कर्णाली प्रदेशमा मिडियाका चुनौती

कर्णाली प्रदेशको इतिहासलाई हेर्ने हो भने पत्रकारिताको क्षेत्रमा परम्परागत माध्यमहरूको अझैसम्म प्रयोग भएको पाइन्छ । त्यो समयमा सूचनाको माध्यम कटवाल कराएर, कर्नाल फुकेर, दमाहा, ढोलक र झ्याली बजाएर, शंख फुकेर सूचना प्रवाह गरिन्थ्यो । अहिले पनि यो परम्परा कायमै छ । सूचनाप्रविधिमा फड्को मारिसकेको दुनियामा पुरानै माध्यमको प्रयोग कर्णालीका केही जिल्लामा यथावत नै छ ।

अर्जुन बिष्ट

विक्रम सम्वत १९०८ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्किंदा भित्र्याएको प्रेस (पछि ‘गिद्दे प्रेस’ नाम दिएको), १९४३ सालमा मोतीराम भट्टले भारतको बनारसमा प्रकाशित गरेको नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’, १९५५ सालमा नेपालमै प्रकाशन भएको ‘सुधासागर’बाट सुरु भएको नेपालको पत्रकारिताले साढे एक शताब्दी पार गरेको छ । नेपालमा परम्परागत र नयाँ माध्यमको अभ्याससँगै नेपाली पत्रकारिताले ठूलो फड्को मारेको छ । संवैधानिक तथा कानुनअनुसार स्वतन्त्र पनि छ । डिजिटल युगमा रहेको नेपाली पत्रकारिताको विकास बढ्दो क्रममा छ । एक हिसाबले सञ्चारमाध्यम उद्योगको रूपमा विकास भइसकेको अवस्था पनि छ । सञ्चारमाध्यमको संख्या बढ्दो छ ।

नेपालको संविधानले समेत पूर्ण प्रेस स्वतन्त्रता, वाक् तथा प्रकाशन स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ । कतिपयले नेपालमा २०४६ र २०६३ सालको परिवर्तनपछि सञ्चार माध्यममा एककिसिमको क्रान्ति नै आएको बताउँछन् । मुलुकमा हजाराँैको संख्यामा सञ्चार माध्यम सञ्चालनमा आएसँगै हजाराँै पत्रकार स्थापित हुँदै गर्दा मुलुककै दुर्गम मानिने कर्णालीमा सञ्चार माध्यमको अवस्था कस्तो छ ? कर्णालीको पत्रकारितामा देखिएका चुनौती सम्भावना र विकासको अवस्था के कस्ता छन् भन्नेबारे यहाँ चर्चा गर्ने कोशिस गरिएको छ ।


१८आँै शताब्दीमा फ्रान्सका बादशाह नेपोलियन बोनापार्टले ‘चार वटा विरोधी पत्रिका चार हजार बन्दुकभन्दा पनि बढी डरलाग्दा हुन्छन्’ भन्दै मनन् गरे । त्यस्तै महान वैज्ञानिक थोमस एल्भा एडिसन भन्छन्, ‘फैलिएर रहेको र निचोर्दा रस आउने पत्रकारिताबाहेक अरू कुनै पेसा छैन । यो कति सुन्दर छ भने, दैनिक हजारौँ कहाँ पुग्दछ, तिनीहरूलाई ज्ञान, सूचना, शिक्षा, र मनोरञ्जन प्रदान गर्दछ । मलाई आफू पत्रकार नभएकोमा खेद छ ।’


माथि उल्लिखित भनाइहरूबाटै पत्रकारिताको महत्व र काम कर्तव्यबारे प्रष्ट हुन्छ । नेपालमा पत्रकारिताको इतिहास र समकालीन अवस्थालाई हेर्ने हो भने पत्रकारिताको विकासक्रम बढ्दो छ । तर, यो सँगसँगै चुनौती पनि बढिरहेको छ । माध्यम, प्रविधि र संख्यामा विस्तार भएको नेपाली पत्रकारितामा प्रविधिको विकाससँगै अनलाइन पत्रकारितामा राम्रै परिवर्तन भयो । सूचना विभागका अनुसार आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्म नेपालमा ७ हजार ९ सय ७९ वटा पत्रपत्रिका दर्ता भएका छन् भने ९ सय २८ एफएम रेडियोले प्रसारण अनुमति लिएका छन् २ सय ४२ वटा टेलिभिजन र ४ हजार ६१ वटा अनलाइन दर्ता भएका छन् । जनसंख्याका आधारमा सञ्चारमाध्यमको यो संख्या ठूलो हो । प्रष्ट नीति र अभ्यासमा चुकिरहेको नेपाली पत्रकारिता अझै व्यावसायिक पत्रकारिताको अभ्यासमा छ । यति धेरै सञ्चार माध्यमले एकअर्कामा आफूलाई अरूका अगाडि उत्कृष्ट देखाउने प्रतिस्पर्धाबाहेक अरू केही छैन । नेपालमा झन्डै १० हजार सञ्चारमाध्यम भइसके तर दुर्गममा मिडियाको पहँुच पुग्दैन । कर्णालीमा सञ्चारमाध्यमको अवस्था र कर्णाली प्रदेशको इतिहासलाई हेर्ने हो भने पत्रकारिताको क्षेत्रमा परम्परागत माध्यमहरूको अझैसम्म प्रयोग भएको पाइन्छ । त्यो समयमा सूचनाको माध्यम कटवाल कराएर, कर्नाल फुकेर, दमाहा, ढोलक र झ्याली बजाएर, शंख फुकेर सूचना प्रवाह गरिन्थ्यो । अहिले पनि यो परम्परा कायमै छ । सूचनाप्रविधिमा फड्को मारिसकेको दुनियाँमा पुरानै माध्यमको प्रयोग कर्णालीका केही जिल्लामा यथावत नै छ । दुर्गममा मिडियाको पहुँच केही मात्रामा पुगे पनि भौगोलिक अवस्थाका कारण तुलनात्मक रूपमा अझै पहुँच बाहिर नै रहेको छ ।

कर्णाली प्रदेशमा पत्रकारिता

कर्णाली प्रदेशमा पत्रकारिताको इतिहासलाई हेर्ने हो भने पत्रकारिताको विकास पञ्चायतको अन्त्यपछि मात्रै भएको भए पनि सुरुआत भने पञ्चायतकालमा नै भएको पाइन्छ । परम्परागत र आधुनिक माध्यमको पत्रकारिताले कर्णालीको सञ्चारमाध्यम र सञ्चारमाध्यमको अवस्थालाई प्रष्ट पारेको छ । डिजिटल युगमा दौडिरहेको नेपाली पत्रकारिताको अभ्यासलाई हेर्ने हो भने कर्णालीको पत्रकारिताले अझै अपेक्षित गति लिन सकेको छैन । पछिल्लो समय सञ्चारमाध्यम धमाधम खुले पनि निरन्तरता भने छैन । मुलुककै दुर्गम मानिने कर्णालीमा भौगोलिक विकटता, आवश्यक जनशक्तिको अभाव, विद्युत्, टेलिफोन, इमेल इन्टरनेटलगायत विविध कारणले कर्णालीको पत्रकारिता अझै पछाडि रहेको छ । दुर्गमको पत्रकारिता चुनौतीले भरिएको छ । गाउँका कुनै क्षेत्रमा केही घटना घट्यो भने तत्कालै घटनास्थलमा पुगेर समाचार संप्रेषण गर्न नसक्नु दुर्गमको पत्रकारिताको सबैभन्दा ठूलो बिडम्बना हो । यदि घटनास्थलमा पुगीहाले पनि समयमै समाचार सम्प्रेषण हुन नसक्नु अर्को दुर्भाग्य हो । भौगोलिक रूपमा निकै विकट क्षेत्रमा विद्युत्को सहज पहुँच नपुग्दा तयार पारिसकेको समाचार समयमै सम्प्रेषण हुन नसक्ने यहाँका पत्रकारको गुनासो छ । अधिकांश रिर्पोटिङ स्थलबाट जिल्ला सदरमुकाम आइपुग्दा समाचार पुरानो भइसक्ने अवस्था छ । यो पीडा स्वयं पत्रकारबाहेक अरूलाई थाहा हुने कुरा भएन ।

विज्ञापन बजारको अभाव, जनशक्तिको समस्या र राज्यका अस्पष्ट नीतिका कारण कर्णालीमा आज पनि मिडियामा समस्या थपिँदै गएको छ । पत्रकारिता आफैँमा चुनौतीपूर्ण पेसा हो, कर्णालीमा थप चुनौतीपूर्ण छ । २०४६ र २०६२÷०६३ को जनआन्दोलनपछि पनि थुप्रै पत्रपत्रिका प्रकाशन हुने र बन्द हुने क्रम जारी छ । सूचना विभागका अनुसार कर्णालीमा दर्ता भएर सञ्चालनमा आएका ८६ वटा मात्रै पत्रपत्रिका छन् । ती मध्ये आधाभन्दा बढी पत्रिका बन्द छन् । भौगोलिक विकटताका कारण यी दुई जिल्लामा पत्रपत्रिका प्रकाशनमा आउन नसकेको सूचना विभागको तथ्यांकमा उल्लेख गरिएको छ । कर्णालीमा सञ्चार माध्यमको संख्या २ सय ५० पुगिसकेको छ । कर्णालीको पत्रकारिता संख्यात्मक र गुणात्मक दुवै हिसाबले वृद्धि हँुदै गए पनि निरन्तर रूपमा सञ्चालन हुन सकेका छैनन् ।

दुर्गम क्षेत्रको पत्रकारितालाई भौगोलिक विकटताले पनि चुनौती दिएको नेपाल पत्रकार महासंघ रुकुमपश्चिमका संस्थापक सचिव हरिविष्णु ओली बताउँछन् । ओलीका अनुसार जिल्लामा नियमित प्रकाशन हुनेहरूमा आहा सञ्चार साप्ताहिक र रेखदेख साप्ताहिक मात्रै भएका छन् । यी पनि कतिखेरसम्म प्रकाशन हुने हुन् ? यसै भन्न गाह्रो छ । ‘क’ वर्गमा वर्गीकृत भएको कारण जीवित रहने झिनो आशा भने कायमै छ । राती अबेरसम्म बस्नुपर्ने, खाने र सुत्नेको ठेगान नहुने, सधँै लेख रचनाको पिरलो भइरहने, खल्ती खालीको खाली हुने समस्याले पत्रकारिता टिकाइरहन गाह्रो भएको उनको अनुभव छ । ओली भन्छन्, ‘पत्रकारिता पनि एककिसिमको नसा नै रहेछ, गर्न नसके पनि छोड्न नसकिने ।’ मिडिया बचाउनका लागि प्रत्येक पालिकाले अनिवार्य रूपमा निश्चित रकम छुट्याउनुपर्ने ओलीको सुझाव छ ।


रुकुममा पत्रकारिताको इतिहासलाई हेर्ने हो भने हातैले लेखेर पत्रिका तयार गरी (हाते पत्रिका) भित्तामा टाँस्दै पत्रकारिता गरेको इतिहास छ । पछि आएर हाते पत्रिकालाई फोटोकपी गरेर मानिसका हातहातमा दिने चलन सुरु भएको पाइन्छ । हालसम्म जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा २९ वटा पत्रिका दर्ता भएका छन् । तर ती मध्ये दुई वटा साप्ताहिक र एउटा मासिक पत्रिका मात्रै नियमित सञ्चालनमा छन् ।

कर्णालीमा आमसञ्चारका चुनौतीहरूः

साविकको कर्णाली होस् या संघीय संरचनापछिको कर्णालीमा आमसञ्चार र पत्रकारिताबारे अध्ययन गर्दा पत्रकारितामा दीगोपना छैन । जिल्लागत पत्रकारिताको अवस्थालाई अध्ययन गर्ने हो भने पत्रकारिता गर्दै छोड्दै गर्नेहरू धेरै छन् । सञ्चार माध्यमले सञ्चारकर्मीलाई पारिश्रमिक नदिनु, पेसागत असुरक्षा, भौगोलिक कठिनाइ, यातायातको समस्या, इन्टरनेट सेवा प्रभावकारी नहुनु, र दक्ष जनशक्तिको अभाव, लगायतका यहाँ मुख्य चुनौती हुन् । सञ्चार माध्यम सञ्चालनमा आए पनि नियमित गति भने लिन सकेको छैन । भरपर्दो विद्युत् सेवाको पहुँच नहुँदा समाचार प्रसारण र प्रकाशनमा समस्या थपिएको छ । रेडियोहरूमा प्राविधिक समस्या, पत्रपत्रिका छाप्न ठूलो आकारका अफसेट प्रेस नहुनु र बजार व्यवस्थापन नहँुदा कर्णालीका सञ्चार माध्यमहरूले सास्ती खेप्दै आइरहेका छन् । पछिल्लो समयमा थुप्रै अनलाइन खुले पनि सूचना विभागमा २०७९ माघ महिनासम्म ५४ वटा मात्रै अनलाइन दर्ता भएको देखिन्छ । दर्ताविना सञ्चालनमा आएका अनलाइनहरूले थप चुनौती थपेका छन् । सञ्चारकर्मीले आफ्नो पारिश्रमिकसमेत नपाउँदा पछिल्लो समयमा पत्रकार पलायन हुने समस्या बढ्दै गएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी भन्छन, ‘एक हिसाबले मिडियाका क्षेत्रमा केही परिवर्तन भएको छ तर मिडियामा भएको परिवर्तनसँगै चुनौती पनि थपिएको छ । अधिकांश मिडियामा पत्रकारले तलब नपाउने र बजार व्यवस्थापनको समस्याका कारण पत्रकारितामा लाग्दै छोड्दै गर्ने क्रम जारी नै छ ।’ केसी भन्छन्, ‘सूचना विभाग, प्रेस काउन्सिललगायत राज्यले पनि दुर्गमको पत्रकारितालाई बुझ्न जरुरी छ । हामीले सबै सम्बन्धित निकायसम्म यहाँको पत्रकारितामा देखिएको समस्या र चुनौतीका विषयमा कुरा उठाइरहेका छौँ ।’ अध्यक्ष केसीका अनुसार रुकुमपश्चिममा आठ वटा एफएम रेडियो, तीन वटा पत्रिका र ६ वटा अनलाइन सञ्चार माध्यमहरू नियमित सञ्चालनमा छन् । उता कालिकोटमा हाम्रो कर्णाली खबर दैनिक र अभिभारा साप्ताहिक सञ्चालनमा छ ।

दुर्गममा सञ्चार माध्यममा लगानी गर्ने र नियमित नियमन गरेर लगानी बढाउन आवश्यक देखिन्छ । स्थानीय तथा प्रदेश सरकाले समानुपातिक रूपले विज्ञापन वितरण गर्नसके साना ठूला सबै सञ्चार माध्यमहरू स्थापित हुने सम्भावना हुन्छ । १० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा २५ नगरपालिका र ५४ वटा गाउँपालिका गरी जम्मा ७९ स्थानीय तहहरू रहेका छन् । पहिले सदरमुकाममा मात्रै सीमित रहेका सञ्चार माध्यमहरू अहिले स्थानीय तहसम्म पुगेका छन् । केही स्थानीयतहहरूले आफ्नै रेडियो साप्ताहिक पत्रिकासमेत सञ्चालनमा ल्याएका छन् । पत्रकारिता आवाजविहीनहरूको आवाज भन्ने गरिन्छ तर राष्ट्रियस्तरका मिडियाहरूले कर्णालीको भोक, गरिबीबाहेक केही देखाउन सकेनन् । मूलधारको नेपाली पत्रकारिताले न दुर्गमको समस्यालाई वकालत गर्यो न परिवर्तनका लागि केही पहल गर्यो ।

