सिरहा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धनुषा–सिरहा जोड्ने कमला नदीमा बनेको झोलुंगे पुलको उद्घाटन गरेका छ्न् भने कमलामै चिकना–सबैला जोड्ने पक्की पुल निर्माणको लागि शिलान्यास गरेका छ्न् ।
शनिबार प्रधानमन्त्री दाहालले धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल र सिरहा नगरपालिका– १३ मल्हनिया जोड्ने कमला नदीमा झोलुंगे पुल र धनुषाको सबैला नगरपालिका– ४ र सिरहाको कल्याणपुर नगरपालिका– ५, ६ चिकना भोक्रहा सिमाना जोड्ने गरी निर्माण हुने नयाँ पक्की पुलको शिलान्यास तथा उद्घाटन गरेका हुन् ।
त्यसैगरी प्रधानमन्त्री दाहालले हुलाकी राजमार्ग जोड्न कमला नदीको अलपत्र पक्की पुलको हेलिकप्टरबाटै निरिक्षण समेत गरेका छ्न् । सिरहाको सिरहा नगरपालिका–१३ मलहनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाललाई जोड्ने गरी डेढ किलोमिटर मिटर लामो झोलुंगे पुल निर्माण भएको छ ।
२५ करोडको लागतमा बनेको उक्त पुल सञ्चालनमा आइसकेको छ । उद्घाटन गरिएको उक्त पुलको लम्बाइ १ हजार ४ सय ५२ मिटर छ । यो झोलुंगे पुल देशकै लामो हुने बताइएको छ । कठाल–मल्हनिया झोलुंगे बनाउन करिब २५ करोड ८० लाख रुपैयाँ खर्च भएको छ ।
यो पुल बनाउन स्थानीय पूर्वाधार विभागबाट ३ करोड ५ लाख बराबरको लगानी उपलब्ध गराइएको थियो । पुल निर्माण गर्न सपना, उमा एण्ड कम्पनी तथा जोइन्ट भेन्चरमा थानी कम्पनीले ठेक्का पाएको हो । यो पुलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३ हजार ८८६ पदयात्री) रहेको जनाइएको छ ।
झोलुंगे पुलले स्थानीयको जनजीवन निकै सहज बनाएको विभागको दाबी छ । अहिलेसम्म कमला नदी वारपार गर्न पूर्व–पश्चिम राजमार्गसम्म आउनुपर्ने बाध्यतामा स्थानीय थिए । पुल बनेपछि सो बाध्यता हट्ने बताइएको छ ।
त्यस्तै धनुषाको सबैला नगरपालिका– ४ र सिरहाको कल्याणपुर नगरपालिका– ५ चिकनाघाट जोड्ने पक्की पुलको शनिबार शिलान्यास गरेको हो । एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाई ६०० मिटर रहेको छ । डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।
पटेर्वा घाट र सिरहाको कल्याणपुर नगरपालिका– ५ चिकना घाट जोड्ने करिब ५ सय मिटरको पुल निर्माण हुनेछ । पुल निर्माणको लागि ठेक्का लागिसकेको छ । उक्त पुल १ अर्ब ११ करोडको लागतमा निर्माण हुनेछ । हुलाकी सडकको दक्षिणतर्फ झोलुंगे पुल बनेको छ भने उत्तरतर्फ पक्की पुलको शिलान्यास भएको छ ।
प्रतिक्रिया