दशगजा क्षेत्रमा अपराध नियन्त्रण गर्न समझदारी

जनकपुरधाम । भारत बिहारको मधुवनीमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच दशगजामा अपराध नियन्त्रण गर्ने समझदारी भएको छ । नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबीच दशगजा अतिक्रमण नियन्त्रण, सीमा सुरक्षा, अपराध नियन्त्रण लगायतको विषयमा छलफल तथा समझदारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डले जानकारी दिए ।

उनका अनुसार भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी भएको छलफलमा सीमा सुरक्षा, क्रस बोर्डर अपराध नियन्त्रण, लागुऔषध र सीमा क्षेत्रमा अवैधानिक मदिरा नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, नक्कली नोट नियन्त्रण गर्ने विषयमा समझदारी भएको हो ।

छलफलबाट एकापसमा समन्वय, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा थप सहयोग हुने विश्वास लिइएको छ । बैठकमा नेपाल तर्फको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले र मधुवनी जिल्लाका डिस्ट्रिक मेजिष्ट्रेट अरविन्दकुमार वर्माले गरेका थिए ।

मधुवनी जिल्लाको मिथिला चित्रकला संस्थान सौरथमा भएको भारत र नेपालका सीमावर्ती जिल्लाहरू सप्तरी, सिराहा, धनुषा र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी प्रमुखहरू, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरू तथा मधुवनी जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट, प्रहरी प्रमुख, सीमा सुरक्षा बल प्रमुख लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया