गठबन्धन दल नै आमनेसामने हुने

इलाम उपनिर्वाचन

काठमाडौं । इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा गठबन्धन आबद्ध दलहरू नै आमनेसामने हुने भएका छन् । गठबन्धनमा सहभागीमध्ये जनता समाजवादी पार्टीबाहेक सबैले उम्मेदवारी दिने निर्णय गरिसकेका छन् । गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न ६ जना आकांक्षी देखिएका छन् । उम्मेदवार बन्न आकांक्षा राख्ने गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. भेषरमण न्यौपानेले पार्टीमा निवेदन दिएको रास्वपाले जनाएको छ ।

आकांक्षीमध्ये पत्रकारसमेत रहेका मिलन लिम्बूले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका थिए । पार्टी विधानको धारा–७१ बमोजिम प्रारम्भिक निर्वाचन गरी ६ जना मध्येबाटै उम्मेदवार छानिने रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

नयाँ गठबन्धनमा सामेल हुनुअघि नै रास्वपाले इलाम–२ को उपचुनावलाई महत्व दिएको थियो । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेदेखि नै रास्वपाले इलाममा निरन्तर गतिविधि गरिरहेको थियो । १४ फागुनमा बसेको पार्टीको सचिवालय बैठकले सह–महामन्त्री कवीन्द्र बुर्लाकोटीको नेतृत्वमा चुनावी गतिविधि अध्ययनका लागि सो क्षेत्रमा टोली पठाएको थियो ।
त्यतिमात्रै होइन, इलाम–२ मा पर्ने ६ वटै स्थानीय तहका मतदाताको धारणा बुझ्न भन्दै गणेश पराजुली, सोविता गौतम, मनिष झा, असीम साह, हरि ढकाल र अशोक चौधरीलगायतको छुट्टै टिम बनाएर खटाएको थियो ।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेको रास्वपाले २०८० वैशाख १० मा भएको उपनिर्वाचनमा चितवन–२ मा सभापति रवि लामिछानेको सिट मात्रै जोगाएन, तनहुँ–१ बाट स्वर्णिम वाग्लेलाई जिताएर थप १ सिट जोडेको थियो ।

कांग्रेसबाट ७ जनाको नाम केन्द्रमा

इलाम–२ को उपनिर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस कोसी प्रदेश कार्यसमितिले ७ जनाको नाम केन्द्रीय कार्यसमितिमा पठाएको छ । कांग्रेस सिफारिसमा पहिलो नम्बरमा भेषराज आचार्यको नाम छ भने दोस्रोमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम छ । आचार्य २०७० को निर्वाचनमा सुवास नेम्वाङसँगै पराजित भएका थिए भने खड्का गत निर्वाचनमा ११४ मतको झिनो अन्तरले नेम्वाङसँग हारेका थिए । सो निर्वाचनमा नेम्वाङले ३० हजार २० मत ल्याएका थिए भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । कांग्रेसले सिफारिस गरेका अन्यमा नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई छन् ।

इलाम निर्वाचनमै केन्द्रित भएर छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बुधबार पदाधिकारीहरूलाई बूढानीलकण्ठ निवास बोलाएका थिए । कांग्रेसले निर्णय भने गरिसकेको छैन ।
उता, नेकपा एमालेले भने स्व. सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदार बनाउने निर्णय गरिसकेको छ । त्यस्तै, रास्वपासँगै नयाँ सत्ता गठबन्धनमा रहेको अर्को पार्टी एकीकृत समाजवादीले पनि जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार बनाउने निर्णय गरेको छ । तर, नाम भने तय गरिसकेको छैन ।

प्रतिक्रिया