पर्साको पोखरियामा प्रहरी र मालपोत कार्यालयको सेवा विस्तार हुने

मधेस ब्युरो । पर्साको पोखरियामा इलाका प्रहरी कार्यालय तथा मालपोत कार्यालयको सेवा विस्तार हुने भएको छ । पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसादको निरन्तरको पहलले पोखरियामा सेवा विस्तार हुने भएको हो ।

पोखरियास्थित इलाका प्रहरी कार्यालयलाई स्तरोन्नति गरेर डिएसपिको दरबन्दी हुने “क“ श्रेणीमा रुपान्तरण गरिने भएको छ । नगर प्रमुखले गृहमन्त्री रवि लामिछानेलाई दाेस्रोचोटि भेट गरेपछि इप्रकाको स्तरोन्नति हुने भएको निश्चित भएको हो ।

पोखरिया नगर प्रमुख प्रदुमन प्रसादले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भेटेर पनि छलफल गरेका छन् । पोखरियामा नापी, मालपोत कार्यालय कार्यालय स्थापनाका लागि नगर प्रमुखले आग्रह गरेका छन् । मन्त्री अधिकारीले मन्त्रालयको सेवा विस्तारको प्रतिबद्धता पनि जनाएका छन् ।

आगामी आर्थिक वर्षको लागि निर्माण हुने नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिने मन्त्रीबाट प्रतिबद्धता व्यक्त भएको नगर प्रमुख प्रसादले बताएका छन् ।

पोखरियामा क श्रेणीको इलाका प्रहरी कार्यालय नहुँदा सेवाग्राहीलाई वीरगंज धाउनुपर्ने बाध्यता रहेको छ । यसै गरी मालपोत तथा नापी कार्यालयको कामले पनि वीरगंज धाउनुपर्ने हुँदा पोखरियासहित आसपासका लाखौँ नागरिकलाई सास्ती भइरहेको छ ।

पोखरियाका नगर प्रमुखले विभिन्न मन्त्रालय धाएर भए पनि स्थानीयवासीको सुविधाको काम गरिरहेका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया