श्री एयरलाइन्सले थप्यो दुई विमान

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलायन्सले ८० सिट क्षमताका दुई वटा ‘बम्बार्डियर ड्यास–८–क्यू–४००’ विमान थप गरेको छ । नयाँ विमानबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरा लगायतका आन्तरिक गन्तव्यमा उडान सेवा विस्तार गर्ने श्रीले जनाएको छ । जहाज थपिएसँगै तुम्लिङटार तथा भरतपुर विमानस्थलमा नियमित उडान सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०१९ मा दुई वटा र सन् २०२२ मा थप दुई गरी चार वटा ८० सिट क्षमताका क्यानडामा निर्मित बम्बार्डियर ड्यास–८–क्यू–४०० विमान ल्याएको थियो । त्यसअघि कम्पनीले ५० र ७० सिटका सिआरजे विमान आन्तरिक उडानमा ल्याएको थियो । सन् २०१७ बाट ५० सिट क्षमताका दुई सिआरजे २०० तथा ७० सिट क्षमताका दुई वटा आरजे ७०० जेट विमानबाट नेपालका विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन गरेको थियो ।

श्रीले काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी तथा पर्वतीय उडान नियमित रूपमा हवाई सेवा सञ्चालन गरेको थियो । मंगलबार ल्याइएका दुइटा बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज यसअघि अमेरिकाको होराइजन एयर तथा अलास्का एयरले उडाउँदै आइरहेका थिए ।
श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार यी १० वटा विमानवाट अन्तर्राष्ट्रिय यात्रु तथा विशेष समयमा कार्गो ढुवानी चार्टर उडान सुरु गरी छोटो समयमा सफलता प्राप्त गरेको बताए ।

प्रतिक्रिया