मिडियाकर्मीको काम चलाउ प्रवृत्ति र दुष्परिणाम

वास्तविक पत्रकारिताको लागि फेसबुके पत्रकारिता घातक छ । आफ्नो मिडियामा आएको समाचारलाई फेसबुकमा सार्वजनिक गर्ने प्रवृत्ति आमपत्रकारिताको एउटा हिस्साजस्तै भइसकेको छ । समाचार वा लेखको लोकप्रियतालाई लाइक तथा सेयरको संख्यामा मापन गरिन थालिएको छ । लाइक, कमेन्ट र सेयर त मसला (मुद्दा)ले भन्दा मसालाले नै पाउने हो । खोज, अनुसन्धान तथा फिचरका बौद्धिक पाठक बढी हुन्छन् जसले पढ्ने काम त गर्दछन्, डाउनलोड गरेर पछिका लागि राख्न सक्छन्, धारणाको आधारको रूपमा ग्रहण गर्न सक्छन् तर लाइक, कमेन्ट र सेयरबाट आफूलाई रोक्दछन् । शिक्षित र प्रशिक्षित मिडियाकर्मीको ठूलो खडेरी छ ।

सञ्जय साह मित्र

आजभोलि मधेसमा आफैँ उद्यमी, आफैँ सम्पादक र आफैँ सम्वाददाता बन्ने प्रवृत्ति हावी छ । जसले आफूलाई मिडियाकर्मी भन्दछन् वा जो अलिक परिचित मिडियाकर्मी छन्, तिनका आफ्नै कुनै न कुनै सञ्चारमाध्यम पनि रहेको छ । आफैँ सञ्चार उद्यमी, सम्पादक र संवाददाता भएपछि मिडियामाथि व्यक्ति हावी हुनु स्वभाविक हो । सञ्चार कर्ममा इन्पुट, प्रोसेसिङ र आउटपुटमा एकल हस्तक्षेप रहँदा सर्वेसर्वा र सर्वोपरिको अहंले समग्र पत्रकारितामाथि नकारात्मक प्रभाव परिरहेको छ ।

कोरोनाको कहरले समाजमाथि आक्रमण गर्नुअघि मिडियाकर्मीको संख्या निरन्तर बढ्दो थियो, अहिले सञ्चारमाध्यमको संख्या बढेको छ । मुख्य गरी राजधानी (सम्भव भएसम्म संघीय, नभए प्रादेशिक) को कुनै मिडियामा आबद्ध हुने र त्यसको आडमा आफ्नो मिडियालाई प्रबद्र्धन गर्ने प्रवृत्ति निरन्तर बढ्दो छ । राजधानीका पनि निकै कम मिडियाहरूले नै संवाददातालाई नियमानुसार पारिश्रमिक दिने गरेका छन् । पारिश्रमिक दिने मिडियाका मिडियाकर्मीले सम्मानको एउटा परम्परा पाएका छन् । समाचार लिने तथा सूचना र विज्ञापन संकलन गर्न लगाउने तर बाँकीमा भने स्वायत्त हुन दिने प्रवृत्तिले गर्दा मधेसको मोफसलका मिडियाकर्मी बढी स्वच्छन्द हुन पुगेका हुन् ।

अहिले दुई प्रवृत्ति आमरूपमा विद्यमान छन् मधेसका मिडियाकर्मीमा । ती प्रवृत्ति हुन् : पहिलो धम्क्याउने र दोस्रो गुलामी गर्ने । पहिलो किसिमका पत्रकारले कुनै पदमा रहेका, अवैध काम गर्ने व्यवसायी तथा सम्भावना भएका मानिसलाई तिनको हैसियत हेरी पैसा माग्छन् । तिनको कमजोरी समातेर मोलतोल गर्दछन् । दोस्रो किसिमले भने कतिपय मानिसका लागि पत्रकारिता गर्ने गरेका छन् । कतिपयको प्रभावमा वा प्रभावका लागि पत्रकारिता गर्ने गरेका छन् । भएका राम्रा कुरा त लेख्छन् नै, नभएको कुरालाई पनि रामो बनाएर लेख्छन् वा पूर्णतया आँखा चिम्लेर बस्छन् । यी दुवै नकारात्मक प्रवृत्तिले मधेसको पत्रकारितामा झन् नकारात्मकता थपिरहेका छन् ।

फिल्डमा नजाने तथा अरूले बनाएको समाचारमा फेरबदल र थपघट गरी आफ्नो नाम र मिडियामा दिन्छन् । यसको अर्थ यो पनि हो कि कतिपय मिडियाकर्मीले खासै परिश्रम गर्न चाहँदैनन् । मिडियामा परिश्रम नगर्ने तर परिश्रमिकभन्दा बढी तर मार्न खोज्ने प्रवृत्तिले फेसबुके पत्रकारितामा विस्तार आइरहेको छ ।

वास्तविक पत्रकारिताको लागि फेसबुके पत्रकारिता घातक छ । आफ्नो मिडियामा आएको समाचारलाई फेसबुकमा सार्वजनिक गर्ने प्रवृत्ति आमपत्रकारिताको एउटा हिस्साजस्तै भइसकेको छ । समाचार वा लेखको लोकप्रियतालाई लाइक तथा सेयरको संख्यामा मापन गरिन थालिएको छ । लाइक, कमेन्ट र सेयर त मसला (मुद्दा)ले भन्दा मसालाले नै पाउने हो । खोज, अनुसन्धान तथा फिचरका बौद्धिक पाठक बढी हुन्छन् जसले पढ्ने काम त गर्दछन्, डाउनलोड गरेर पछिका लागि राख्न सक्छन्, धारणाको आधारको रूपमा ग्रहण गर्न सक्छन् तर लाइक, कमेन्ट र सेयरबाट आफूलाई रोक्दछन् ।

शिक्षित र प्रशिक्षित मिडियाकर्मीको ठूलो खडेरी छ । यस खडेरीले प्रतिबद्ध पत्रकार र व्यावसायिक पत्रकारिताप्रतिको कसिलो लगावको अभाव पनि रहेको छ । कर्मप्रति समर्पणको कमीको कारण कैयौँ वर्षदेखि मिडियाकर्ममा बिताउँदा पनि खासै गुणस्तर आउन नसकेको पाइएको छ । समस्या आफूमा छ भन्ने कुरा पत्याउन पनि कतिपय मिडियाकर्मीले चाहेको पाइँदैन । मिडियाको गुणस्तर मेरो कारणले बढ्ने वा जस्ताको तस्तै रहने हुन्छ तथा मेरो मिडिया आफैँमा एक ब्रान्ड बन्न सक्छ भन्नेतिर ध्यान जान सकेको पाइँदैन । अझ जहाँ र जुन अवस्थामा मिडियाकर्मी हुन्छन्, त्यहीँबाट अपडेट गर्ने होडबाजीले ब्रेकिङ न्युजको पनि महत्व कम गरिसकेको छ ।

जानकारहरू भन्छन्, ‘आफैँले बनाएको समाचारलाई पनि कम्तीमा तीनपटक पढेपछि मात्र सार्वजनिक गर्नुपर्दछ । ब्रेकिङ, लाइभ, अपडेट तथा फस्र्ट इन फस्र्ट हुनुपर्ने होडबाजीले समाचारको भाषा, विषय तथा अन्य गुणस्तरमा नकारात्मक प्रभाव पारेको छ । यस किसिमको होडबाजीले त कतिपय अवस्थामा मिथ्या समाचार पनि सार्वजनिक हुने डर हुन्छ । समाचारमा परिष्कारको सम्भावना पनि नहुने डर विद्यमान रहन्छ ।

सबैभन्दा बढी समस्या त रेडियोमा स्थानीय भाषामा समाचार पढ्ने रेडियोकर्मीहरूमा देखिएको छ । स्थानीय भाषाका समाचारवाचकहरूले कुनै एक अनलाइनमा प्रकाशित समाचारलाई जब स्थानीय भाषामा पढ्नुपर्ने हुन्छ तब सोझै डाउनलोड गरेर नेपाली वा हिन्दी भाषाको समाचारलाई सोझै मातृभाषामा पढ्छन् । ताज्जुब त त्यत्ति वेला हुन्छ कि जतिबेला आफ्नो मातृभाषामा पर्याप्त शब्दहरू हुँदाहुँदै जुन भाषाको समाचार रहेको हुन्छ, सोही भाषाको लवज प्रयोग गर्दछन् ।

अरू भाषामा समाचार लेखेर मातृभाषामा समाचार वाचन गर्दा रहेछन् । यसको अर्थ यो पनि लाग्दछ कि मातृभाषामा लेख्न नजान्ने वा नचाहनेहरूले पनि मातृभाषाको समाचार वाचन गर्दा रहेछन् । यसले गर्दा कतिपय मातृभाषाका शब्द, लवज तथा प्रकृतिमाथि प्रहार भइरहेको छ नै, मातृभाषाको पत्रकारितामा पनि नकारात्मक प्रभाव पारिरहेको छ । मातृभाषाको समाचारको समस्या पनि हो यो । मातृभाषाको पत्रकारिता फस्टाउन नसक्नुमा फेसबुकको समाचारलाई नै मसाला थपेर वाचन गरी काम चलाउन खोज्नु हो ।

झोले पत्रकारिता र जातिवादले मधेसको पत्रकारितालाई गाँजेको छ । कार्यालयको सूचना तथा अन्य विज्ञापनमा पनि यस किसिमको दुरुत्साहन रहेको पाइन्छ । सम्भव भएसम्म आफ्नै जातको पत्रकार वा मिडियालाई सहयोग गर्ने घातक प्रवृत्ति विद्यमान छ । नातावाद, जातवाद र आशीर्वादबाट पत्रकारिता थिचिएको छ । पहुँचको भरमा सूचना दिने र एकले अर्कोलाई पहुँच तथा जातको आधारमा मूल्यांकन गर्ने मिडियाकर्मीबीच पनि विभेद रहेको छ । मिडियाकर्मीले मिडियाकर्मीबाटै यही किसिमको व्यवहार पाइरहेकोले उत्तराधिकारीहरूले पनि यसलाई निरन्तरता दिँदै एक किसिमको संस्कृति बनाइसकेका छन् ।

सक्षमताको लागि प्रतिस्पर्धाभन्दा पनि हाम्रो स्वतः राम्रो नकारात्मक प्रवृत्तिले काम गरिरहेको छ । कुनै मिडियामा आबद्ध नरहे पनि आफ्नो झोला बोकेकै भरमा कतिपय मिडियाकर्मीले झोला बोक्नेलाई विभिन्न किसिमका सुविधा उपलब्ध गराउने गरेको पाइन्छ । नेपाल पत्रकार महासंघको सदस्यता सिफारिस तथा निर्णयमा पनि यस किसिमको व्यापक विभेद हुने गरेको छ । कसैलाई किन सदस्यताको लागि योग्य मानिएन वा कसैलाई किन सदस्यता दिइयो भन्ने प्रश्नको जवाफ दिन सक्षम भइरहेको अवस्था हुँदैन । मिडियाकर्मीलाई सदस्यता दिने आन्तरिक राजनीति आगामी चुनाव जित्नेमा बढी केन्द्रित हुन्छ । चुनावमा सहयोग गर्ने निश्चित व्यक्तिलाई सदस्यताको लागि कुनै अवरोध हुँदैन तर विपक्षमा जाने जातको सक्रिय पत्रकारलाई पनि सदस्य नदिनको लागि विभिन्न उपाय अवलम्बन गरिन्छन् ।

रोल मोडल पत्रकारिता हुन नसक्नु मधेसको पत्रकारिताको दुर्भाग्य हो । गाइडेन्सको अभाव या जिम्मेवार गार्जियनको अभाव मधेसका पत्रकारिताको ठूलो समस्या हो । रोल मोडल मानिएका मिडियाकर्मीको आदर्शलाई पछ्याउन नसक्नु वा रोल मोडलले आममिडियाकर्मीलाई पछ्याउन सक्ने बनाउन नसक्नुका पछाडि पत्रकारिताको वर्तमान मात्र होइन विगत पनि जिम्मेवार छ । विगतदेखि रोल मोडलमा स्वार्थकारिता देखिएको हो कि ? यस्तो पनि देखिएको छ, केही वर्ष आदर्श पत्रकारिता गरेर अन्य पेसा अपनाएका छन् ।

पत्रकारिताको कुनै पनि क्षेत्र सम्पादन, प्रकाशन, फिचर वा अनुसन्धान लेखन, प्रशिक्षण आदि क्षेत्रमा सक्रिय नरहनु तथा मिडिया हाउस पनि नखोल्नु र अनुज पुस्तालाई आदर्श पत्रकारिताका लागि मार्ग निर्देशन गर्न नसक्नु पनि समस्याको रूपमा रहेको पाइएको छ । पत्रकारिताको धर्म र गर्वको बारेमा कतैबाट हार्दिक निर्देशन तथा सुस्पष्ट सुझाव दिने आदर्श व्यक्तित्वको अभाव रहेको छ । अनि जहाँ फिल्डमा काम गर्ने आदर्श मिडियाकर्मीको अभाव हुन्छ, त्यहाँको पत्रकारिता अभिभावकविहीन हुन्छ । कुशल अभिभावकको अभावमा मधेसको पत्रकारितामा स्वाभाविक गतिशीलता आउन सकेको छैन ।

