अखिल स्थायी कमिटी सदस्य रक्षा बम निलम्बित्

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले स्थायी कमिटी सदस्य रक्षा बमलाई निलम्बन गरेको छ । आपराधिक लाभको कसुरमा पक्राउ परेपछि बमलाई अनेरास्ववियुले निलम्बन गरेको हो । अनेरास्वियुका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै अनुसन्धान अवधीभरको लागि रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले निष्पक्ष प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । यो प्रक्रिया अवधिभर रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौं ।’

पक्राउ परेको विषयमा समाचार प्रकाशित भएपछि अनेरास्वियुले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ – ‘सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरु माथि उजुरी परेकै आधारमा निजी जीवन माथि आक्रमण गर्ने, अनुमानका आधारमा शिर्षक बनाएर चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित गर्ने र अनुन्धानलाई प्रभावित पार्ने कार्य भईरहेकोमा उक्त गतिविधीहरुमा संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको थियो । बमलाई आपराधिक लाभको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । अनधिकृत रुपमा मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसुर गरेको भन्दै बमविरुद्ध उजुरी परेको थियो ।

प्रतिक्रिया