बन्द कपास उद्योग चार वर्षपछि सञ्चालनमा

मुगु । विद्युत नभए बन्द भएको कपास उद्योग चार वर्षपछि सञ्चालनमा आएको छ । २०७५ सालमा परिवर्तनशील साना किसान कृषि सहकारी संस्थामार्फत सञ्चालनमा आएको कर्णाली प्रदेशकै पहिलो कपास उद्योगमा विद्युत नहुँदा बन्द भएको थियो ।

यूएनडीपीको आर्थिक सहयोगमा १६ किलोवाट क्षमता भएको ६५ लाख रुपैयाँ बरावरको शौर्य ऊर्जाको सहयोगपछि पुनः कपास खेती उद्योग सञ्चालनमा आएको हो । उद्योग सञ्चालनमा आएपछि गाउँपालिकामै रोजगार पाउने आसले स्थानीय युवाहरू खुसी भएका छन् ।

मुगु जिल्लाको सोरु गाँउपालिकाको एकदेखि ११ वडाका विभिन्न वस्तिहरूमा परम्परागत रूपमा कपास खेती गर्दै आएका स्थानीय वासीहरूको आय आर्जनमा सुधार ल्याउन कपास उत्पादन र प्रशोधनलाई प्राथमिकता दिइएको छ । विभिन्न प्रकारका कपडा उत्पादन गरी मुगुलाई कपास उद्योग र कपास प्रशोधन केन्द्रमार्फत चिनाउने हिसाबले सोरु गाउँपालिकामा रहेको कपास क्षेत्र तथा प्रशोधन केन्द्रमा रहेका १२६ समूह र ११ वटा उप–समूह गरी दुई हजार ४७५ स्थानीय वासी र अन्य पालिका भित्र रहेका स्थानीय वासीलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।

कपास उद्योगमा भवन निर्माणका लागी उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयबाट ५० लाख, जिल्ला कृषि कार्यालय मुगुबाट औजार उपकरण र कपास खेतीको लागी ४१ लाख, सांसद कोषबाट १५ लाख, यूएनडीपीबाट शौर्य विद्युतको लागी ६५ लाख एवं अपुग रकम स्थानीय नागरिकबाट गरी १ करोड ६ लाख र स्थानीय वासीको जन श्रमदानबाट १ करोड ६१ लाख रुपैयाँभन्दा बढी रकमबाट उद्योग सञ्चालनमा आएको हो ।

अहिले उद्योगमा स्थानीय कृषकले उत्पादन गरेको ३५० केजी कच्चा पदार्थ रहेको छ । उद्योगमा दक्ष तालिम प्राप्त कामदार १८ जना र पार्टटाइम ६ जना कर्मचारी रहेका छन् । उक्त उद्योगबाट मफलर, पटुका, दौरा सुरुवाल, गुन्यू टोपी, कोट, दोसल्लालगायत आधा दर्जनभन्दा बढी प्रकारका कपडा उत्पादन हुन थालेको छ ।

उत्पादन गरेका कपडाहरू जिल्लामा रहेका केही सरकारी कार्यालयका कर्मचारीहरूले प्रयोग गर्ने गरेका छन् । अन्य उत्पादन भएको कपडाहरू केही समयपछि बजारमा आउने कपास पकेट क्षेत्र तथा प्रशोधन केन्द्र अध्यक्ष पदमबहादुर मल्लले बताए । सोरु गाउँपालिका भित्र रहेको १० हेक्टरभन्दा बढी जग्गामा कपास खेती गरी गरिएको छ ।

हिजो आज घर नजिकै रहेको कपास उद्योगमा रोजगारी पाउँदा निकै खुसी लागेको स्थानीयले बताएका छन् । बेरोजगार युवाहरूलाई रोजगारमूलक कार्यक्रम स्थानीय र प्रदेश सरकारका कुनै पनि निकायले नल्याउँदा युवाहरू खाडीतर्फ जान विवस थिए । तर, गाउँमै उद्योग सञ्चालन भएपछि खुसी लागेको सोरुगाउँ पालिका– ८ की गोरीकला रावतले बताइन् ।

सोरु गाउँपालिका र कपास उद्योगको संयुक्त पहलमा यूएनडीपी शौर्य विद्युतको लागी पहल गर्दा ६५ लाख रुपैयाँको शौर्य विद्युत सहयोग भएपछि अहिले सोरु गाउँपालिकामा रहेको कपास उद्योग सञ्चालनमा आएको हो । संघीय सरकारबाट थप १० लाख आएको हुँदा पालिका भरका कृषकहरूलाई कपास उत्पादन गर्नको लागी कृषि शाखामार्फत कपासको बिउ वितरण, औजार उपकरण वितरण र कृषकहरूलाई तालिम दिने तयारी भएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।

प्रतिक्रिया