रौतहटमा पत्रकारिता मुख्य अभिरुचि

आरके श्रीवास्तव

यहाँ सञ्चारमाध्यमका सबै विधा छन् । यहाँ पत्रपत्रिकाहरू प्रकाशन भइरहेका छन्, अनलाइन पनि सञ्चालनमा छन्, एफएम रेडियोहरू चलिरहेका छन्, टेलिभिजन पनि रहेको छ र युट्युबजस्ता अन्य मञ्चहरूमा पनि रौतहटका पत्रकारको पहुँच छ । यहाँको पत्रकारिता फस्टाएको भन्दा पनि सबै क्षेत्रमा पहुँच स्थापित गरेको छ । यहाँ सञ्चारमा माध्यमको यो चिजचाहिँ छैन आरोप कसैले नलगाओस् भनेर पत्रकारिताको सबै क्षेत्रमा औपचारिकता पूरा गरिसकेको छ ।

यहाँ सञ्चार उद्यमीहरू छन्, प्रकाशकहरू छन्, सम्पादकहरू छन्, स्तम्भकार तथा लेखकहरू छन् । यसै गरी केन्द्रको राजधानी अनि प्रदेशको राजधानीबाट प्रकाशन, प्रसारण हुने सञ्चार माध्यमका संवाददाताहरू छन्, ब्युरोमा छन्, डेस्कमा छन् । आफैँ सञ्चार उद्यमी, आफैँ प्रधानसम्पादक वा सम्पादक, आफैँ संवाददाता रहेका सञ्चार माध्यम वा सञ्चारकर्मी पनि रहेका छन् ।

केही यस्ता निरीह पत्रकारहरू पनि रहेका छन् जो भोलि केही राम्रो भइहाल्छ कि भनेर आफू कार्यरत सञ्चार माध्यममा निरन्तर समाचार पठाइरहेका छन् । सञ्चार माध्यमहरू चलिरहेका छन्, सञ्चारकर्मीहरूले पनि काम गरिरहेका छन् । देशको राजधानी काठमाडौंका केही सञ्चार माध्यमले यहाँका पत्रकारसित विज्ञापनको अपेक्षा गर्छन् वा पत्रकारले सूचना तथा विज्ञापनहरू खोजेर पठाइरहुन् तथा तिनको भुक्तानी पनि भन्ने बित्तिकै पठाइदिउन् र भुक्तानी पनि भनेजस्तै होओस् भन्ने चाहना बारम्बार अभिव्यक्त नभइरहने होइन । धेरै सञ्चारकर्मी यस्ता छन् जसले आफ्नो मिडियाबाट आफ्नो सञ्चारकर्म अर्थात पत्रिका, अनलाइन वा टेलिभिजनमा गरेको परिश्रमको पारिश्रमिक पाउने अपेक्षा गर्दछन्, अलिकति सम्मान चाहन्छन् । तर कामचाहिँ राम्रोसित होओस् तर पारिश्रमिकचाहिँ दिन नपरोस् भन्ने किसिमका व्यवहारहरू भोग्ने पत्रकारहरू पनि रहेका छन् ।

आफ्नो सञ्चार माध्यमको एउटा परिचयपत्र उपलब्ध गराएर बधाई दिँदै गर्व गर्न प्रोत्साहित गर्ने सञ्चार माध्यमले संवाददातालाई पहिचान भने दिएका छन् । पत्रकारिता केवल आफ्नो पहिचानको लागि मात्र भएको छ भन्ने बुझेर निराश हुनेहरू पनि छन् । पत्रकारको पहिचान प्रदेश राजधानी वा जिल्लामै केही चलेका र निरन्तर चलिरहेका पुराना सञ्चार माध्यमले पनि केही युवालाई नदिएका होइनन् । पत्रकारिता गर्ने हो कि गरिदिनुपर्ने हो भन्ने द्विविधामा केही युवाहरूले आफूलाई होमिइसकेका छन् । यस अवस्थामा पत्रकारिता पेसा बन्न सकेको छैन । पेसा हुन्थ्योे भने त यसले कम्तीमा पेट पालिनुपर्ने हो । तर, मालिक वा मिडिया सञ्चालकका लागि भने व्यवसाय अवश्य बनेको छ । सधैँ घाटामा छ, कतैबाट केही आइरहेको छैन, अब राम्रो हुन्छ, अहिले कम्प्रोमाइज गर्नुपर्छ र अर्को वर्षदेखि राम्रो भइहाल्छ अनि तपाईंलाई अझ राम्रो हुन्छ भन्ने मिठा आश्वासनहरू पाइन्छन् । आश्वासनले घर चल्दैन । कामकाजी युवालाई घरमा पनि बुबा–आमासित पाकेट खर्च माग्न सजिलो हुँदैन । कामगरिरहेको मिडियाले समयबद्ध वा नियमपूर्वक वा कामको आधारमा पारिश्रमिक नदिँदा निःसन्देह सञ्चारकर्मी वा पत्रकारका अगाडि आर्थिक समस्याहरू आउँछन् । अनि उसका अगाडि दुई विकल्प हुन्छन् ः पहिलो, पेसाबाट पलायन हुने किनभने पेसामा लागिरहन सकिने अवस्था हुँदैन । अभावले दिँदैन, सकिँदैन । दोस्रो, अरूले जस्तो कतै भत्ता पाइन्छ कि भनेर दौडेर जाने वा कुनै मोलमोलाइमा समाचार लेख्ने । भत्ता र मोलमोलाइको काममा सबै लाग्न सक्दैनन् । मनले मान्दैन । अर्थात्, इमानदार पत्रकारिता गरिरहन सक्दैनन् । अनि पलायन हुन बाध्य हुन्छन् ।

अनि यहाँनेर विचारणीय पक्ष यो पनि हुन्छ कि जहाँबाट इमानदारीपूर्वक परिश्रम गर्दा इमानदारीपूर्वक समयमा पारिश्रमिक आउँदैन भने यस्तो अवस्थामा पत्रकारितामा परिश्रमको अभाव हुन थाल्छ र यसले गुणस्तरमा प्रभाव पर्न थाल्दछ । रौतहटमा खोज पत्रकारिता, अनुसन्धान पत्रकारिता, फिचर लेखनको अवस्था तथा समाजलाई पत्रकारितासित जोड्ने कारक तत्वको अभाव हुुनुमा यिनै विडम्बनाहरू कारण छन् । सञ्चारकर्मी र सञ्चार माध्यम दुवै छन् तर रौतहटको समग्र पत्रकारितामा कुनै उत्साहजनक छैन । यहाँको पत्रकारितामा उत्साह बढाउने तत्वको अभाव छ । प्रोत्साहनका लागि कुनै संस्था रौतहटमा छैन । कोही सञ्चारकर्मीले निरन्तर राम्रो र असल काम गरिरहँदा पनि प्रोत्साहन दिने व्यक्ति वा संस्थाको अभाव छ । रौतहटमा एउटा व्यवस्थित पुरस्कारको व्यवस्था पनि हुन सकेको छैन । अनि रौतहटको धरातलमा उभिएर यहाँको पत्रकारितालाई विचार गर्ने हो भने सञ्चारकर्ममा सिर्जनात्मकताको व्यापक अभाव रहेको छ ।

सिर्जनशील पत्रकारिताको अभाव झेलिरहेको रौतहटमै रहेर पत्रकारितामा उचाइ हासिल गर्ने अवस्था निकै कम रहेको छ । अहिलेको अवस्थामा देखिएको अवस्था यही हो । यस अवस्थामा सुधार आउनु अत्यन्त आवश्यक छ । यदि अझै केही वर्षसम्म अहिलेको अवस्थामा परिवर्तन आउन सकेन भने यहाँको पत्रकारिता तदर्थवादको अनिश्चित भुमरीमा फस्न जाने निश्चित छ ।

