लोडसेडिङ हुन लागेको हल्ला मात्रै हो : ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको भनेर हल्ला गरिएको विषय सही नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले नागरिकहरूले लोडसेडिङको समस्या झेल्नु नपर्ने बताएका छन् । भारतसँग विद्युत् आयात सम्बन्धी अनुमति नवीकरणको प्रक्रियामा रहेकाले विभिन्न सञ्चारमाध्यममा आएका समाचार सत्य नभएको उनको भनाइ छ ।

‘बिजुली ल्याउन हरेक वर्ष अनुमति नवीकरण गर्नुपर्छ । अप्रुभको प्रक्रिया अघि बढेको छ । मिडियामा आएका हल्ला सत्य होइन’, उनले भने । भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण भएको छैन । यसबाट लोडसेडिङको जोखिम बढ्ने हो कि भन्ने प्रश्न उठिरहेको छ ।

नेपालले भारतको डे अहेड बजारबाट बिजुली खरिद गर्दै आएको छ। यो बजारबाट बिजुली खरिदका लागि नेपालले २०७८ वैशाखमा अनुमति पाएको थियो । पाँच वर्षका लागि भएको उक्त अनुमति हरेक वर्ष नवीकरण हुँदै आएको छ। पछिल्लो समय भने तीन महिनादेखि नवीकरणका लागि आग्रह गरिए पनि अनुमति नपाएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया