पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटककाे होली (फोटो फिचर)

कास्की । देशको पर्यटकीय राजधानी शहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन् । पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकआपसमा रङ दलेर होली पर्व मनाएका हुन् ।

रेष्टुरेन्ट एन्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा होली महोत्सव आयोजना गरेको थियो । महोत्सवमा पर्यटक बाजागाजासहित नाचगान र विभिन्न रङहरू अनुहारमा दलेर रमाएका हुन् ।

विभिन्न देशका पर्यटकहरूले एकआपसमा रङ दलेर होलीमा रमाइलो गरे । होली महोत्सव अन्तर्गत अम्मट चौतारामा आन्तरिक तथा बाह्य पर्यटकलाई सहभागी गराई सामूहिक रुपमा होली खेलिएको थियो । पञ्चेबाजा र गीत–संगीतका साथमा होली मनाइएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए ।

पर्यटक होली खेल्दै गौरीघाट, बाराहीचोक–हल्लनचोक हुँदै खहरेचोकसम्म पुगेका थिए । पोखरामा ५०० विदेशी पर्यटक होलीमा रमाएको रेवानले जनाएको छ ।

रेवानका अध्यक्ष भट्टराईले विगतदेखि नै होली पर्वमा विदेशी पर्यटकले रमाइलो मानेर सहभागी हुने गरेको बताए । रेवानले १ दशक अघिदेखि होली महोत्सव आयोजना गर्दै आएको छ । होलीमा रमाइलो गर्नका लागि भनेर कतिपय पर्यटकले पोखराको बसाइ लम्ब्याउने गरेको भट्टराईले बताए । उनले भने, ‘स्वदेशी मात्र होइन, विदेशी पर्यटक होलीमा रमाउने गरेका छन्, कतिपय पर्यटकले आफ्नो देश फर्कने तालिका पछि सारेर होलीका लागि बस्ने गरेका छन् ।’

चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत देशका पर्यटक होलीमा रमाएका हुन् । पर्यटकलाई रमाइलो गराउनका लागि लेकसाइडको सडकमा पञ्चेबाजा, विभिन्न अंग्रेजी गीत–संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फागू पूर्णिमा मनाउनका लागि स्वदेशी पर्यटकको गन्तव्य पोखरा बनेको बताए । होलीका लागि देशका विभिन्न भागबाट पर्यटक यहाँ आएको उनले जानकारी दिए । होली मनाउने उपयुक्त गन्तव्य पोखरा बन्दै गएको छ । यहाँ भएका विदेशी मात्र होइन, स्वदेशी आउने गरेका छन् ।– रासस

प्रतिक्रिया