इलाम–२ उपनिर्वाचन : कांग्रेसद्वारा उम्मेद्वारमा सात जनाको नाम सिफारिस

इलाम । इलाम–२ उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेद्वार सिफारिस गरेको छ । मंगलबार इलामको चुलाचुलीमा बसेको कांग्रेस क्षेत्रीय समितिको बैठकले सात जनालाई उम्मेद्वार सिफारिस गरेको क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

बैठकले महासमिति सदस्य भेषराज आचार्यलाई पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । त्यस्तै पूर्वराज्यमन्त्री केशव थापा, जिल्ला सभापति डम्बरबहादुर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङदेन, पूर्व जिल्ला उपसभापति शान्तिकला तामाङ राई र महासमिति सदस्य चन्द्रमाया लिम्बूको नाम सिफारिस गरेको छ ।

बैठकमा आकांक्षीहरूबीच सहमति हुन नसकेपछि सबै सातै जनाको नाम सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष इदिङ्गोले जानकारी दिए । ‘बैठकमा एक जनाको नाममा सहमति हुन नसकेपछि आकाङ्क्षी सबैको नाम सिफारिस गरी पठाइएको छ’, उनले भने, ‘बुधबार बस्ने जिल्ला समितिको बैठकले रायसहित प्रदेशमा पठाउने, त्यसपछि प्रदेशले केन्द्रीय समितिमा पठाउनेछ ।’

यसअघि नेकपा (एमाले) ले पनि आइतबार नै संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्बाङ पुत्र सुहाङ नेम्बाङसहित ६ जनाको नाम सिफारिस गरी केन्द्रीय समितिमा पठाइसकेको छ । आकांक्षीबीच सहमति हुन नसकेपछि एमालेले नेम्बाङसहित उपसचिव रविन्द्र सुवेदी, जिल्ला सदस्य डा. देवीक्षेत्री दुलाल, इलाम–२ क्षेत्रीय अध्यक्ष बुद्धिप्रसाद खनाल, नेता नरेन्द्रनाथ भट्टराई र पार्टी कोशी प्रदेश सदस्य रिपल राईको नाम सिफारिस गरी पठाइएको जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए ।

इलाम–२ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । २०७९ को निर्वाचनमा सो क्षेत्रबाट एमालेबाट निर्वाचित नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि आयोगले चैत २४ गते उम्मेद्वारी दर्ताको मिति तोकेको छ । उपनिर्वाचनका लागि इलाममा २० वटा दलले दल दर्ता गराएका छन् ।

प्रतिक्रिया