नगद प्रवाह ६ खर्ब ६४ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नगद प्रवाह ६ खर्ब ६४ अर्ब पुगेको छ । २०८० असार मसान्तसम्मममा बजारमा परिचालित कूल नगद प्रवाह ६ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो । असारको तुलनामा यो ३९ अर्ब बढी हो ।

यसले आर्थिक गतिशीलता बढेको देखाएको छ । आर्थिक गतिविधि बढ्न थालेसँगै बजारमा नगद प्रवाह बढ्ने गर्छ । ३९ अर्ब बढ्नु भनेको बजार केही चलायमान भइरहेको छ भन्ने देखाउँछ । समीक्षा अवधिमा परिचालित नगद प्रवाह कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा १२.३५ प्रतिशत हो । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार नेपालको पछिल्लो जीडीपीको आकार ५३ खर्ब ८१ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

गत असारमा १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको स्थानीय मुद्रा प्रदाय सम्पत्ति फागुनसम्म आइपुग्दा १ खर्ब ६ अर्ब ८३ करोड ३६ लाख ६७ हजार रुपैयाँमा झरेको छ । यस अवधिमा विदेशी मुद्रा प्रदाय सम्पत्ति ३ खर्ब ८ अर्ब रुपैयाँले बढेको छ । फागुन मसान्तसम्ममा यस्तो सम्पत्ति १७ खर्ब ५२ अर्ब पुगेको छ । गत असारमा १४ खर्ब ४३ अर्ब ९८ करोड रहेको थियो ।

यस्तै आर्थिक वर्षको आठ महीना अवधिमा विदेशी मुद्राको दायित्व ९१ करोड ७२ लाख ३५ हजार रुपैयाँले बढेर ४६ अर्ब ३८ करोड ६ लाख ५९ हजार पुगेको छ । यस्तै स्वदेशी मुद्राको दायित्व पनि २ खर्ब ८ अर्ब ४३ करोड रुपैयाँले बढेर १२ खर्ब ८१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया