पोखरेलीको वर्षौंदेखिको सपना साकार

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार एक समारोहका बीच पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका हुन् ।
फेवाताल छेउको बाराहीघाटमा आयोजित समारोहमा पर्यटकीय राजधानी घोषणा गर्नुअघि प्रचण्डले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरे ।

सन् १९५० मा गरिएको विश्वकै पहिलो अन्नपूर्ण हिमाल आरोहण वा सन् १९६० देखि हुन थालेको हिप्पी पर्यटकको आगमनको जगमा फस्टाएको हो– पोखराको पर्यटन । प्रकृतिको वरदान पाएको पोखराले यिनै जगबाट उठ्दै आज पर्यटकीय राजधानीका रूपमा अर्को पहिचान थपेको छ । पोखराका कुनाकुनाबाट उत्साहका साथ सहभागी स्थानीयको ठुलो उपस्थितिका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै प्रधानमन्त्री दाहालले ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई नेपालको पर्यटकीय राजधानी’ घोषणा गरे । पोखराबासीले गडगडाहट तालीका साथ वर्षौंदेखिको सपना पूरा भएको अनुभूति गरिरहेका थिए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि लामो समयदेखि प्रयास हुँदै आएकामा धेरै समयको प्रयासपछि औपचारिक घोषणाको समय आइतबारलाई मिलेको हो । घोषणाको तयारीका लागि गण्डकी प्रदेश सरकारले प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । उक्त समितिले विभिन्न सुझावसहित सरकारलाई आफ्नो प्रतिवेदन पेस गरेको थियो ।

पर्यटकीय राजधानी बनाउन आवश्यक न्यूनतम आधार उल्लेख गर्दै सो समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव दिएको थियो । आवश्यक पूर्वाधार विकाससँगै दीर्घकालमा निरन्तर पर्यटक आइराख्ने वातावरण बनाउनका लागि सुझाएको समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उडान, त्यहाँबाट सार्वजनिक बस सञ्चालन गर्न, प्रदूषण कम गर्न विद्युतीय गाडीको प्रोत्साहन, पोखराका पर्यटकीय गन्तव्यको नाम र ठाउँबारे नेपाली र अंग्रेजी भाषामा वृत्तचित्र बनाउन तथा पोखरालाई छाडा चौपायामुक्त बनाउनुपर्नेलगायत विभिन्न सुझाव दिएको थियो ।

पर्यटकीय राजधानी घोषणासँगै पूर्वाधार निर्माणलगायत कामलाई प्राथमिकताका साथ अघि बढाउँदै लैजाने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउँछन् । पर्यटन राजधानी घोषणाले यहाँको पर्यटकीय पहिचानलाई अझै उँचो बनाएको उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेली जनताको सपना र अनवरत प्रयासबाट पोखरासहित समग्र गण्डकी प्रदेशको पहिचान थपिएको बताए । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनका दृष्टिले अनुपम गन्तव्य पोखरा मुलुककै पर्यटन राजधानी घोषणा हुनु आफूहरूका लागि गौरवको विषय भएको उनले बताए । यसले गण्डकी प्रदेशसहित मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपेको उनको भनाइ छ ।

पोखरा पर्यटन राजधानी घोषणालाई अर्थपूर्ण रूपमा हेरिएको पोखराका पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । यो घोषणासँगै पोखराको पर्यटकीय गरिमा र महत्वलाई थप उजागर गरेको बताउँदै उनले आगामी दिनमा यहाँको प्रवद्र्धनसँगै पर्यटकीय राजधानी स्तरीय पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट ६ खर्बभन्दा बढी लगानी भइसकेको बताउँदै उनले यसको विश्वव्यापी प्रवद्र्धनका लागि तीन वटै तहका सरकार र निजी क्षेत्र सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

पोखरामा लगभग वार्षिक १० लाख पर्यटक भित्रिने गरेको बताउँदै उनले २० लाख पर्यटक भित्र्याउने गरी लाग्नुपर्नेमा जोड दिए । ‘हामी छिमेकी भारत तथा चीनबाट अधिकतम पर्यटक भित्र्याउने गरी लाग्नु जरुरी छ,’ उनले भने, ‘यसका लागि प्रवद्र्धनलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ ।’
हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यले पोखरा बास बसेसँगै पोखरा क्रमशः पर्यटकीय गन्तव्यका रूपमा स्थापित बनेको पाइन्छ ।

इतिहासअनुसार सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेका थिए । सन् १९६० को दशकमा हिप्पी पर्यटकको आगमनपछि थालिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि सुरु हुँदै यहाँको पर्यटन बिस्तारै फस्टाउन थालेको पाइन्छ । हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनका जगमा फस्टाउँदै गएको यहाँको पर्यटनमा त्यसयता व्यवसायीहरूले लगानी थप्दै गएको व्यवसायी बताउँछन् ।

इतिहासमा उल्लेख भएअनुसार यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीय र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णन्ले पनि पोखराको भ्रमण गरेका थिए । त्यसयता पोखरामा २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सार्क राष्ट्रका विशिष्ट पाहुनाहरूले पोखराको भ्रमण गरेका थिए । त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको सौन्दर्य विश्वमाझ पुगेको थियो ।

पोखरामा २०७६ कात्तिकमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुंगा सयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक भएका थिए भने यही वर्ष कात्तिक १३ गते पोखरा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यहाँ आएर नौका बिहारदेखि पुम्दीकोटमा हिमालको दृश्यावलोकन गर्दै यहाँको सुन्दरताको प्रशंसा गरेका थिए ।

पोखरा आउने पर्यटकले फेवातालमा डुबुल्की मारेजस्तै देखिने माछापुच्छ्रे हिमालसहितको दृश्य अवलोकनसँगै आसपासका लेखनाथ क्षेत्रका बेगनास, रूपालगायत तालतलैयाको अवलोकन गर्ने गरेका छन् । त्यस्तै, सराङकोटबाट सूर्योदयको अवलोकनसँगै प्यारग्लाइडिङ, जिपलाइन आदि गर्ने गर्दछन् । पोखराका प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल विन्दुवासिनी, तालबाराही, भद्रकाली आदिको दर्शनसँगै हालै पुम्दीकोटमा बनेको विशाल महादेव मूर्ति, विश्व शान्ति स्तुपसँगै काहुँ धरहरा आदिको अवलोकन गर्दछन् । पोखराका पातले छाँगो, गुप्तेश्वर महादेव गुफा, महेन्द्र गुफा, चमेरे गुफा आदि यहाँका प्रमुख पर्यटकीय स्थल हुन् ।

सुन्दर प्राकृतिक विविधताले सजिएको पोखरा पर्यटकीय राजधानी घोषणा हुनु यहाँको मात्र नभई गण्डकी प्रदेश र समग्र नेपालकै पर्यटनका लागि महत्वपूर्ण उपलब्धि भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया