‘हामी सरकारमा छौँ, जनता असन्तुष्ट छन्’

अर्घाखाँची । हामी तिनै तहका सरकारमा छौँ, जनतामा व्यापक निराशा र असन्तुष्टि भएकोले राजनीतिप्रति दिनप्रतिदिन वितृष्णा देखिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले बताइन् ।

संविधान, लोकतन्त्र, गणतन्त्रको संरक्षण विकास र समृद्धिका लागि गठबन्धन गरेर अगाडि बढे पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ संग्रौलाले यस्तो बताएकी हुन् ।

नेतृ संग्रौलाले भनिन, ‘जनताको बीचमा जाँदा सरकार जिम्मेवार र जवाफदेही नभएको निकै ठूलो आक्रोस आएको छ, सरकार जवाफदेही, उत्तरदायी बन्न सकेन, संघीयता निकै चुनौतीपूर्ण अवस्थामा छ, कतिपय प्रहरी ऐन, निजामती ऐन बन्न नसक्दा धेरै समस्या छन्, अधिकार र कार्यक्षेत्रबारे धेरै विवाद छन्, देशमा आर्थिक अवस्था कमजोर छ, रुस र युक्रेन युद्धका कारणले केही समस्या पनि देखिएको छ, विकासका सूचांक पनि त्यति राम्रो छैन्, जनताका सुझाव र समस्या सामाधानका लागि हामीहरू अबको नीति तथा बजेट कार्यक्रमबाट अगाडि बढ्ने सोचका साथ अगाडि बढ्नेछौँ ।’
सरकार सञ्चालनबाट पार्टी पूर्ण रूपमा सन्तुष्टि नभए पनि सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै जाने र आमामी निर्वाचमा भने कांग्रेस एक्लै निर्वाचनमा जाने नेतृ संग्रौलाले बताइन् ।

समुदायमै गई जनताका कुरा सुन्ने र योजनाबद्ध रूपमा काम गर्ने उद्देश्यका साथ समुदायमा कांग्रेस भन्ने अभियानका साथ आफूहरू अगाडि बढेको बताइन् । उनले विकास, समृद्धि र रोजगारीका लागि जनताको माग र आवश्यकताका आधारमा जनताको कुरा सुन्ने र जनताको भावना अनुसारका काम गर्नका लागि पार्टी र सरकारलाई जोड्ने गरी अगाडि बढ्न प्रतिबद्ध रहेको बताइन् ।

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य सदस्य निमा गिरीले अघिल्लो सरकारले स्रोतविना विभिन्न कार्यक्रमहरू अगाडि बढाउँदा केही समस्या भएको भन्दै खानेपानी र अन्य केही समस्याका कारण जनतालाई निकै नै सास्ती भोग्नुपरेको कुरा पटकपटक जनता विषय लिएर मुख्यमन्त्रीलाई विशेष ध्यानाकर्षण गराएको बताइन् ।

कांग्रेस संसदीय दलका सचेतकसमेत रहेकी गिरीले धेरैपटक भन्दा बोल्दा पनि आफूले केही गर्न नसकेको भन्दै सचेतकबाट राजीनामा दिने सम्मको सवाल उठान गरेकोले अब सबै मिली मुख्यमन्त्रीलाई घेर्न जानुपर्ने बताइन् । दुई लाख जनतालाई रोजगारी दिने आर्थिक विकास कार्यक्रमको कार्ययोजना भए मुख्यमन्त्री अर्कै कार्यक्रममा अल्मलिइरहने र कमचारीहरूले अख्तियारलाई देखाएका कारण कामले गति लिन नसकेको स्वीकार गरिन् ।

कार्यक्रमका पार्टी केन्द्रीय सदस्य गंगा शाही, लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ, महामन्त्री बिक्रम खनाल, सहमहामन्त्री निमा गिरी, जिल्ला सभापति केशव श्रेष्ठ, सचिव कृष्ण खनाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, नेपाली कांग्रेस जिल्ल्ला प्रचार विभाग प्रमुख सूर्यप्रसाद भुसाल लगायतको आतिथ्यता रहेको पत्रकार सम्मेलन कार्यक्रम पे्रस युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता पूर्वअध्यक्ष वीरेन्द्र केसीको स्वागत मन्तव्य र सचिव विष्णु खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया