हामी सामाजिक चेतना बोकेका चलायमान युवाहरू भएको कारण एउटा सुरक्षा कवचको खोजीमा लाग्यौँ । किनकी सुरक्षा कवच जरुरी थियो । कस्तो खालको सुरक्षा कवच अपनाउने ? भन्ने विचार गर्दै जाँदा नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्थापना गर्न सबैभन्दा उपयुक्त देख्यौँ । रुकुम जिल्लामा पत्रकार महासंघ स्थापना गर्ने निर्णय हामी दुई जनाले गर्यौँ । भेटघाट होटलमा चिया खाइरहेकै अवस्थामा अलिअलि भए पनि कलम चलाउने साथीहरूको सूची बनायौँ । २०६० पुस १४ सोमबारको दिनमा पत्रकार महासंघको विधान बमोजिम १७ जनाको तदर्थ समिति बनायौँ ।
म काठमाडौंमा एमए पढिरहेको थिएँ । त्यसैबेला कान्तिपुरमा जिल्ला संवाददाताहरूको विज्ञापन आयो । मैले पनि निवेदन दिएँ । करिब आठ महिनापछि कान्तिपुरले रुकुम जानलाई कार्यालयमा बोलायो । जिल्ला ब्युरोमा भएको छलफलपछि २०६० मंसिरमा म रुकुममा स्ट्रिङ्ग्गर भएर आएँ । रिपोर्टिङ गर्न निकै कठिन थियो । चिनेजानेका मानिस कमै थिए । सदरमुकाम मुसिकोट खलंगामा माओवादी छोडेका र माओवादीवाट विस्थापित मात्र थिए । माओवादीले गरेका राम्रा कामको समाचार लेखे सुरक्षाकर्मीबाट टर्चर हुने माओवादी विरोधी समाचार लेखे गाउँ जानै नसकिने अवस्था भइरहेको थियो ।
दैनिक पत्रिकाका समाचारदाताहरूलाई सबैले वास्ता गर्दथे अरूलाई खासै वास्ता हुँदैनथ्यो । दैनिक पत्रिकाका पत्रकारहरूमा कान्तिपुरमा हरिविष्णु ओली, राससमा डिलबहादुर शाही, राजधानीमा शक्तिकुमार पुन थियौँ । यी कसैलाई मैले चिन्दैनथेँ । नारायण शाह र म पहिलेदेखि नै परिचित घनिष्ठ मित्रहरू थियौँ । माले अनेरास्ववियुमा लामै संगत थियो । म माओवादीमा लागेँ तर भूमिगत भइनँ । उहाँ एमालेमा सक्रिय नै हुनुहुन्थ्यो । उहाँले पनि जनआस्थामा लेख्ने गर्नुहुन्थ्यो । एमाले भएका कारण उहाँलाई माओवादीबाट खतरा थियो भने, मलाई माओवादी भएका कारण सुरक्षाकर्मीबाट ।
हामी सामाजिक चेतना बोकेका चलायमान युवाहरू भएको कारण एउटा सुरक्षा कवचको खोजीमा लाग्यौँ । किनकी सुरक्षा कवच जरुरी थियो । कस्तो खालको सुरक्षा कवच अपनाउने ? भन्ने विचार गर्दै जाँदा नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्थापना गर्न सबैभन्दा उपयुक्त देख्यौँ । रुकुम जिल्लामा पत्रकार महासंघ स्थापना गर्ने निर्णय हामी दुई जनाले गर्यौँ । भेटघाट होटलमा चिया खाइरहेकै अवस्थामा अलिअलि भए पनि कलम चलाउने साथीहरूको सूची बनायौँ । २०६० पुस १४ गते सोमबारको दिनमा पत्रकार महासंघको विधान बमोजिम १७ जनाको तदर्थ समिति बनायौँ । जसअनुसार संयोजक नारायण शाह, सहसंयोजक सिद्धराज पनेरु, सचिव हरिविष्णु ओली, कोषाध्यक्ष कमल थापा र बाँकी १३ जना सदस्यहरू छनौट गरियो । जसलाई २०६१ साउन ५ गतेको नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठकले अनुमोदन गरी स्वीकृति प्रदान गरेको थियो ।
रुकुम जिल्लाको पत्रकारिताको इतिहासमा २०६१ असार २७ गते ऐतिहासिक दिन बन्न गएको छ । द्वन्द्व पत्रकारिताको जोखिमहरू अधिकतम भइरहेकै बेला हामीहरूले कलम चलाउन थालेका थियौँ । एकातिर राज्यसत्ता र अर्कोतर्फ माओवादीको जनसत्ता चलिरहेको थियो । गाउँमा माओवादीको हैकम थियो भने सदरमुकाममा राज्यको । यो द्वन्द्वको चरम उत्कर्षको समय थियो । हामी दुवैतर्फको ज्यादतिको भण्डाफोर गरिरहेका थियौँ ।
पत्रकारहरूले सशक्त आवाज उठाउन थालेपछि माओवादी थ्रेट बढेको थियो । राज्यका भ्रष्ट कर्मचारीहरू पनि त्यत्तिकै हैरान भइरहेका थिए । जसले गर्दा अनियमितताको समाचार लेखे माओवादीको आरोप लगाउने, सेना र प्रहरीसँग मिल्ने दुःख दिने काम गर्दथे । परिणामस्वरूप २०६१ असार २७ गते चार जना पत्रकारहरू कान्तिपुरका समाचारदाता हरिविष्णु ओली, जनआस्थाका समाचारदाता नारायण शाह, राससका समाचारदाता डिलबहादुर शाही र बुधबारका समाचारदाता कमलप्रकाश थापा र एक जना कलमजीवी सुरजकुमार परियारलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाइयो ।
हामीहरूलाई लगाइएको आरोप थियो, ‘पशु सेवा कार्यालयका प्रमुख डा.फेकन साहमाथि हातपात गरेको’, तर वास्तविकता फरक थियो । जिल्ला पशु सेवा कार्यालयको अनियमितताको वारेमा जनआस्थामा समाचार आयो । समाचार प्रकाशनपश्चात कार्यालय प्रमुखले नारायण शाह र कमल थापालाई दुव्र्यवहार गरे । माफी मगाउने र सम्बन्धलाई थप जटिल नबनाउने उद्देश्यका साथ पुनः हामी छलफलका लागि कार्यालयमा गयौँ । छलफल हामीले सोचेजस्तो भएन । प्रमुख डा.फेकन शाहले हामीमाथि अपशब्द बोल्नुको साथै प्रहरी बोलाउन लगाउनुभयो । त्यस व्यवहारले हामीलाई उत्तेजित बनायो । अनियमितता पनि गर्ने र आफैँ ठूला कुरा गर्ने भन्ने हामीलाई लागेपछि डा.शाहलाई दुई–चार थप्पड साथीहरूले लगाइदिए । जसले थप्पड लगाए, उनीहरू भागीहाले । प्रहरीको फन्दामा हामी पर्यौँ ।
त्यस बेला अनियमितता अचाक्ली थियो । सर्वसाधारण, उपभोक्ता र कार्यालयकै कर्मचारीमार्फत अनियमितताहरू बाहिर ल्याउने कामहरू भइरहेका थिए । नागरिक समाज, मानवअधिकारकर्मी र राजनीतिक दलका कार्यकर्ता र स्थानीय कर्मचारीहरूले भ्रष्टाचारको भण्डाफोर गर्न हौसला दिइरहेका थिए ।
तत्कालीन एमाले नेताहरू खेममान खडका, शेरबहादुर केसी, नन्दलाल शर्मा, ठगेन्द्रप्रकाश पुरी, देवी ओली, टोपबहादुर ओली, हरिप्रसाद शर्मा, माधव गौतमको अथक मिहिनेत र सोही समयका स्थानीय विकास मन्त्री युवराज ज्ञवाली र प्रकाश ज्वालाको पहलमा १३औँ दिनको हिरासत बसाइपछि जिल्ला प्रशासन कार्यालयले जनही १०–१० हजारको धरौटी लिई तारेखमा रिहा गरेको थियो ।
प्रहरीको गाडी पनि थिएन । बाटो पनि राम्रो थिएन । जसले गर्दा स्वास्थ्य परीक्षण गराउन प्रहरीले जिल्ला अस्पताल सल्ले लैजाँदा हत्कडीसहित बजार परिक्रमा गराएको थियो । हामीलाई हेर्न बजारियाहरूको घुँइचो लागेको थियो । अहिले संझिँदा अर्कै अनुभूति हुन्छ । त्यतिखेर हिमाली छापाखानाका सञ्चालक तथा मानवअधिकार तथा शान्ति समाजका रुकुम अध्यक्ष हिरालाल खडका र राजधानी दैनिकका समाचारदाता शक्तिकुमार पुनले निकै ठूलो सहयोग गर्नुभएको थियो । जिल्लामा सञ्चारको सुविधा थिएन । नेपाल टेलिकमको एउटा मात्र लाइन थियो । त्यो पनि प्रहरीको निगरानीमा थियो । गोपनीयता भन्ने नै हुँदैनथ्यो । हाम्रो रिहाइको पहल गर्न र माथिबाट आदेश गराउन तथा गोपनीयताका लागि नेकपा एकीकृत समाजवादीका नेता राष्ट्रिय सभाका पूर्वसांसद माननीय ठगेन्द्र प्रकाश पुरी एक दिन हिँडेर खारामा फोन गर्न पुग्नुभएको थियो ।
यो घट्नाकै कारणले गर्दा नेपाल पत्रकार महासंघ रुकुम शाखाले छिटो मान्यता पाएको थियो । पत्रकार महासंघको स्थापनासँगै पत्रिका सञ्चालनको चुनौती उत्तिकै थिए र छन् । सर्वप्रथम नारायणजीले जन्तीधारा साप्ताहिक दर्ता गर्नुभयो । करीव तीन–चार वर्ष प्रकाशन गर्नुभयो । उहाँले हिमाली छापाखानामा लेटर प्रेसमा पनि छाप्नुभयो । दोस्रोमा मैले रुकुम समाचारपत्र साप्ताहिक दर्ता गरेँ । दुई पेजको करिब तीन वर्ष जति निकालियो ।
(संस्थापक सचिव, नेपाल पत्रकार महासंघ, रुकुम)
प्रतिक्रिया