संकटमा सञ्चारमाध्यम र पत्रकारिता

राजन पौडेल, पर्वत कुश्मा

नेपालमा २००७ सालपछि विभिन्न खालका परिवर्तनहरू भए । अधिकांश परिवर्तनका लागि नेपाली नागरिकले आफ्नो ज्यानसमेत दिएका छन् । यी धेरै परिवर्तन नेपाली नागरिकका लागि नै भएका छन् । सडकदेखि अहिलेको संसद्सम्म नै धेरै आन्दोलन भएका छन् । यी धेरै परिवर्तनमा नेपाली पत्रकारिता र सञ्चार माध्यमको निकै ठूलो महत्व छ । २०४६ सालपछि मुलुकमा विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजनहरूको सुरुआत हुन पुग्यो ।
पत्रकारिता राज्यको चौथो महत्वपूर्ण अंक पनि हो । यसलाई राज्यको चौथो अंगको रूपमा राखिएको छ । अंग्रेजीको कम्युनिकेसनका अगाडि मास जोडिएर आमसञ्चार बनेको हो । तसर्थ आमसञ्चारका विभिन्न साधनहरूले परापूर्वकालदेखि सुरु भएको भाषिक तथा मौखिक सञ्चार प्रक्रिया होस् वा आधुनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, फ्याक्स, पछिल्लोकेहीवर्ष यता ब्यापक हुँदै आएको सामाजिक सञ्जाल आदिजस्ता सबै सञ्चार साधनहरूलाई जनाउँछ ।

समाचार सन्देशको आदानप्रदानका लागि पंक्षी (परेवा, काग) देखि अहिलेसम्म आइपुग्दा विभिन्न प्रविधिका प्रयोगमा समाचार वा सन्देश एक ठाउँदेखि विश्वको जुनसुकै ठाउँमा पुर्याउन केही मिनेट पनि लाग्दैन । चार दशक अगाडि सबवेब र मिडियमवेबमा मात्रै रेडियो सुन्ने स्रोताले त्यसपछि एफएम रेडियो सुन्न थाले । सरकारी नेपाल टेलिभिजन मात्रै हेर्ने नेपालीहरूले २०४६ सालको राजनीतिक परिवर्तनपछि निजी क्षेत्रबाट सञ्चालित टेलिभिजनहरू र रेडियो सुन्न अवसर खुल्यो । २०४६–२०४७ सालपछि नेपालमा यति धेरै सञ्चार क्षेत्रले फड्को मात्रै मारेन बाढी नै आयो ।

परिवर्तन पछिको खुकुलो वातावरणसँगै नेपाली युवा पुस्तामा मिडिया मोह बढेर गयो । नेपालका विभिन्न जिल्लामा अझ भनाँै ग्रामीण भेगमा एफएम रेडियो, टेलिभिजन पनि खुल्न थाले । गण्डकी प्रदेशको पर्वतमा पनि त्यो क्रम चलि नै रह्यो । जिल्लामा २०६३ सालमा पहिलो रेडियो स्टेसनका रूपमा रेडियो पर्वत १०३.६ मेघाहर्जको रूपमा प्रसारणमा आयो । सुरुआतमा केही दैनिक पत्रिका र साप्ताहिक मात्र प्रकाशित हुने पर्वतमा रेडियो पर्वतको प्रसारणको केही वर्ष पश्चात २०६७ सालमा रेडियो शालिग्राम र महिलाहरूद्वारा सञ्चालित रेडियो दिदीबहिनीको प्रसारण सुरु भयो । त्यसरी नै अहिलेसम्म रेडियो कुशुम, पञ्चासे एफएम, रेडियो सत्यवाणी र रेडियो समृद्धले आफ्नो प्रसारणलाई आमनागरिकसमक्ष पुर्याए ।

जिल्लामा बितेको १० वर्ष यता धेरै सञ्चार माध्यमहरू खुले पनि पछिल्लो समय बन्द हुने क्रम बढेको छ । अहिले जिल्लामा दैनिक एक, साप्ताहिक सात, रेडियो सात, त्रैमासिक तीन र दर्ता भएका अनलाइन २३ गरी जम्मा ४१ वटा सञ्चार माध्यम रहेकोमा दुई वटा रेडियो विगत एक वर्षदेखि बन्द अवस्थामा छन् ।

