प्रकाशक महासंघ नेपालले बुझायो मुख्यमन्त्रीलाई ज्ञापन पत्र

जनकपुरधाम । जनकपुरधामस्थित अखबारका प्रकाशकहरूको संस्था प्रकाशक महासंघ नेपालले विभिन्न पाँच बुँदे माग राख्दै मधेसका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संघले मुख्यमन्त्री सरोजकुमार यादवका आलावा मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, मधेस आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र गृह तथा सञ्चार मन्त्रालयका उपसचिवलाई पनि ज्ञापन पत्र बुझाएको हो ।

मुलुककै अर्थतन्त्र कमजोर रहेको समयमा सञ्चारमाध्यमको अवस्थासमेत जर्जर भइरहेको भन्दै प्रदेश सरकारले मिडियाको संरक्षण सम्बद्र्धनतर्फ ध्यान पु¥याउनुपर्ने माग गर्दै महासंघले मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापन पत्र बुझाएको हो । महासंघका अध्यक्ष शंकर साहको नेतृत्वमा प्रेस स्वतन्त्रता सेनानी अशोक रौनियारसहितको टोलीले विभिन्न पाँच बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।


मिडियाको अवस्था जर्जर भइरहेको समयमा सरकारबाटै लोक कल्याणकारी विज्ञापनको बजेट कटौती गर्नु संघीयताको मर्म विपरीत रहेको महासंघको ज्ञापन पत्रमा उल्लेख छ । महासंघले लोककल्याणकारी विज्ञापनको रकम यथाशीघ्र निकासा गरी विज्ञापन वितरण गर्न, विगतको वर्षमा उपलब्ध गराइएका लोक कल्याणकारी विज्ञापनमा रकम कटौती नगर्न माग गरेको छ ।

साथै प्रदेश सरकार अन्तर्गतका विज्ञापनहरू सबै सञ्चारमाध्यमलाई एकद्वार, चक्रिय र समानुपातिक ढंगबाट वितरण गर्नुपर्ने, संघीय सरकारद्वारा सञ्चालित पत्र–पत्रिका र सञ्चारमाध्यमहरूलाई प्रदेश सरकारबाट पनि विज्ञापन दिनु संघीय परिकल्पनाको विपरीत र प्रदेशका सञ्चारमाध्यमलाई समाप्त पार्ने षड्यन्त्र रहेकाले यस्ता विज्ञापनहरू बन्द गरी सो विज्ञापन स्थानीय नियमित सञ्चारमाध्यमहरूलाई वितरण गर्नुपर्ने लगायतका मागहरू ज्ञापन पत्रमा उल्लेख छ । महासंघले ज्ञापन पत्रमार्फत उठाएका मागहरू फागुन मसान्तभित्र सम्बोधन नगरिए संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रिया