संकटमा पत्रकार, धरापमा मिडिया

राष्ट्रिय पत्रकारितामा आफ्नो बलियो उपस्थिति जनाएको धनुषा जिल्लाको सञ्चारमाध्यम र सञ्चारकर्मीहरू विश्वव्यापी आर्थिक मन्दीको मारले निकै हतोत्साहित भएका छन् । कोभिड महामारीले सबैजसो क्षेत्रलाई धाराशायी बनाउँदा सञ्चारजगत पनि त्यसबाट अछुतो रहन सकेनन् । महामारीका बेला सबैभन्दा बढी मारमा परेका स्थानीय सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको लागि त्यसपछिको समय पनि अनुकूल हुन सकेको छैन ।

धनुषा जिल्लाका अधिकांश निजीस्तरमा सञ्चालित सञ्चारगृहहरू कोरोना महामारीकै बेला निकै दयनीय अवस्थामा पुगेका थिए । अधिकांश सञ्चारगृहले त्यहाँ कार्यरत सञ्चारकर्मीहरूलाई जागिरबाट हटाएका थिए । सो बेला धनुषा जिल्लामै मात्रै करिब एक दर्जन पत्रकार कोरोनाबाट संक्रमित भएका थिए । पत्रकारका लागि पेसाकर्म गर्ने वातावरण नै थिएन । निरन्तर सञ्चारगृहमा काम गरिराख्दा पनि पारिश्रमिकको सुनिश्चितता थिएनन् । धनुषालाई कार्यक्षेत्र बनाएर केन्द्रीय सञ्चारगृहका लागि काम गर्ने अधिकांश सञ्चारकर्मीलाई जागिरबाट निकालियो भने भएकालाई पनि तलब, भत्ता उपलब्ध नगराउँदा दैनिकी चलाउनसमेत अप्ठ्यारो भएको थियो ।

स्थानीयस्तरमा सञ्चालित सञ्चारगृह त अधिकांश बन्द नै भए । जेनतेन सञ्चालनमा रहेकाको अवस्था यति धेरै दयनीय भयो कि उनीहरूले पारिश्रमिक दिन सक्ने अवस्था रहेन । दैनिक पत्रिकाहरू नराम्ररी दुब्लाए । निकै दयनीय अवस्थामा रहेको सञ्चारजगत महामारीको मारबाट बाहिरिएपछि उभो लाग्ला भन्ने आश सञ्चारकर्मीहरूमा थियो । तर, अवस्था अझ विकराल बन्दै गएको छ । पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीको प्रभाव नेपाली सञ्चारमाध्यमले पनि भोग्नुपरेको छ । केन्द्रीयस्तरका मूलधारका सञ्चारमाध्यमहरू कान्तिपुर दैनिक, अन्नपूर्ण पोस्ट दैनिक, नयाँ पत्रिका लगायतले आफ्नो छापा संस्करणलाई निकै संकुचित बनाएका छन् । १२ पृष्ठमा निस्कने पत्रिकाहरू अहिले आठ पृष्ठमा सीमित भएका छन् ।
सूचना र त्यसको सम्प्रेषणको प्रक्रिया मानव सभ्यतासँगै जोडिएर आएको हो । वर्तमान युगसम्म आइपुग्दा सूचना सम्प्रेषण प्रक्रियाले बृहत्तररूप लिएको छ ।

कुनै बेला सूचना सम्प्रेषणको लागि परेवाको खट्टामा चिट्ठी बाँधेर सूचनाको आदानप्रदान गरिन्थ्यो । तर, बिस्तारै छापा सञ्चार माध्यमको विकास हुँदै गयो दोस्रो विश्वयुद्धसँगै रेडियोको अविष्कार र टेलिभिजन हुँदै अहिले सञ्चार जगत अत्याधुनिक युगमा प्रवेश गरिसकेको छ । वर्तमान समय डिजिटल युग हो । यहाँ सूचना प्रवाहका लागि आमसञ्चारका पुरातनवादी माध्यमहरूको प्रयोग नै विकल्प रहेनन् । अबको समयमा संसारका सबै सूचनाहरू व्यक्तिको गोजीमा सीमित भएका छन् । भन्नुको अर्थ एउटा स्मार्ट फोनले मिडिया कन्र्भजेन्स गरी सम्पूर्ण सूचनालाई एउटै माध्यमबाट उपलब्ध गर्न सक्ने अवस्थाको सृजना गरेको छ । मोबाइलमै टेलिभिजन हेर्न सक्ने, यसमै रेडियो सुन्न सकिने र यसमै पत्रिका पनि पढ्न सकिने व्यवस्था छ । यी माध्यममा आउने समाचारको उपभोगमा पनि उल्लेख्य वृद्धि भएको छ । ई—पोर्टल तथा टिभी कार्यक्रमका पाठक तथा दर्शकको संख्या निकै बढेको छ ।
यसले सूचनाको पहुँचलाई जति सहज बनाएको छ पत्रकारितालाई त्यत्ति नै बढी असहज अवस्था सृजना गरेको छ ।

डिजिटल मिडियाको बढ्दो प्रयोगले नागरिक पत्रकारिताको अवधारणालाई एकातर्फ बढावा दिएको छ भने अर्कोतर्फ असल पत्रकारितालाई चुनौती दिएको छ । आर्थिक मन्दी र विज्ञापन अभावले सञ्चारमाध्यमहरू सुक्दै गएका छन् । विज्ञापनमा आएको भारी गिरावटलाई थेग्न मिडियाहरूले पत्रकार तथा कर्मचारीको कटौतीलाई मुख्य बाटो बनाए । जसको परिणामस्वरूप पत्रकारहरू बेरोजगार भए । आर्थिकरूपमा कमजोर कैयौँ साना तथा मझौला आकारका सञ्चारगृह सधैँका लागि बन्द भए । न्युयोर्क टाइम्सका अनुसार कोभिडका कारण अमेरिकामा मात्रै कम्तीमा ३३ हजार पत्रकार तथा मिडिया क्षेत्रमा संलग्न जनशक्ति बेरोजगार हुन गयो । भारतको मात्रै कुरा गर्दा द टाइम्स ग्रुप, द इन्डियन एक्सप्रेस ग्रुप, हिन्दुस्तान टाइम्स, द क्विन्टजस्ता ठूला मिडिया हाउसहरू पत्रकार एवं पारिश्रमिक कटौती गर्न पुगे ।

मिडियामा छाएको आर्थिक मन्दीको नराम्रो प्रभावले धनुषा जिल्लाको सञ्चारक्षेत्र पनि वञ्चित रहन सकेन । अखबार बिक्न छाडेपछि र अखबारमा विज्ञापन अभावले गर्दा एक दर्जनभन्दा बढी अखबारको प्रकाशन बन्द भएका छन् । इन्टरनेट माध्यमको बढ्दो पहुँचले गर्दा एफएम रेडियोप्रति श्रोताको झुकाव कम हुुनुका साथै एफएमहरू पनि सुकेका छन् । पछिल्लो एक वर्षको अवधिमा जिल्लाका करिब १५ जना पत्रकारहरू मिडिया हाउसबाट विभिन्न बहानामा निष्कासित गरिएका छन् । त्यसैगरी धेरैको पारिश्रमिक कटौती भएको छ । सञ्चारक्षेत्रको अवस्था दिनानुदिन खस्किँदै गएपछि पत्रकारिता क्षेत्रबाट नै विमुख हुनेको संख्या पनि निकै बढी छ ।

धनुषा जिल्लालाई कर्मक्षेत्र बनाएर काम गरेका धेरै नै पत्रकार यो पेसा सदाका लागि छाडेर सरकारी जागिरतर्फ, अन्य व्यवसायतर्फ र गैरसरकारी संघसंस्थामा कार्यरत भएका छन् । पत्रकारिता पेसामा टिकिराख्न प्रयास गरे पनि यसले सामान्य रूपमा जीविकोपार्जन गर्नसमेत धौ धौ पर्ने देखेर अधिकांशले आफ्नो कलमलाई निमोठ्न बाध्य भएको कटु यथार्थ हामीसमक्ष छ । यही पेसालाई मूल पेसा मानेर तलब भत्ता नपाए पनि पेसागत धर्म निर्वाह गर्न र कार्यरत सञ्चार संस्थाप्रति पूर्ण वफादार भई काम गर्न खोजेका कतिपय सञ्चारकर्मी मानसिक तनाव झेलिरहेका छन् । एकातर्फ पेसागत धर्म र जनतालाई सूसुचित बनाउने अभिभारा बोकेर अपनाएको पत्रकारिता पेसाको माया छ भने अर्कोतर्फ महिनाँैदेखि विद्यालयमा अध्ययनरत छोराछोरीको शुल्क तिर्न नसकेको, घरको भाडा तिर्न नसकेको, छिमेकी पसलेको उधारो तिर्न नसकेको र अनगिन्ती यस्ता आवश्यकताहरू जुन पूरा गर्न नसकिएको हुँदा झेल्नुपरेको मानसिक तनाव छ । पेसा र पारिवारिक जिम्मेवारीको बीचमा उभिएका धनुषाका अधिकांश पत्रकारको पीडा बुझ्ने प्रयास न त सम्बन्धित सञ्चार माध्यमले गरेको छ न त राज्यकै कुनै निकायले ।

विज्ञापनको अभावको समस्या आफ्नो ठाउँमा रहेकै बेला लोककल्याणकारी विज्ञापन प्रकाशित गरे बापतको रकमसमेत समयमा भुक्तानी नहुँदा र प्रदेश सरकारद्वारा प्रदेशस्तरीय आमसञ्चार प्राधिकरणमार्फत वितरित लोककल्याणकारी विज्ञापनको समेत रकममा कटौती हुनु निकै निन्दनीय रहेको छ । प्रदेश सरकारले यसअघि प्राधिकरणमार्फत सञ्चारमाध्यमलाई लागि एक करोड रुपैयाँ विज्ञापनको रकम छुट्याए पनि हाल त्यसलाई कटौती गरेर ५० लाख पु¥याएको छ । यसरी सरकारको मिडियाप्रति अनुदार नीतिले पनि सञ्चारकर्मीलाई अझ बढी समस्याग्रस्त बनाएको छ ।

अर्कोतर्फ सरकारी कर्मचारी र राजनीतिक नेतृत्वको मिडियाप्रति अनुदार नीतिले गर्दा जिल्लास्तरीय सञ्चारगृहहरू निकै धराशायी बन्ने अवस्थामा पुगेको छ । विज्ञापन दिँदा पनि कमिसनको व्यापक खेल हँुदै आएको छ । जातिवाद, नातावाद र कृपावादको कारणले केही सञ्चारउद्यमीहरू सरकारी कर्मचारी र राजनीतिक दललाई प्रभावमा पारेर मनग्य विज्ञापन लिने र पेसाधर्मी, निष्ठावान र इमानदार पत्रकारलाई विज्ञापन पाउन धौ धौ परेको छ । कर्मचारीलेसमेत विज्ञापनमा ८० प्रतिशतसमेत कमिसन माग्ने प्रवृत्तिले गर्दा सञ्चार जगतमा माफियाकरण भएको छ । यस्ता यावत समस्याले सञ्चार जगतलाई अहिले निकै संकटको घडीमा उभ्याएको छ ।

मिडिया संकटमा पर्नु भनेको लोकतन्त्र संकटमा पर्नु हो । मिडियाको मुख थुनियो भने लोकतन्त्रको पक्षमा बोल्ने कोही हँुदैन । वर्तमान समयमा जे जसो भए पनि सर्वसाधारण जनताको पक्षमा बोल्ने र राज्यको गलत नियतको विरोध गर्ने एक मात्र साधन सञ्चारक्षेत्र रहेको छ । यस्तोमा मिडियालाई सबल बनाउन सरोकारवाला सबै क्षेत्रको ध्यानाकृष्ट हुन आवश्यक रहेको छ । प्रदेश, स्थानीयतहमा मिडिया नीतिको अभावले समस्याग्रस्त रहेको धनुषा र मधेस प्रदेशका अन्य जिल्लाको अवस्था दयनीय भइरहेको बेला, राज्यपक्षले साना मिडिया उद्योग प्रवद्र्र्धन कार्यक्रम र प्रदेशको विज्ञापन प्रदेशकै मिडियामा वितरण गर्ने गरी एकीकृत विज्ञापन नीति लागू ग¥यो भने सञ्चार जगतमा व्याप्त संकटकालीन अवस्थामा थोरै भए पनि राहत पुग्नेछ ।
(लेखक नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष हुन्)

प्रतिक्रिया