भुवन र एमेच्योर सद्भाव शीर्ष स्थानमा

काठमाडौं । एमेच्योर सदभाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन समग्रमा ९–अन्डर १३५ को स्कोरमा संयुक्त रूपमा शीर्षस्थानमा रहन सफल भएका छन् । उनीहरूले एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई ५ स्ट्रोकले पछि पारे ।
नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भावले दिनको उत्कृष्ट नतिजा निकाल्ने क्रममा ८–अन्डर ६४ को स्कोर दर्ज गरे । यो स्कोरमा उनी सातौँ स्थानबाट संयुक्त रूपमा शीर्ष स्थानमा उक्लिए । पहिलो दिनका संयुक्त लिडर भुवनले मंगलबार ६–अन्डर ६६ को स्कोर तयार पारे र शीर्षस्थानमा कायमै रहे ।

मंगलबार २–अन्डर ७० खेल्दै समग्रमा ४–अन्डर १ सय ४० सहित विजय तेस्रो स्थानमा रहेका छन् । समग्रमा १–अन्डर १ सय ४३ को स्कोर बनाएका युवराज भुजेल, रवि खड्का र निरज तामाङले संयुक्त रूपमा चौथो स्थान बाँडे । युवराजले १–अन्डर ७१ को स्कोर बनाउँदा रवि र निरजले १–ओभर ७३ मा खेल सकेका थिए ।

भुवनकुमार रोक्का र बलभद्र राई इभन–पार १४४ को स्कोरमा संयुक्तरूपमा सातौँ स्थानमा छन् । भुवनले २–अन्डर ७० र बलभद्रले इभन–पार ७२ को स्कोर निकाले । यस दिन १–अन्डर ७१ सहित समग्रमा १–ओभर १४५ को नतिजामा दिनेश प्रजापति नवौँ स्थानमा र समग्रमा २–ओभर १४६ सहित सञ्जय लामा १०औँ स्थानमा रहे । सञ्जयले मंगलबार २–ओभर ७४ मा खेल सके ।

३६ होलको समाप्तीमा १३–ओभर १५७ सम्म स्कोर गर्ने २३ प्रो र ६ एमेच्योर गरी कुल २९ गल्फरले कट बनाएका छन् । जयराम श्रेष्ठ, विष्णु प्रसाद शर्मा, रामे मगर, धन बहादुर थापा, दीपक मगर, टंकबहादुर कार्की, रमेश अधिकारी, सूर्यप्रसाद शर्मा, पशुपति शर्मा, प्रदीपकुमार लामा, सबिन सापकोटा, राम कृष्ण श्रेष्ठ, टासी घले, शिवराम पौडेल र कृष्णमान राजबाहकले तेस्रो र चौथो दिनको खेलको लागि स्थान सुरक्षित गरेका छन् ।

प्रतिक्रिया