कतिपय दैनिक अखबारमा कतिपय दिनमा सम्पादकीयसमेत अन्यत्रबाट लिएर छापिएको हुन्छ । अन्यत्रबाट लिइएको समाचारमा आफ्नो सम्वाददाताको पगरी भिडाइएको हुन्छ । अरूको विषयवस्तुलाई तोडमोेड गरी आफ्नो बनाइएका उदाहरण त कति भेटिन्छन् कति । अझ कहिलेकाहीँ यो पनि देखिन्छ कि एउटाको लेख वा फिचरलाई आफ्नो नाम र फोटो राखेर प्रकाशित गरिदिन्छन् । पत्रकारिताको सामान्य मर्यादा पनि निर्वाह गर्नमा कन्जुस्याइँ भइरहेका दृष्टान्तहरू भेटिन्छन् ।

कुनै फोटो वा फेसबुके सामग्री अपलोड गरेर त्यसलाई बार्गेनिङ प्वाइन्ट बनाउने तथा पत्रकारले नै पत्रकारको सहयोगको लागि चन्दा असुलको धन्दा चलाउनेसम्मका अकल्पनीय नकारात्मक प्रवृत्ति मधेसको पत्रकारिताले बेहोरेको छ । कतिपय ठाउँमा यो पनि देखिएको छ कि एक दुई पालिकाको जिम्मा लिने र दिने तथा सबै मिलेर समाचार वा लाभको बाँडफाँट गर्ने, बलजफ्ती आफ्नो समूहको साथीको नाममा भत्ता बुझ्ने र कतै सम्मानको अवसर आएमा आफ्ना साथीको नाम समावेश गर्नेजस्ता घातक प्रवृत्तिहरू पनि बेला मौकामा प्रस्फुटित हुने गरेका छन् ।

पत्रिका प्रकाशन भइरहेको छ, रेडियो बजिरहेको छ, अनलाइन चलिरहेको छ र केही टेलिभिजन पनि प्रसारण भइरहेका छन् । यी सबै ऐजन ऐजन अवस्थामा चलिरहने तथा आजको काम यसरी चलाउनुपर्छ, चलिहाल्छ नि भन्ने काम चलाउन खोज्ने प्रवृत्ति अत्यन्त घातक रहेको छ । अझ आज म छुट्टीमा छु र भोलिको काम पनि तिमीले चलाइदिनुपर्छ भनेर अर्काको काँधमा जिम्मेवारी थोपरिदिने प्रवृत्तिले सिर्जनात्मकतामाथि धावा बोलिरहेको छ । यस प्रवृत्तिले अरूमाथि जिम्मेवारी थोपर्ने र अरूलाई पनि यही प्रवृत्ति हस्तान्तरण गर्ने मनोवृत्ति संस्कारको रूपमा विकास भइरहेको छ । अर्थात्, जसरी पनि काम चलाउने प्रवृत्तिको समग्र दुष्परिणाम यही देखिएको छ कि पत्रकारितामा औपचारिकता, देखावटीपन, नक्कलपना तथा तदर्थवाद मौलाएको छ ।

पाठक, स्रोता तथा दर्शकको दृष्टिकोणमा सबै मिडिया उस्तै हुन् केन्द्रको भर पर्ने । केन्द्रमा आएको विषयवस्तुलाई प्राथमिकता दिने । अन्यत्र आइसकेको विषय र सन्दर्भलाई पढ्न, सुन्न तथा हेर्न चाहँदैनन् । केही मिडियाले भने आफ्नै उत्पादनमा पाठक र स्रोताको ध्यान तानिरहेको छ । आमनागरिकका समस्या र बौद्धिक वर्गलाई मिडियाले तिनका समस्यालाई देखाउने समस्यामूलक पत्रकारिताभन्दा समाधान, खोजमूलक तथा अध्ययनमुखी पत्रकारिताले सबैलाई जोड्न सक्छ । समस्यैसमस्या मात्र देखाउने र समाधानको लागि मिडियाले पनि भूमिका खेल्न सक्छ भन्ने देखाउन नचाहनु पनि नकारात्मकतालाई बढावा दिनु हो ।

यस प्रकारको नकारात्मकभन्दा अबको समयमा त्यस किसिमको पत्रकारिताको आवश्यकता छ जसले पाठक, स्रोता र दर्शकलाई आफ्नो वरपर केही खुसी दिन सकोस् । सकारात्मक विचार, सन्देश, समाचार तथा दृश्य र शब्दको अधिकता भयो भने केही नकारात्मक विषयवस्तु पनि चल्छ । नकारात्मकताको बीचमा सकारात्मक विचार प्रवाहको सारथि मधेसको मिडिया र मधेसको लागि समर्पित मिडियाले बन्नुपरेको छ । अहिले देखिएको नकारात्मकतालाई सकारात्मकतामा परिवर्तन गर्ने प्रतिबद्ध पत्रकारिताको आवश्यकता रहेको छ । उत्पादनमुखी र परिणाममुखी पत्रकारिताको आवश्यकता छ ।

प्रतिक्रिया