‘अनावरण’ ले उजागर गरेको सामाजिक यथार्थ

० साहित्य समाजको ऐना हो । यही ऐनाभित्र विजय सापकोटाले समाजको सुन्दर र कुरुप दुवै अनुहार देखाउने प्रयास गरेका छन्

० सङ्ग्रहका धेरै कथा अग्र्यानिक छन् । ती कथामा गाउँको शुद्ध हावा, पानी र माटोको सुवास छ । कथा पठनका क्रममा गाउँका सुन्दर दृश्यहरु आँखा वरिपरि आउँछन् र मन आनन्दित हुन्छ

रत्न प्रजापति

० कुनै वाद वा सिद्धान्तको आग्रह वा पूर्वाग्रह नराखी लेखिएका ‘अनावरण’ भित्रका कथाहरुमा सामाजिक यथार्थ र युगीन चेतना प्रतिबिम्बित छन् । पात्रहरुको मनोदशालाई मिहिन र सुन्दर ढङ्गले केलाउनसक्ने सामथ्र्यले गर्दा सापकोटाका कथाहरु तुलनात्मकरुपमा केही लामा भए पनि संप्रेष्य र पठनीय छन्

उपन्यास, कथा, निबन्ध, कविता लगायतका विधामा सक्रिय विजय सापकोटा साहित्य अनुसन्धानमा पनि रुचि राख्ने साहित्यकार हुन् । उनका ‘गाउँ खोज्दै जाँदा’, ‘काभ्रेली नेपाली साहित्यको रूपरेखा’, ‘उडान’, ‘आमाको माया’ र ‘अनावरण’ गरी पाँच पुस्तक प्रकाशित छन् । ‘अनावरण’ कथासङ्ग्रहको दोस्रो संस्करण हालैमात्र प्रकाशित भएको छ । कलम प्रकाशनले प्रकाशित गरेको यो कथासङ्ग्रहमा छोटा, मझौला र लामा गरी ११ वटा कथा सङ्गृहीत छन् ।

मानवीय संवेदनाले भरिएका कथा अत्यन्तै यथार्थपरक लाग्छन् । सामाजिक यथार्थ र मानवीय संवेदना विजय सापकोटाका कथाहरुका संप्रेष्य मुख्य विषयवस्तु हुन् । सरलता र सहजता उनका कथालेखनका निजी विशेषता हुन् ।

‘अनावरण’ भित्रका कथाहरुमा मानवीय भावना र संवेदना, राजनीतिभित्रको बेथिति, समाज र संस्कृतिभित्र मौलाउँदै गरेको विकृति, यौनले डो¥याएको मनोविज्ञान, बेरोजगारी र वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक समस्या, दशवर्षे जनयुद्धको कहालीलाग्दो कहर, पारिवारिक प्रेम, घृणा र तनाव सँगसँगै फिल्मी ग्ल्यामरको सुन्दरताभित्रको कुरुप चित्र आदि वर्तमान समाजका जल्दाबल्दा विषयहरु मुखरित भएको पाइन्छ ।

साहित्य समाजको ऐना हो । यही ऐनाभित्र विजय सापकोटाले समाजको सुन्दर र कुरुप दुवै अनुहार देखाउने प्रयास गरेका छन् । सामाजिक यथार्थको अनावरण गरेका छन् । प्रकाशकीयका शब्द सापटी लिएर भन्नुपर्दा विशेषगरी सामाजिक जीवनका संवेदनशील पक्षलाई आफ्ना कथाको मुख्य विषय बनाउने कथाकार विजय सापकोटाका कथामा सामान्य अनि महत्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएको पाइन्छ । उनले आफ्ना कथाहरुमा समकालीन जीवनको राजनीति, समाज र संस्कृतिभित्रको विसङ्गत एवम् विद्रुप पक्षहरुलाई सरल, सहज र बोधगम्य ढङ्गले प्रस्तुत गरेका छन् ।


कुनै वाद वा सिद्धान्तको आग्रह वा पूर्वाग्रह नराखी लेखिएका ‘अनावरण’ भित्रका कथाहरुमा सामाजिक यथार्थ र युगीन चेतना प्रतिबिम्बित छन् । पात्रहरुको मनोदशालाई मिहिन र सुन्दर ढङ्गले केलाउनसक्ने सामथ्र्यले गर्दा विजय सापकोटाका कथाहरु तुलनात्मकरुपमा केही लामा भए पनि संप्रेष्य र पठनीय छन् । पाठकको मनमा कौतुहलता जगाउँदै कथाको अन्त्यसम्म अविश्रान्त तानिराख्न सक्षम छन् । कथानकलाई सरल र सहज प्रवाहमा प्रवाहित गर्दै अन्त्यमा अकल्पनीय बिन्दुमा पु¥याएर कथा टुङ्ग्याउने लेखनशिल्पले गर्दा सापकोटाका कथाहरुले पाठकको मनमा छुट्टै र लामो समयसम्म प्रभाव पारिराख्न पनि समर्थ छन् भन्ने लाग्छ ।

० जनयुद्धको पृष्ठभूमिमा लेखिएको यो कथा निकै मार्मिक र हृदयस्पर्शी छ । मितेरी साइनोले गर्दा क्रान्तिको सिद्धान्तविपरीत जोखिम मोलेरै बाल्यकालको मितलाई राजनीतिक र सैद्धान्तिक दृष्टिकोणमा दुश्मन नै भए पनि मृत्युको मुखबाट र जनकारबाहीबाट बचाएर जीवनदान दिइएको प्रसङ्ग निकै हृदयस्पर्शी छ

सङ्ग्रहकै एक सशक्त कथा हो ‘आरेमको ट्याङ्का’ । राजनीति दुषित छ र राजनीति दुस्वप्न हो इमानदार र निष्ठावान कार्यकर्ताका लागि । पार्टी राजनीतिमा त्याग र समर्पण भएका इमानदार, निष्ठावान र पार्टीप्रति पूर्ण आस्थावान र आशावान नेता अथवा कार्यकर्तालाई नेतृत्वले कसरी अवसरहरुबाट बञ्चितीमा पार्छ र पाखा लगाउँछ भन्ने सन्देशमूलक कथा हो ‘आरेमको ट्याङ्का’ । पार्टीप्रति आस्था र आशा होस् वा नहोस्, पार्टीप्रति इमानदार र निष्ठावान होस् वा नहोस्, तर नेतृत्वको गणेशभक्ति गर्ने, सधैँ नेतृत्वको परिक्रमा गर्ने चाटुकारले नै सबै प्रकारका अवसर पाउने र पार्टीको इमानदार र निष्ठावान नेता अथवा कार्यकर्तामा गनिने वर्तमान राजनीतिको यथार्थलाई यो कथामा अत्यन्तै सटिक र शालीन ढङ्गले प्रस्तुत गरिएको छ । पार्टीप्रवृत्ति, राजनीतिक संस्कार र नेतृत्वका गलत आचरणप्रति कटाक्ष गर्दै इमानदार र निष्ठावान कार्यकर्ताप्रति संवेदना र सहानुभूति प्रकट गरिएको छ । वर्तमान राजनीतिक पार्टीप्रवृत्तिप्रति कटाक्ष गरिएको एउटा सशक्त कथा हो यो ।

पार्टीभित्र जनवादी कुरा गर्ने र पार्टीबाहिर चाहिँ भौतिक सम्पत्तिलाई ठूलो ठानेर हिँड्ने द्वैध गरित्रका नेताप्रति पनि कटाक्ष गरिएको छ । पार्टीप्रति समर्पित, त्यागी, इमानदार र निष्ठावान नेता–कार्यकर्ताले बेहोर्नुपर्ने आर्थिक सङ्कट र यसकै कारण भोग्नुपर्ने आर्थिक तथा सामाजिक पीडाको पनि सुन्दर चित्रण गरिएको छ । संवेदना र भावुकताले पाठकको हृदयमा स्पर्श गर्ने सामथ्र्य यो कथामा छ ।

नखुलेका र नदेखिएका आदर्श क्रान्तिकारीहरुको अवसान दुःखदायी रुपमा हुन्छ भन्ने सन्देश पनि यो कथामा छ । आरेम अतीतदेखि वर्तमान राजनीतिक प्रवृत्तिबाट प्रताडित एउटा जल्दोबल्दो प्रतिनिधि पात्र हो । राजनीतिक पार्टीहरुभित्र आरेमजस्ता उपेक्षित र पीडित पात्रहरु प्रशस्त छन् ।

पार्टीको लागि आफ्नो जैविक आवश्यकतालाई पनि लुकाएर र दबाएर राख्नसक्ने एउटा समर्पित, इमानदार र निष्ठावान कार्यकर्ताको अत्यन्तै मार्मिक कथा हो ‘आरेमको ट्याङ्का’ । वर्तमान पार्टीप्रवृत्ति र नेताको आचरणप्रति कडा प्रहार गर्न पनि सफल छ यो कथा ।
प्रजातान्त्रिक व्यवस्थामा ओहोदामा नपुगी सम्पन्न बन्ने आधार नभेटिने सत्यको उद्घाटन ‘पटाक्षेप’ कथामा गरिएको छ । समाजको एउटा खलपात्रका कारण खलपात्र स्वयंको त अज्ञात तत्वबाट अन्त्य भएकै छ, सँगसँगै अन्य दुई वटा जीवनको पनि दुःखद अवसान भएको छ । एउटा विवश छोरीको अनि अर्को उस्तै विवश र अपमानित बाबुको । अन्त्यमा कसैद्वारा मारिएको लाशसँग अपमानको बदला लिएर प्रताडित मनलाई शान्त पारे पनि कानुनको पञ्जाबाट बच्नका लागि आफ्नै जीवनलाई पनि समाप्त पारेको दुःखान्त कथा छ ‘पटाक्षेप’ मा ।

‘अन्तिम वाक्य’ कथामा वैदेशिक रोजगारीले नेपाली समाजमा निम्त्याएको जटिल सामाजिक समस्याको एउटा पाटोलाई उधिनेको छ । स्वास्नीमान्छेको सुरक्षाकवच हो लोग्नेमान्छे अर्थात् लोग्ने । त्यही लोग्ने साथमा नहुँदा नसोचेको घटना हुँदोरहेछ । आफ्नै ससुरा खलपात्र भएर उपस्थित हुने र उसैबाट बलात्कृत हुनुपर्ने र त्यसपछि पटकपटक यौन शोषित हुनुपर्ने घटना यो कथामा आएको छ । घटनाका प्रत्यक्षदर्शी बनी छोरीले यस्तो अकल्पनीय दृश्य देखेर बेइज्जती महसुस गरेर आत्मदाह गर्न खोजेको सन्दर्भ यो कथामा छ । कथा मार्मिक छ र रोचक छ । मृत्युशय्यामा पल्टिएकी आफ्नै छोरीको स्वास्थ्यको चिन्ता र आफैँबाट भएको गल्तीका कारण मनमा लागेको चिन्ताले गर्दा मानसिकरुपमा विक्षिप्तजस्तै बनेकी एउटी नारीको बेचैन मनोदशाको राम्रो चित्रण भएको छ । वैदेशिक रोजगारीले सामाजिक समस्यालाई बढावा दिएको सन्देश पनि यो कथामा छ । साथै अनैतिक सम्बन्धको विस्तार, अपराध प्रवृत्तिमा बढोत्तरी भइरहेको सङ्केत पनि यो कथामा छ ।

आध्यात्मिक चेतनाले भरिएको कथा हो ‘निमित्त’ । मान्छेको जीवन अनित्य संसारको निमित्त मात्रै हो भन्ने उदात्त सोचले जीवनलाई परोपकारमा उपयोग गर्नुपर्छ, व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिनुपर्छ भन्ने सोच यो कथामा छ । फोहोरी राजनीतिभन्दा पवित्र समाजसेवामा लाग्दा पनि राजनीतिक चरित्रका मान्छेका कारण अपमानित र उपेक्षित हुनुपर्ने सामाजिक यथार्थलाई चित्रण गरिएको कथा निकै मार्मिक छ ।

‘बिजेता’ यौन मनोवैज्ञानिक कथा हो । स्वास्नीको सुन्दर अनुहारलाई विकृत बनाउन उद्यत लोग्नेको मनस्थिति यौन मनोविज्ञानबाट निर्देशित छ । स्वास्नीको सुन्दर अनुहारबाट उसलाई पीडा भएको छ । त्यही पीडाबाट मुक्त हुन र सन्तुष्ट हुन ऊ स्वास्नीको अनुहारको सुन्दरता भत्काउन उद्यत हुन्छ । तर असफल हुन्छ । संयोगले उसकी स्वास्नी लडेर मुखमा चोट लाग्छ र उसको चाहना पूरा हुन्छ । तर ऊ खुसी हुन सक्दैन । स्वास्नीको विकृत अनुहार देखेर ऊ विस्मित हुन्छ र बालकझैँ क्वाँक्वाँ रुन्छ । लोग्ने–स्वास्नीबीचको स्वाभाविक प्रेमको प्रकटीकरण छ कथामा ।

‘गिर्खो’ कथामा एउटा न्यून वर्गीय बेरोजगार युवाको विवशता र पीडाको संवेदनशील चित्रण गरिएको छ । महत्वाकांक्षी युवाले भोगिरहेको बेरोजगारीको पीडाको आवाज हो यो कथा । बेला–बेला दुखाइरहने त्यही गिर्खोजस्तै भएको छ बेरोजगारी पनि ।
एउटा पशु र मानिसको जीवनलाई उस्तै संवेदनाको दृष्टिकोणले हेर्ने खोजिएको छ ‘अन्तरण’ मा । संवेदना पक्ष निकै सशक्त छ यो कथामा । कथाको अन्त्य झनै प्रभावशाली छ । हातमा बालकको लाश र काँधमा मरेको खसी बोकेको मान्छेबीचको दृश्यात्मक तादात्म्यताले पीडा र दुःखको अनुभूतिका पनि तादात्म्यता भएको देखाउने प्रयासले संवेदनात्मक भावकुताले पाठकलाई घुप्लुक्कै छोपेको महसुस हुनेछ ।

