चौथो पाँचथर गोल्डकपकाे उपाधि आर्मी क्लबलाई

पाँचथर । जिल्लाको फिदिममा जारी चौथो पाँचथर गोल्डकपकाे उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले हात पारेको छ । प्रतियाेगिताकाे फाइनलमा शनिबार पाँचथर क्लबलाई ४-२ ले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लबले उपाधि जितेको हो । पाँचथरको मैदानमा आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । २०७४ सालमा भएको दशौ फाल्गुनन्द गोल्डकपमा उपबिजेता बनेको आर्मी ६ वर्ष पछि फाइनलमा आर्मी विजेता बनेको हो ।

फिदिम माविको खेलमैदानमा आर्मीलाई जित दिलाउन कप्तान दिपकुमार लामा, पदम तामाङ र सन्तोष केसीले गोल गरे । आर्मीको जितमा कप्तान दिपकुमार लामाले २ गोल गरे । ३१औं मिनेटमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका पदम तामाङले फष्टबार च्याप्दै प्रहार गरेको बल पाँचथरका गोलरक्षक मिराक खजुमले बचाउने क्रममा रिबाउन्ट भएर आएको बल वानटच प्रहारमा पदमलेनै गोल गरेर आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटमा पाँचथरका दिनेश शेर्माको पासमा आशीष चापागाइले गोल गर्दै बराबरी गोल फर्काएका थिए ।

दोश्रो हाफको ७औं मिनेटमा पाँचथरका प्रशान्त लक्समले गोल गर्दै पाँचथरलाई २- १ को अग्रता दिलाएका थिए । तर, पाँचथरको अग्रता लामो समय टिक्न सकेन । ५३औं मिनेटमा आर्मीका सन्तोष केसीले फ्रिकीक मार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । डि एरिया बाहिर पाँचथरका आशिष चापागाईले फाउल गरे पछि आर्मीले फ्रिकिक पाएको थियो । ६१औं मिनेट र ६९औ मिनेटमा आर्मीका दिपकुमार लामाले गोल गर्दै आर्मीको जित निश्चित पारे ।

आर्मीका पदम तामाङ चेम्जोङ फाईनल खेलको म्यान अफ दी म्याच घोषित भए उनल नगद ५ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्डर आर्मीका बसन्त तामाङ, उत्कृष्ट गोलकिपर आर्मीका नबिन तामाङ, उत्कृष्ट मिड फिल्डर आर्मी रुपेश क्षेत्री, उत्कृष्ट प्रशिक्षक आर्मीका आर्दश मल्ल घोषित भए । उत्कृष्ट सबैले समान १० हजार प्राप्त गरे । खेलको सर्वोकृष्ट खेलाडी पाँचथरका रोशन आङदेम्बे बने । प्रतियोगिताको उदयमानी खेलाडी आयोजक पाँचथर क्लबका मनिष क्षेत्री बने । सर्वोकृष्ट खेलाडी र उदयमानी खेलाडी समान १५ हजार प्राप्त गरे ।

मुमिन नेम्बाङ खेलको फ्यान अफ दि म्याच भए । सुटआउट हिरो (खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) खेलकुद विकास समिती पाँचथरका अध्यक्ष सन्तोष मोक्ताङ भए । दुबैले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अबधि भर सबै खेल हेरेर ७२ वर्षिय नरेन्द्रकुमार सम्हाफे फ्यान अफ दि टुनामेन्ट बन्दै २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

बिजेता बनेको आर्मी उपाधि सहित ५ लाख ५ हजार र दोस्रो हुने टोलीले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उक्त फाइनल खेल कोशी प्रदेश मुख्य मन्त्री केदार कार्की ले पानसमा बत्ती सगै खेलाडी लाइ बल दिएर सुरुवात गरेका थिए ।

प्रतिक्रिया