सामुदायिक रेडियो कुशुम र व्यावसायिक रेडियो पञ्चासे अहिले बन्द भएका रेडियोको सूचीमा पर्छन् । रेडियोलाई सञ्चालन गर्न धेरै व्यावसायिक विज्ञापनको आवश्यकता पर्छ, रेडियो कुशुमका अध्यक्ष ठाकुर बि. पौडेल भन्छन्, ‘हामीले २०७० सालमा आमनागरिकलाई स्थानीय र राष्ट्रिय सूचनाको पहुँचबाट टाढा राख्न हुन्न भन्ने उद्देश्यले रेडियो प्रसारणमा ल्यायौँँ तर कोरोना कहरले अहिले सञ्चालन गर्न नसकेर बन्द हुने स्थितिमा पुग्यो । धेरै व्यावसायिक पसलहरू बन्द भए, व्यवसाय बन्द भएपछि केहीसमय समितिबाट कर्मचारीलाई पारिश्रमिक दिएर पनि सञ्चालन गर्ने कोशिस गर्र्यौं तर अन्त्यमा घर भाडासमेत तिर्न नसक्दा बन्द गर्न बाध्य भैयो ।’

पर्वतमा मात्र होइन पछिल्लो समय च्याउसरी स्थापना खोलिएका सञ्चार गृहहरूको राम्रो व्यवस्थापन अभावका कारण अहिले युवा पुस्ता सञ्चार क्षेत्रबाट पलायन हुन थालेको छ । पर्वतका धेरै क्रियाशील पत्रकार रोजीरोटीकै लागि विदेशिन वाध्य भए । कुनै बेला ५० को हाराहारीमा क्रियाशील पत्रकार भएको पर्वतमा सञ्चार माध्यमको स्थिति नाजुक र आफनो दैनिकी चलाउन नसक्ने भएपछि बिदेसिएका र धेरैले पत्रकारिता छोडेर अन्य पेसा अँगाल्न पुगे । अहिले जिल्लामा करिब २० जना मात्रै पत्रकार क्रियाशील रहेको तथ्यांक नेपाल पत्रकार महासंघ पर्वतसँग छ ।

रेडियोमा कम्तिमा पनि पाँच–सात जना मात्रै पत्रकार÷कर्मचारी राख्दा र घरभाडा, विद्युत् पानी कार्यालय खर्च गरी एक लाखभन्दा बढी मासिक खर्च हुन्छ तर रेडियोले विज्ञापनबाट अहिलेको अवस्थामा त्यति रकम उठाउन नसक्ने भनाई पञ्चासे एफएमका अध्यक्ष गणेश पौडेलको छ । ‘नेपाली युवाको सञ्चार क्षेत्रमा मोह बढेसँगै आफू पनि एक दशकभन्दा बढी सञ्चार माध्यममै बिताएको हुनाले जिल्लामा व्यावसायिक रेडियो सञ्चालन गर्यौँ । रोजगारीको वैकल्पिक रोजाइ सञ्चार क्षेत्र भयो ।’ पौडेल भन्छन्, ‘तर, सञ्चालनको केही वर्षमा नै कोभिडका कारण आर्थिक पक्ष व्यवस्थापन गर्न नसक्दा सञ्चार माध्यम नै एक वर्षदेखि बन्द गरेर बस्नुपरेको छ ।’ हाल बन्द रहेको यो रेडियो पुनः सञ्चालनको तयारी गरिरहेको पौडेलले बताए । यसरी बन्द हुन पुगेका रेडियोलाई राज्यले केही राहतको व्यवस्था गरेर भए पनि आमनागरिकलाई सूचना पाउने अधिकारबाट वञ्चित नगर्नसमेत रेडियो सञ्चालकहरूको माग छ ।

वर्तमान अवस्थामा नेपालमा पत्रकारिता एक चुनौतीपूर्ण पेसा बनेको छ । केही पत्रकारहरूले आफनो जीविका पत्रकारिता गरेर चलाए पनि अधिकांशको स्थिति सोही पेसामा मात्र सीमित भएर बस्न सक्ने खालको छैन । त्यति मात्रै होइन जिल्लाको हिसाबले हेर्ने हो भने त एउटा मिडिया हाउसमा मात्र काम गरेर जीविकोपार्जन गर्न अत्यन्तै कठिन छ ।

नेपालभरीका पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सबैमा काम गर्ने सञ्चारकर्मीहरूलाई गन्ने हो, र नेपाल पत्रकार महासंघमा आवद्ध भएका र, आवद्ध हुने प्रक्रियामा रहेका सबै पत्रकारको संख्या गन्ने नै हो भने १८ हजारभन्दा बढी पुग्छ । अब पत्रकारको अवस्था आर्थिकरूपमा भन्ने हो भने ९० प्रतिशतको अवस्था नाजुक छ । बाँकी १० पतिशतको अवस्था मध्यम खालको छ । एउटा पत्रकारले अहिले कम्तिमा पनि दुई वा सो भन्दा बढी मिडियामा काम गरिरहेका हुन्छन् । तर, पर्वतमा त्यो अवस्था पनि छैन किनकी पर्वत जिल्ला सानो र पछिल्लो समय व्यवसायमा आएको फेरबदलले सञ्चार क्षेत्रमा असर पुग्दा पारिश्रमिकका कारण नै पलायन हुने स्थिति छ ।

नेपालमा एउटा पत्रकारलाई कुनै रोग लागेमा, कसैको मृत्यु भएमा परिवारमा कसैलाई दीर्घखालको रोग लागेर औषधि उपचार गर्नुपरेमा चन्दा संकलन गर्नुपर्ने अवस्था छ । पर्वतका पुराना पत्रकार एवं अधिवक्ता भोलानाथ शर्मा भन्छन्, ‘मिडियाको मुख्य आयस्रोत विज्ञापन हो । केहीवर्ष पहिला यति धेरै सञ्चार माध्यम थिएनन् । अहिले मिडिया हाउस पनि धेरै छन् । मिडिया हाउसमा विज्ञापन समान रूपमा वितरण नभएर पनि मिडिया हाउसको अवस्था बन्द हुने स्थितिमा पुगेको छ ।’

शर्मा २०६३ सालका नेपाल पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्षसमेत हुन् । उनका अनुसार पर्वतमा २०५८ सालतिर पर्वत सन्देश, मोदीकाली र अभिमत साप्ताहिक पत्रिका रहेको बताए । त्यतिबेला अहिलेजस्तो सामाजिक संजालको विकास नभएको शर्माको भनाइ छ । संस्थापक अध्यक्ष शर्माका अनुसार पछिल्ला केहीवर्ष यता स्वतन्त्र पत्रकारिताभन्दा पनि पार्टीकारिता, बढ्दो अनलाइन माध्यम र सामाजिक संजालहरूको गलत उपयोगले सिंगो पत्रकारिता जगत बद्नाम हुने परिपाटी बढेको छ ।

नेपाली पत्रकारितालाई साच्चै जीविकोपार्जन गर्न सक्ने पेसा बनाउनका लागि खोलिएका सञ्चारगृहहरूको मजबुद व्यवस्थापन हुन जरुरी रहेको शर्मा बताउँछन् । त्यो सँगै नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन सक्ने हैसियतको सञ्चार गृह बनाउनका लागि सञ्चारगृह सञ्चालन गर्ने सञ्चालकहरूले पनि गम्भीर भएर सोच्नुपर्छ ।

राज्यले पछिल्लो केही महिना यता जसरी टिकटकले बेथिति निम्त्याएको निष्कर्ष निकालेर बन्द गर्न लगायो त्यसरी नै विभिन्न खालका बहानामा सोसियल साइटमा आएका भ्रामक समाचारलाई पनि नियमन गरी सञ्चालन गर्ने नीति र स्थितिको बिकास गर्न जरुरी छ । पत्रकार र पत्रकारिताको क्षेत्रमा विश्वसनीयता बढाउन नियम र पत्रकारलाई यो क्षेत्रबाट पलायन हुन नदिन विशेष किसिमका कार्यक्रमहरू ल्याउनुपर्ने दायित्य राज्यले पूरा गर्न आवश्यकता छ । अन्यथा केही सञ्चालक र पत्रकारहरूबाहेक अन्य सञ्चारकर्मी र पत्रकारहरू थप पलायन हुने निश्चितजस्तै छ ।

प्रतिक्रिया