‘जङ्गली फूल’ एउटा प्रतीकात्मक अग्र्यानिक कथा हो । सुन्दर जङ्गली फूललाई लालचमा पारेर सहरमा लगेर कसरी निर्ममतापूर्वक निमोठ्छन् भन्ने एउटा तीतो यथार्थलाई यो कथामा प्रस्तुत गरिएको छ । सहर अधिकांश गाउँलेको सपना हो । त्यही सपनाको सुन्दर नगरीका भित्तामा टाँसिने सुन्दरी नायिकाको सपना देख्ने एउटी ग्रामीण सिधासाधा युवतीको सपना र विश्वास निमोठिएको हृदस्पर्शी कथा हो ‘जङ्गली फूल’ । फिल्मी ग्ल्यामरमा यस्ता धेरै सिधासाधा युवतीको सपना र विश्वासको क्रुरतम हत्या भएको छ । यो क्रुर यथार्थ नै हो । यसैगरी झण्डै निमोठिन लागेकी युवतीको अस्थिर मनस्थितिको सुन्दर चित्रण यो कथामा भएको छ ।

सन्तान जस्तासुकै होऊन्, बाबुआमाका लागि सबै सधैं प्रिय हुन्छन् । समय परिस्थितिले मनमा केही असन्तुष्टि र आक्रोश पैदा हुनसक्छ । त्यही रिस र आक्रोशको झोकमा सन्तानप्रति कुविचार नै आए पनि त्यसलाई मायाले जित्छ भन्ने सन्देश बोकेको पारिवारिक कथावस्तुको यथार्थवादी कथा हो ‘सन्तान’ ।

सङ्ग्रहको अर्को एउटा सशक्त र तुलनात्मकरुपमा केही लामो कथा हो ‘बाहिर अन्धकार थियो’ । जनयुद्धको पृष्ठभूमिमा लेखिएको यो कथा निकै मार्मिक र हृदयस्पर्शी छ । मितेरी साइनोले गर्दा क्रान्तिको सिद्धान्तविपरीत जोखिम मोलेरै बाल्यकालको मितलाई राजनीतिक र सैद्धान्तिक दृष्टिकोणमा दुश्मन नै भए पनि मृत्युको मुखबाट र जनकारबाहीबाट बचाएर जीवनदान दिइएको प्रसङ्ग निकै हृदयस्पर्शी छ । कथामा एकातिर अभावको पीडा छ भने अर्कोतिर मिठो मित्र–प्रेम पनि छ । बाल्यकालको निकै मिठो सम्झना पनि छ । धेरै ठाउँमा पूर्वदीप्ति शैलीमा प्रस्तुत गरिएका प्रसङ्गहरु पाठकको मनमा गहिरो छाप छोप्न सफल देखिन्छन् ।

सङ्ग्रहको अन्तिम कथा हो ‘मुक्त’ । यो नितान्त पाविारिक कथा हो । एउटा व्यभिचारी र स्त्रीलम्पट पुरुषका कारण दुई–दुईवटी महिलाले भोग्नुपरेको मानसिक र सामाजिक पीडालाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

सङ्ग्रहका सबै कथाहरु उत्कृष्ट पनि छैनन् र निकृष्ट पनि होइनन् । कथाहरु औसत र केही कथा औसतभन्दा माथिका पनि छन् । तुलनात्मकरुपमा हेर्दा पहिलो कथा ‘आरेमको ट्याङ्का’ लाई सशक्त कथा भन्न सकिन्छ । ‘बाहिर अन्धकार थियो’ कथा पनि सशक्त कथा नै हो । यी दुवै कथा राजनीतिक पृष्ठभूमिका लेखिएका छन् ।

सङ्ग्रहका धेरै कथा अग्र्यानिक छन् । ती कथामा गाउँको शुद्ध हावा, पानी र माटोको सुवास छ । कथा पठनका क्रममा गाउँका सुन्दर दृश्यहरु आँखा वरिपरि आउँछन् र मन आनन्दित हुन्छ । पाठकले ‘अनावरण’ भित्रका कथा पठनबाट भरपुर आनन्द प्राप्त गर्नेछन् ।

प्रतिक्रिया