पत्रकारितामा लाग्नुको पछाडि धेरै युवामा नाम र दाम कमाउने रहर हुन्छ । नाम त एउटा ग्ल्यामरसम्म सीमित रहन्छ । सीमित समयको लागि ग्ल्यामर त राम्रै होला ! ग्ल्यामरले धेरै कुरा दिँदैन । रौतहट ग्रामीण क्षेत्र धेरै भएको जिल्ला हो । ग्रामीण क्षेत्रको यो सुन्दरता हुन्छ कि पत्रकारितामा लागेका युवाको हातमा पैसा हुँदैन तर घरमा खानको लागि अभाव भने हुँदैन । अनि यस अवस्थामा कोही एकछिनका लागि नाम कमाउन मात्र भुल्लिन सक्छन् तर, सधैँ टिकाउ हुँदैन ।

पत्रकारितामा रमाउने काम गर्ने उत्साह केही वर्षमा आफैँ सेलाएर जान्छ अनि कुनै वैकल्पिक आयको खोजीमा लाग्न बाध्य हुन्छ । त्यसो त पत्रकारिता विषय लिएर अध्ययन गरेका पत्रकार भए पत्रकारिताको सिद्धान्त, मूल्य, मान्यता तथा नीतिलाई विचार गरेर केही गर्न सकिन्थ्यो तर अध्ययन नहुँदा पत्रकारिताको सैद्धान्तिक मार्गमा कहाँ सजिलोसित हिँडिरहन सकिन्छ ? केही हदसम्म यहाँको साक्षरता वा शिक्षाले पनि पत्रकारितामा प्रभाव परेको छ ।
सबैलाई जानकारी हुनुपर्ने हो, देशमा रौतहट सबै जिल्लाभन्दा कम साक्षर भएको वा सबै जिल्लाभन्दा बढी निरक्षर रहेको जिल्ला हो । रौतहटमा निरक्षरहरूका लागि पनि पत्रकारिता गर्नुपर्ने बाध्यता सञ्चार जगतसँग छ । न्युन साक्षरता वा अत्यधिक निरक्षरताले पत्रकारिताको ग्ल्यामरलाई धान्छ भन्ने विचार गर्नु पनि पत्रकारिताको बारेमा अझ धेरै समय सोच्न बाँकी रहेको भन्ने देखाउँछ ।

अनि कसले पत्रकारितामा राम्रो ग¥यो, ऊभन्दा राम्रो गरुँ भन्नेमा प्रतिस्पर्धा छैन रौतहटमा । यहाँ राम्रो भन्दा पनि कसैले अलिकति राम्रो गर्न खोज्यो भने कसरी तल पार्ने, कसरी खुट्टा तान्ने र राम्रो गर्न नदिने प्रवृति हावी छ । एकले अर्काको आलोचना गर्ने वातावरण सानो–सानो गुट, उपगुट चलाएर निर्माण गर्दछन् । जातिलाई प्राथमिकता दिन्छन् । अर्को मुख्य अभिरुचि भनेको अदृश्यमा भए पनि आर्थिक लाभको प्रभावमा पत्रकारिता गर्नु हो । यसैले जो अन्यत्र कार्यरत छन्, तिनले आफ्नो एउटा अलग्गै अनलाइन सञ्चालन गरेका छन् । हात्तीको देखाउने र खाने दाँत फरक भएझैँ एउटा देखाउने र अर्को चलाउने ।

स्थानीय एफएम रेडियो, अनलाइन, पत्रपत्रिका आदिमा अत्यन्त न्यून मानिसको वर्चस्व र पहुँच देखिएको छ । सीमित मानिस वा ठाउँमा खुम्चिएर लोकप्रियताको गर्व गर्नु र हरेक दिन विशिष्ट बनाउँदै छु भन्ने आत्मरतिमा रमाउनुबाहेक यहाँका सञ्चार माध्यमले केवल भोलि राम्रो आउँदैछ भनेर हरेक दिनलाई कमजोर बनाउँदै लगेको छ । यहाँका शिक्षित मानिसबीच पनि कुनै निश्चित मिडियाले पहुँच र विश्वास कमाउन नसक्नु समग्र पत्रकारिताको पनि कमजोरी हो भन्ने बुझ्नु परेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया