पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

पाँचथर । जिल्लाको फिदिममा खेलकुद विकास समिति पाँचथरको आयोजनामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

उक्त खेलको उद्घाटन जिसस पाँचथरका प्रमुख रामराज आङदेम्बेले गरेका हुन् । पाँच विधामा सञ्चालन गरिएको प्रतियोगिताको पहिलो दिनको मेन्स सिंगलका खेलहरु भएका छन् । अहिले मेन्स सिंगलका पहिलो चरणका खेलहरु सम्पन्न भएको छ ।

मेन्स सिंगलमा भोजपुरका विशाल तामाङ ताप्लेजुङका अन्डरेश लिम्बु, सुनसरीका संगम गिरी, पाँचथरका दिवस शंकर, उदरपुरका विनय चौधरी, तेह्रथुमका नविन सिलवाल, संखुवासभाका अनुज तामाङ, भोजपुरका बिवेक श्रेष्ठ, भोजपुरका युनशल राई, सोलुखुम्बुका सगुन कार्की, खोटाङका योदेश राई, तेह्रथुमका बिकेक कन्दवा, सोलुखुम्बुका संयोग बस्नेत,उदयपुरका सुजल चौधरी र ताप्लेजुङका मिलन गुरुङ दोश्रो चरण प्रवेश गरेका छन् ।

अहिले मेन्स सिंगलको दोश्रो चरणका खेलहरु सञ्चालन हुँदैछ । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा भइरहेको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका हुन् ।

प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिति पाँचथरको कवर्डहलमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, विमेन डबल, विमेन सिंगल र मिक्स डबलका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको ६८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफि, मेडलसहित नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । खुल्ला भेट्रान्स प्रतियोगितातर्फ ४५ वर्ष माथि र दुई जना खेलाडीको उमेर जोड्दा १०० वर्षमाथि गरि दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका विजेताले ३० हजार र उपविजेताले १५ हजार प्राप्त गर्ने छन् ।

आगामी फागुन २४ गतेदेखि हेटौँडामा हुने अन्तर प्रदेशस्तरीय प्रतियोगिताको खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट गरिने मोक्तानले जानकारी दिए । प्रतियोगितामा प्राविधिक सहयोग जिल्ला ब्याटमिन्टन संघले गर्ने छ । प्रतियोगिता सम्पन्न गर्न १८ लाख खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया