वार्थ र क्षमतावान गैरराजनीतिक व्यक्तिहरूबाट संस्थाको नेतृत्व हुन सक्यो भने यो सहकारी जनताका लागि वरदान सावित हुनेछ । केन्द्र, प्रदेश, अन्य गैरसरकारी निकायबाट प्राप्त हुने अनुदान र उठ्ने सामान्य करले पालिकाभित्र गर्नुपर्ने विकास निर्माण, शिक्षा स्वास्थ र सामाजिक क्षेत्रमा गर्नुपर्ने अनगिन्ती कामहरूका लागि बजेट पुग्दैन । उद्योगधन्दा, कलकारखाना खोल्ने, पर्यटन प्रबन्धन गर्ने र प्राकृतिक साधनस्रोतको अधिकतम उपयोग गरेर आत्मनिर्भर बन्नेतर्फ जानुपर्छ ।

खिम्ती विद्युत् सहकारी लिमिटेडको नेतृत्वमा गाउँपालिका, वडा, प्रदेश, स्थानीय र दोलाखी जनता, खुला आह्वान गरेर नेपाली लगानीकर्ता र जनताबाट रकम जम्मा गर्ने र तामाकोसी नदीमा हालको लागि एउटा परियोजना निरमाण गर्ने हो भने सहकारीका सेयर धनी जनता, प्रदेश र स्थानीय निकायसमेत आत्मनिर्भर बन्न मद्दत पुग्नेछ ।

खिम्ती परियोजना सञ्चालनमा रहेका प्रभावित क्षेत्रका भूभागहरू दोलखा र रामेछाप जिल्लाका सबैभन्दा सुक्खा क्षेत्रग्रस्त क्षेत्रहरू मध्यमा पर्दछन् । झन् टनेल खन्ने कामले मुहानहरू सुकेका छन् र सहकारी र अन्य लगानीकर्ताहरूले फुल्पिङ, झाक्रे र हलुवा खोलामा निर्माण गरेका जलविद्युत् आयोजनाको कारण खानेपानी र सिँचाइका विकल्पहरू समाप्त भएका छन् । अब खानेपानी र सिँचाइका लागि तामाकोसी र खिम्तीबाट पानी तानेर सुविधा उपलब्ध गराउनुको विकल्प छैन । त्यसैले सहकारीको पहलमा सम्बन्धित निकायहरूलाई सहभागी गराएर लिफ्ट पद्धतिबाट पानीको आपूर्ति गर्नुपर्दछ ।

जिल्लामा दक्ष कामदार र इन्जिनियरिङ जनशक्ति कम भएको अवस्थामा परियोजनाको पहलमा यो विषयहरू पढाइ हुने विद्यालयको व्यवस्था होस् भनेर हामीले धेरै पहिलादेखि माग राख्दै आाएका थियौँ । यो विषयमा अपर तामाकोसी विद्युत् परियोजना सुरु हुँदादेखि भन्दै आएका छौँ तर कहीँ कतैबाट पनि सुनवाइ भएको छैन । जसको कारण सलाम खाने जति बाहिरका र सलाम गर्ने तल्लो स्तरका कामदार र कर्मचारी मात्र स्थानीय हुने अपमानजनक अवस्थाबाट हामी मुक्त छैनौँ । अब बेला आएको छ । दोलखा र रामेछाप जिल्लामा कार्यरत सबै विद्युत् परियोजना मिलेर दोलखा र रामेछापको बीच पर्ने स्थानमा एक इन्जिनियरिङ कलेज खोल्नु आवश्यक छ । यसले जिल्ला बाहिर समेतका विद्यार्थीहरू पढ्न आएर मात्रै होइन शैक्षिक पर्यटन प्रबद्र्धन गर्न पनि मद्दत मिल्ने र थप आम्दानी हुने देखिन्छ । यसले विभिन्न क्षेत्रमा रोजगारी र आर्थिक गतिविधि बढ्नेछ ।

रोजगारी, कृषिमा युवा केन्द्रित ठोस कार्यक्रम र आयस्रोतको उचित विकल्प नभएकोले गाउँबाट युवाहरू विदेश तथा अन्यत्र विस्थापित भइरहेका छन् । ‘सिंहदरबारको अधिकार घरघर’ भन्ने वचन पनि पूरा भएको छैन । अझसम्म नागरिकता बनाउन, तारिख धान्न, प्रशासन र प्रहरीको सुरक्षा खोज्न र विकास माग्न पुरानो जिल्ला सदरमुकाम धाउनु परिरहेको छ । अधिकार र उत्तरदायित्व नभएको जिल्ला समन्वय समिति राखेर कर्मचारी पाल्ने, पदाधिकारीहरूलाई भत्ता ख्वाउने, गोष्ठी सेमिनार र गाडगुडीमा अनावश्यक खर्च गरेर राजस्वको दुरुपयोग गरिरहेको छ । स्थानीय निकाय ससाना भएकोले निर्वाचित जनप्रतिनिधिहरूको हैसियत कमजोर बनेको छ । सेना र प्रहरीको रिजर्भ फोर्सबाहेक जिल्लामा रहेका सबै कार्यालयहरू गाउँमा पठाउन सक्यो भने स्थानीय निकायमा आर्थिक, सामाजिक र राजनीतिक गतिविधि बढेर गाउँ फेरि आकर्षणको केन्द्र बन्नेछ ।

भन्न मिल्छ कि मिल्दैन । गत फागुन २९ गते खिम्ती विद्युत् सहकारी संस्था लिमिटेडको दोलखा, किर्नेमा भएको साधारणसभा कार्यक्रम स्थलमा मैले गरेको अनुभूति अली फरक रह्यो । हामी मञ्चमा बस्ने, सुकिला थियौँ, खुसी र स्वस्थ देखिन्थ्यौँ । तल बस्नेको फेसन फरक थियो, अनुहार मलिन र उदास थियो । हामीले जनताका लागि धेरै गरेको भाषण त आफूलाई मन प¥यो होला । तर, जनता पाँच सय भत्ता पाउन कति व्यग्र प्रतीक्षामा थियो याद गरेनौँ । पाएको पाँच सय बुझेर चिनी, चिया र तेल किनेर खुसी हुँदै उकालोमा सुस्केरा हाल्दै थिए । अरूलाई के भयो थाहा छैन । मेरोचाहिँ मुटु चसक्क घोच्यो ।

प्रतिक्रिया