पत्रकारितामा बढ्दो जोखिम

बितेको दुई दशकमा धेरै नयाँ मिडिया हाउस खुले । मिडिया हाउसको संख्या बढे पनि गुणात्मक रूपमा हेर्ने हो भने त्यसमा काम गर्ने दक्ष जनशक्तिको अभाव भने अझै छ । नाम चलेका केही पुराना मिडिया हाउसबाट बिट मारेका पत्रकारले नै नयाँ मिडिया हाउस चलाएका छन् । कतिपय पत्रकारले त आफँै मिडिया खोलेर पत्रकारिता सुरु गरेका समेत छन् । नाम चलेका र आर्थिक हिसाबले व्यवस्थापन मजबुत बनाइसकेका मिडिया हाउसले दक्ष पत्रकारहरूको परिश्रमको मूल्यांकन गर्न नसक्दा बिच्किएका पत्रकारहरू नयाँ आयाम ल्याउने उद्देश्यसहित नयाँ मिडिया हाउस खोज्न बाध्य छन् ।

पवन यादव

केही वर्ष पहिलासम्म फोटोकपी पेपरमा कलमले समाचार लेखेको सम्झना अहिले पनि ताजै छ । हातले लेखेको समाचार मिडिया हाउसको समाचार कक्षको फ्याक्समा पठाउने गरिन्थ्यो । फ्याक्सको माध्यमबाट एक पेज समाचार पठाउँदा कम्तीमा एकदेखि डेढ मिनेट लाग्थ्यो । ६० सेकेन्डसम्मको १० रुपैयाँ लाग्थ्यो । ६० सेकेन्ड कट्ने बित्तिकै फ्याक्सको खर्च दोब्बर हुन्थ्यो ।

उति बेलाको पत्रकारिता मिहिनेत र खर्चको दृष्टिले महँगो थियो । मिडिया हाउसले समाचार पठाउनु फ्याक्समा लागेको खर्च दिउँला भन्थ्यो, तर, त्यो आश्वासन समयमा पूरा हुँदैन थियो । समाचार पठाउँदा गरेको लगानी उठाउन धेरै समय लाग्थ्यो । आफ्नो घरको खाएर दिनभरी साइकलमा दौडेर समाचार संकलन गरिन्थ्यो । तर, समाचार संकलन गर्न, लेख्न, सम्प्रेषण गर्न लागेको खर्च मिडिया हाउसले दिन आनाकानी गर्थे । धेरै ताकेदा गरेपछि मात्र पाइन्थ्यो । त्यो बेला शोखले पत्रकारिता गरिरहेका थियौँ । त्यतिबेला समाचार लेख्ने पत्रकारको संख्या पनि कम थियो । मुश्किलले जिल्लामा दैनिक समाचार लेख्ने पत्रकार पाँच÷६ जना भेटिन्थ्यो ।

२०४६ सालमा बहुदलीय प्रजातन्त्रको बहालीसँगै नेपालमा पत्रकारिताको विकासक्रमले गति लियो । त्यसको केही वर्षपछि माओवादीको सशस्त्र द्वन्द्व सुरु भयो । द्वन्द्वको क्रममा पत्रकारिता गर्न निकै कठिनाइ थियो । जताततै हत्या र बम विष्फोटको घटना हुन्थ्यो । जोखिम मोलेर आफूभित्रको पत्रकारिता रुचीलाई जीवन्त राख्न समाचार संकलन गर्न निस्कनुपथ्र्यो । बिहान खाना खाएर घरबाट निस्किँदा बेलुकी घर पुगिन्छ कि पुगिँदैन भन्ने चिन्ता हुन्थ्यो र पनि लेख्न छाडिएन् । डर र त्रासको बेवास्ता गर्दै पेसालाई निरन्तरता दिइएको कलैयाका वरिष्ठ पत्रकार सुजितकुमार अर्यालले अनुभव सुनाए । एकहोरो पारामा हिँडिरहने अर्याल आफ्नो लागि मात्रै भन्दा समाजका लागि तथ्यपरक समाचार लेखेर योगदान पु¥याउँदै आएका पत्रकार हुन् ।
त्यसबेला कतिपय कैयौँ पत्रकारले समाचार लेखे वापतको पैसा सम्बन्धित व्यक्तिबाटै लिने विकृति पनि थियो । तर, अर्यालले समाचार लेखेवापत कसैसँग अतिरिक्त सहयोगको अपेक्षा राखेनन् । उनी समाचार लेख्नु पत्रकारको कर्तव्य ठान्थे र अहिले पनि त्यही ठान्छन् । यसरी उनीसँग समाचारका लागि धेरै आउँथे । समान्य जीवनशैलीका उनी सरल पनि थिए । उनका लागि समाचारको बिषय प्रधान हुन्थ्यो । बारामा झण्डै २०५६ सालपछि पैसा लिएर समाचार लेख्ने चलन पूर्ण रूपमा हरायो । समाचार लेख्दा पैसा लिने चलन अर्याललगायत केही पत्रकारको पहलमा बन्द भयो ।

वीरगञ्जबाट नेपाली भाषामा प्रकाशित यस क्षेत्रकै एक चर्चित पत्रिकामा आवद्ध रहेर झण्डै दुई दशक पत्रकारिता गरे उनले । त्यो पत्रिकामा केही दिन काम गरिसकेपछि अर्याल काठमाडौंबाट प्रकाशित एक राष्ट्रिय दैनिकमा आवद्ध भए । देशकै नाम चलेका र राष्ट्रिय स्तरको पत्रिकाकोे रोल क्रमअनुसार दोस्रो स्थानमा रहेको ती राष्ट्रिय दैनिकमा उनले बारा जिल्ला संवाददाताको रूपमा निरन्तर एक दशक बढी कलम चलाए । ती सञ्चार माध्यमले समाचार लेखेवापत दिएको पारिश्रमिकबाटै चित्त बुझाएर जीवन धानिरहेका थिए उनी ।

परिवारको गुजारा चलाइरहेका अर्याललाई विनासूचना त्यो राष्ट्रिय दैनिक पत्रिका व्यवस्थापनले एक्कासि पारिश्रमिक पठाउन छाड्यो । पारिश्रमिक आउने आशामा उनी झण्डै ६ महिना बढी काम गरे । ती पत्रिकामा दैनिक ३ देखि ५ वटा समाचार प्रकाशित भइरह्यो । किन पारिश्रमिक आउन ढिलो भनेर आफू कामगर्ने पत्रिकाको कार्यालयमा फोन गर्दा व्यवस्थापनले हटाएको सूचना दिएपछि उनी झस्किए । व्यवस्थापनको कुरा सुनेर निकै रिसाएका अर्यालले सम्पादकलाई फोन गरेर आक्रोश पोखे र उक्त पत्रिकाका लागि समाचार लेख्न बन्द गरे ।

बढ्दो महँगाईअनुसार वीरगञ्जको स्थानीय दैनिकले दिने तीन हजार रुपैयाँ पारिश्रमिकबाट गुजारा चलाउन मुश्किल पर्न थालेपछि उनी उक्त दैनिक पत्रिकाको लागि पनि लेख्न छाडेका थिए । पत्रकार अर्यालकै अगुवाइमा जिल्ला प्रशासन कार्यालय बारामा दर्ता भई वीरगञ्जबाट प्रकाशित एक अर्को दैनिकले पारिश्रमिक तोकेर पत्रकार अर्याललाई काममा लगायो । पछि उनकै सल्लाह र पहलमा कलैयामा एक रेडियो खुल्यो । अहिले त्यही रेडियोले एक दैनिक पत्रिकासमेत प्रकाशनमा ल्याएको छ । त्यही पत्रिकामा सम्पादकीय लेखेर गुजारा चलाइरहेका छन्, पत्रकार अर्याल ।

आफ्नो कुरामा सहमति नजनाउने विरुद्ध एकै छिनमा रिसाइहाल्ने स्वभावका पत्रकार अर्यालयमा अहिले पनि गुणस्तरीय समाचार लेख्ने जोस उस्तै छ । पत्रकारिता गरिरहँदा आफ्नो व्यक्तिगत जीवनलाई त्यति उज्यालो बनाउन नसकेका अर्याल समाचारको माध्यमबाटचाहिँ अरूको जीवनमा उज्यालोको प्रकाश छरिरहेका छन् । निःस्वार्थ भावना बोकेर निरन्तर पत्रकारिता कर्मलाई जारी राखेका अर्याल बदलिँदो परिस्थितिअनुसार आफूलाई बदल्न नसकेका कारण आर्थिक रूपमा कमजोर बनेका छन् ।

पत्रकारिताले फड्को मार्दै

दुई दशक यता नेपालको पत्रकारिताले फड्को मारेको छ । नयाँ नयाँ प्रविधि भित्रिएसँगै पत्रकारितालाई सहज बनाइदिएको छ । यसमा दुई मत छैन । बितेको दुई दशकमा धेरै नयाँ मिडिया हाउस खुले । मिडिया हाउसको संख्या बढे पनि गुणात्मक रूपमा हेर्ने हो भने त्यसमा काम गर्ने दक्ष जनशक्तिको अभाव भने अझै छ । नाम चलेका केही पुराना मिडिया हाउसबाट बिट मारेका पत्रकारले नै नयाँ मिडिया हाउस चलाएका छन् । कतिपय पत्रकारले त आफैँ मिडिया खोलेर पत्रकारिता सुरु गरेकासमेत छन् । नाम चलेका र आर्थिक हिसाबले व्यवस्थापन मजबुत बनाइसकेका मिडिया हाउसले दक्ष पत्रकारहरूको परिश्रमको मूल्यांकन गर्न नसक्दा बिच्किएका पत्रकारहरू नयाँ आयाम ल्याउने उद्देश्यसहित नयाँ मिडिया हाउस खोज्न बाध्य छन् ।

जोश जाँगरसहित अलग भएका पत्रकारहरू समाचार लेख्न अब्बल रहेकोमा दुई मत छैन । इमानदारीका साथ समाचार लेख्छन् । दायरा साँघुरिएको सञ्चार माध्यममा प्रकाशनसमेत गर्छन् । तर, नाफामुखी उद्देश्यसहित खुलेका स–साना मिडिया हाउससँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । सञ्चार माध्यमको मूल आधार नै विज्ञापन हो । तर लेखेर बाँच्न खोज्नेले न उचित पारिश्रमिक पाउन सकेका छन्, न विज्ञापन । ठूला सञ्चार माध्यमबाट बिच्किएका पत्रकार विचलित भई आफूमा भएको खुबीलाई कुण्ठित बनाउन वाध्य छन् ।

एजेन्सी र कमिसनले मिडिया धराशायी बन्दै

विज्ञापन एजेन्सी र पत्रकारितामा छिरेका केही संस्था र व्यक्तिको रवैयाको मार असल पत्रकारले भोग्न परेको छ । विज्ञापनदाता निकायका कर्मचारीलाई यी दुबै पक्षले विज्ञापनको कमिसन दिने प्रलोभन देखाएर असल पत्रकार र पत्रकारिता क्षेत्रलाई नै बदनाम गराइरहेका छन् । गलत क्रियाकलाप गर्ने व्यक्तिलाई सच्याउन कलमको माध्यमले भूमिका खेल्ने पत्रकार अहिले निकै कमजोर बनेका छन् । कमिसन माग्नु गलत काम हो, सबैलाई थाहा छ । पत्रकारले त्यो कुरा समाचारमा लेखिदिए बदनाम भइन्छ । कारवाहीको भागिदार बन्नुपर्छ भन्ने थाहा हुँदाहँुदै कर्मचारीले निरीह बनेका पत्रकारसँग हाकाहाकी विज्ञापनमा कति कमिसन दिनुहुन्छ ? भन्छन् । गलत क्रियाकलापलाई उजागर गर्ने पत्रकारले कर्मचारीको कमिसनखोरी काला कर्तुतलाई सहन गर्न वाध्य छन् ।

प्रतिक्रिया