बन्दुक पड्काएर सांकेतिक रूपले सूचना दिने कर्णाली प्रदेशको पत्रकारिता सूचना विभागको तथ्यांकलाई आधार मान्ने हो भने ११ प्रतिशत मात्रै पत्रपत्रिका सञ्चालनमा छन् । यो देशकै सबैभन्दा कम हो । प्रविधिको क्षेत्रमा भएको द्रुत विकासको उपयोग गर्दै यस प्रदेशमा पनि सञ्चारका आधुनिक माध्यमहरू सञ्चालनमा आए पनि विविध कारणले चुनौतीपूर्ण छन् ।

कर्णाली प्रदेशको उच्च हिमाली क्षेत्रअन्तर्गत रहेका डोल्पा, जुम्ला, हुम्ला, मुगुमा सञ्चार माध्यमको अवस्था हेर्ने भने निकै कमजोर अवस्थामा छ । भएका सञ्चार माध्यममा पनि विविध समस्याहरू तैनाथ छन् । जुम्लामा सामुदायिक रेडियो ६ वटा छन् । तर ती रेडियोहरूमा श्रमजीवीको समस्या उस्तै छ । केही सञ्चार माध्यम त सूचना प्रकाशन र प्रसारणका लागि दसैँतिहारमा मात्रै सक्रिय हुन्छन् । डोल्पामा चार वटा सामुदायिक रेडियो र ६ वटा अनलाइन सञ्चालनमा आएका छन् । पछिल्लो समय डोल्पामा सञ्चार माध्यमको संख्या बढेको छ । तर, समाचार प्रकाशन र प्रसारणमा भने निकै चुनौती छ । नेपाल पत्रकार महासंघ डोल्पाकी उपाध्यक्ष सुकमाया थापा भन्छिन्, ‘सबैभन्दा बढी समस्या रेडियोको प्रविधिमा छ । अहिले पालिकासम्म सञ्चार माध्यमहरू सञ्चालन भएका छन् । तर विद्युत्, इन्टरनेट अवरुद्ध हुँदा समयमै सूचना प्रवाह गर्न सकिँदैन जसले गर्दा आमपाठकलाई समयमै खबर पुर्याउन सकिने अवस्था छैन । पत्रकारितालाई चुस्त बनाउने हो भने स्थानीय स्तरका मिडियालाई पहिलो प्राथमिकता राख्नुपर्छ । त्यस्तै मुगुमा चार वटा एफएम रेडियो रहेकोमा एक वटा बन्द भएको पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल बताउँछन् । उनका अनुसार मुगुमा एउटा मात्रै अनलाइन नियमित प्रकाशनमा रहेको छ । श्रमको उचित मूल्यांकन नहुँदा मोफसलमा व्यावसायिक पत्रकारिता संकटमा परेको मल्ल बताउँछन् । कर्णालीमा पत्रकारिताको विकाससँगै १० वटै जिल्लामा सञ्चार माध्यम सञ्चालनमा आए पनि विज्ञापनकै भरमा चल्नुपर्ने बाध्यता छ । विज्ञापन पनि पहुँचकै आधारमा दिने गर्दा साना तथा ठूला लगानीमा सञ्चालनमा आएका मिडियाहरू कठिन अवस्थामा छन् ।

नेपालको संविधानले समेत परिभाषित गरेको दुर्गम पिछडिएका क्षेत्रका नागरिकलाई नुन, तेल, चामल आदिमा अनुदानको व्यवस्था गरेअनुसार पत्रकारितामा अनुदानको व्यवस्था गरे मात्रै पत्रकारिताको विकास हुने सरोकारवालाको भनाइ छ । एकातिर दक्ष जनशक्ति अभाव अर्कोतिर सञ्चारकर्मीले पारिश्रमिक पनि नपाउँदा पत्रकारिताप्रति प्रश्न खडा हुने अवस्था आएको सरोकारवालाहरू बताउँछन् । दुर्गमका सञ्चार माध्यम (पत्रपत्रिका, रेडियो अनलाइन, टेलिभिजन आदि) को वर्गीकरण विकास र उचित संरक्षणका लागि स्रोत (विज्ञापन र अनुदान)को न्यायोचित वितरण गर्दै पत्रकारलाई पेसागत रूपमा दक्ष बनाउन सकेमा मात्रै कर्णालीमा पत्रकारिताको विकासमा योगदान पुग्न सक्छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया