नक्कली अयोध्याले ओझेल पारेको सक्कली अयोध्या

विन्दुकान्त घिमिरे

छिमेकी देश भारतले पाँच सय वर्ष पुरानो मस्जिद भत्काएर मन्दिर बनाएको छ । मुस्लिम समुदायले खासै ठूलो प्रतिक्रिया जनाएका छैनन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिग्विजय गरेको मुडमा छन् । हिन्दू अतिवादीहरूले मोदीलाई पुराणहरूमा वर्णित चक्रवर्ती सम्राट ठानेका छन् । मोदीको तर्क छ, ‘भगवान् रामको जन्मभूमिमा रहेको मन्दिर भत्काएर मुस्लिमहरूले पाँच सय वर्षअघि मस्जिद निर्माण गरेका थिए । त्यसैले अहिले मस्जिद भत्काएर राम मन्दिर बनाइएको हो ।’ तर हिन्दू पुराणमा भगवान्का रूपमा उल्लेख गरिएका पात्र श्रीराम सोही ठाउँमा जन्मेका हुन् भन्ने प्रमाण भारतीय प्रधानमन्त्री मोदीले जुटाउन सकेका छैनन् ।

भारतीय प्रधानमन्त्री मोदीले गत सोमबार मन्दिर शिलान्यास गर्दै गर्दा मुस्लिम समुदायबाट ठूलै प्रतिक्रिया आउने अनुमान गरिएको थियो । तर, मुस्लिम समुदायले खासै वास्ता गरेको देखिएन । बरु नवनिर्मित मन्दिर आसपासका मुसलमानहरू खुसी भएको समाचार मिडिया तथा सामाजिक सन्जालमा आएको छ । हिन्दूहरूका लागि मन्दिर जे हो, मुस्लिमहरूका लागि मस्जिद त्यही हो भन्ने औसत मान्छेको बुझाइ रहेको देखिन्छ । तर बास्तविकता त्यस्तो होइन रहेछ । मस्जिद भनेको कुरान पढ्नका लागि बनाइने भवन मात्रै रहेछ । सफा तथा पवित्र ठाउँमा कुरान पढ्नुपर्ने भएकोले विशेष खालको भवन बनाउने चलन रहेछ । त्यही भवनलाई मस्जिद भनिँदो रहेछ । जब त्यो भवनमा कुरान पढ्न छाडिन्छ, त्यस पछि मस्जिद भनिँदो रहेनछ । मस्जिद अस्थायी पनि हुँदो रहेछ । यतिबेला राममन्दिर बनाइएको स्थानको बाबरी मस्जिदमा पनि कुरान पढ्न छाडिएको सयौं वर्ष भइसकेको रहेछ । विवाद भनेको मस्जिद रहेको जग्गाको स्वामित्वका विषयमा मात्रै रहेछ । त्यसैले बाबरी मस्जिद भत्काइएकोमा स्थानीय मुस्लिम समुदाय खासै दुःखी भएन । बरु भव्य राम मन्दिर बनाइएकोमा खुसी देखियो ।

राम मन्दिर बनाइएको स्थान लखनउ नजिकै फैजावादमा पर्छ । जहाँ मुस्लिम समुदायको निकै बाक्लो बस्ती छ । त्यस क्षेत्रको जमिनमध्ये ८० प्रतिशत मुस्लिम समुदायको छ । राम मन्दिरको निर्माण सुरु भएसँगै त्यस क्षेत्रको जमिनको मूल्य हरेक वर्ष तेब्बर बढ्दै गएको थियो । अहिले त सय गुणा मूल्य बढी सकेको छ । १० वर्ष अघिसम्म एक करोड रुपैयाँ सम्पत्तिका मालिक अहिले अर्बपति बनेका छन् । राम मन्दिर बनेसँगै जग्गाको भाउ अचाक्ली वृद्धि भएको मात्रै होइन पर्यटकहरूको ओहिरो लागेका कारण होटल व्यवसाय फस्टाएको छ । रोजगारी बढेको छ ।

दुःखी हुनुपर्ने नेपाली हो

अहिले राम मन्दिर बनाइएको फैजावाद नै पुराणमा वर्णित अयोध्या हो, भगवान् श्रीराम त्यहीँ जन्मेका हुन् भन्ने दावी भारत सरकारले गर्दै आएको छ । तर भारतको यो दावीलाई नेपालले प्रधानमन्त्री स्तरमा नै खारेज गरिसकेको छ । खारेज मात्रै होइन आपत्ति जनाइसकेको छ । सक्कली अयोध्या आफ्नै देशमा भएको दावी नेपालको छ । २०७७ सालको भानु जयन्ती समारोहमा बोल्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम जन्मभूमि नेपालमै रहेको दाबी गरेका हुन् । त्यतिबेला प्रधानमन्त्री ओलीले भारतद्वारा नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको बताएपछि ठूलो हलचल मच्चियो ।
भारतले दावी गरेको फैजावादको अयोध्या सक्कली हो या नेपालले दावी गरेको चितवन माडीको अयोध्यापुरीको अयोध्या सक्कली हो ? भन्ने एकीन गर्न सांस्कृतिक र पुरातात्विक प्रमाणहरू जुटाउनुपर्ने हुन्छ । यिनै प्रमाणका आधारमा मात्रै राम जन्मभूमि अयोध्या कुन हो ? भन्ने निक्र्यौल गर्न सकिन्छ । तर सघन अध्ययन हुन बाँकी छ । भारतको सर्वोच्च अदालतले पनि उत्तर प्रदेशको लखनऊमा रामको जन्म भएको प्रमाण फेला नपरेको ठहर गरेको थियो । यद्यपि, धार्मिक मान्यताका आधारमा उसका केही विवादित निर्णय भने आएका थिए ।

अंग्रेजहरूले फैजाबादलाई अयोध्या नामकरण गरी राम जन्मेको भनी प्रचार गराएर बहुसंख्यक हिन्दूहरूलाई आफ्नो हातमा लिएर मात्रै लखनउ राज्य आफ्नो कब्जामा पारेका हुन् । अंग्रेजहरूले फैजाबादलाई अयोध्या नामकरण गरेपछि हिन्दू मुसलमानबीच फाटो मात्रै भएन, हिन्दूहरू नै सो ठाउँलाई रामजन्मभूमि सिद्ध गर्न लागि परे । त्यसलाई अहिले छिमेकी मुलुकका हिन्दूहरूले मात्रै नभएर नेपालीले समेत वास्तविक रामजन्म भूमिका रूपमा मान्दै आएका छन् । तर सो ठाउँलाई रामजन्मभूमि मान्दा नमिलेका असंख्य प्रमाणहरू छन् ।

रामायण काल्पनिक साहित्य होइन, वास्तविक घटना हो भन्ने विश्वास भावी पुस्तालाई दिलाउने हो भने इसाइहरूले लखनउ राज्य हडप्नेक्रममा गरेको यो छलकपटलाई यथाशीघ्र उजागर गर्नैपर्छ । भारतीय विद्वानहरू पनि यो मामिलामा संवेदनशील हुनैपर्छ । किनकि भावी पुस्तालाई रामायणको विश्वासनियतामाथि नै शंका उत्पन्न भयो भने जतिसुकै तामझाम तथा खर्च गरेर फाजियाबादमा राममन्दिर निर्माण गरे पनि त्यसले केही उपलब्धि दिन सक्दैन । अर्को कुरा, सक्कली अयोध्याको सबै क्षेत्र नेपालमै पर्छ भन्ने पनि होइन । तीन भागको दुई भाग मात्रै हो नेपालमा । अयोध्यापुरी, ठोरी र रामनगर क्षेत्रमध्ये रामनगर त भारतमै पर्छ । यस विषयमा भारतले आपत्ति जनाउनुभन्दा पनि अंग्रेजको षड्यन्त्रलाई उदांगो पार्दै सक्कली अयोध्याको विकासका लागि संयुक्त रूपमा गुरुयोजना बनाएर अघि बढ्नु उपयुक्त हुन्छ ।

हिन्दू र मुस्लिमलाई किन जुधाए इसाइले ?

भारतको उत्तरप्रदेश राज्यको लखनउ नजिकै सानो सहर छ । जसलाई शताब्दीयौँदेखि फाजियाबादका नामले चिनिन्छ । मुस्लिम राजा र हिन्दू प्रधानमन्त्री रहने परम्परा बोकेको लखनउ कुनै जमानामा दक्षिण–पूर्वी एसियाकै सबैभन्दा शक्तिशाली राज्य थियो । त्यहाँको राजपरिवारले करिब ५० किलोमिटर पूर्वमा रहेको फाजियाबादलाई आफ्नो धार्मिक नगरीका रूपमा विकास गरेको थियो । सबै धार्मिक गतिविधि राजधानी लखनउमै केन्द्रित गर्दा हिन्दूहरूको भावनामाथि ठेस पुग्ने अवस्थालाई दृष्टिगत गर्दै मुस्लिम राजाहरूले फाजियाबादमा विशाल मस्जिद निर्माण गरेका थिए । जुन धार्मिक केन्द्र बाबरी मस्जिदका नामले विश्वप्रख्यात थियो । भारतवर्षका अरू राज्यहरूमा हिन्दू र मुसलमानबीच भित्रभित्रै द्वन्द्व भए पनि लखनउ राज्यमा भने हिन्दू र मुस्लिमबीच अनुपम मेलमिलाप थियो । हिन्दूहरूको भावनामा सकेसम्म ठोस नपुगोस् भनेर नै मुस्लिम शासकहरूले राजधानीभन्दा केही पर मुख्य मस्जिद बनाएका थिए ।

इस्ट इन्डिया कम्पनीको आगमनपछि अंग्रेजहरूले बिस्तारै भारतवर्षका राज्यहरू आफ्नो अधिनमा लिँदै गए । त्यतिबेला भारतवर्षमा ५ सय ६० वटा साना–ठूला राज्य थिए । करिब ९५ प्रतिशत राज्यहरू आफ्नो अधिनमा लिएपछि अंग्रेजहरूले सबैभन्दा शक्तिशाली र आर्थिक रूपले पनि निकै सबल लखनउमाथि धावा बोले । दुई वर्षको अन्तरालमा अंग्रेजहरूले तीनपटक आक्रमण गरे तर सफल हुन सकेनन् । उल्टो अंग्रेज सेनातर्फ धेरै ठूलो क्षति भयो । यो क्षतिपछि अंग्रेजहरूले लखनउ राज्यसँग सम्बन्ध विस्तारका लागि करिब १० वर्ष मिहिनेत गरे तर उल्टै लखनउ राज्यले अन्य राज्यका अपदस्थ राजाहरूलाई संगठित गरी अंग्रेजलाई भारतबाटै धपाउने अभियानलाई तीव्र बनायो । आजित भइसकेपछि अंग्रेजहरूले जुक्ति निकाले, ‘हिन्दू र मुसलमानबीच द्वन्द्व चर्काएर लखनउ राज्यलाई कमजोर बनाइदिने ।’ त्यसक्रममा उनीहरूले बाबरी मस्जिदसमेत रहेको मुसलमानको मुख्य धार्मिक केन्द्र फाजियाबादलाई रोजे ।

फाजियाबादको बाबरी मस्जिद नजिकै हिन्दू साधुहरूको एउटा अखडा थियो । गण्डक र गंगाको संगमस्थल नजिकै रहेको उक्त ठाउँबाट हिन्दू साधुहरूले आफ्ना गतिविधिहरू गर्थे । अंग्रेजहरूले हिन्दू साधुहरूलाई ठूलो रकम दिएर आफ्नो पक्षमा ल्याए । लखनउ राज्य आफ्नो हातमा आएको खण्डमा बाबरी मस्जिद तथा यसले चर्चेको सबै जमिन दिलाइदिने प्रलोभन हिन्दू साधुहरूलाई दिए । तैपनि हिन्दू साधुहरूले विश्वास गरेनन् । त्यसपछि अंग्रेजहरूले अर्को ‘स्टन्ट’ (खतरनाक हर्कत) रचे । त्यो स्टन्ट थियो, ‘मुस्लिम शासक बाबरले राम मन्दिरलाई भत्काएर आफ्नो नाममा मस्जिद बनाएका हुन् । रामजन्मभूमि अयोध्या वास्तवमा फाजियाबाद नै हो ।’ फाजियाबादमा बनेको बाबरी मस्जिद तथा त्यसको किल्ला निकै बलियो भएका कारण अभेद्य भनिन्थ्यो । अभेद्यको अर्थ हो, कसैले भेदन गर्न नसक्ने । बाबरी मस्जिद अभेद्य नामले बढी प्रचारमा थियो । यही शब्दलाई पक्डँदै अंग्रेजहरूले अयोध्या शब्द अपभ्रंश भएर अभेद्य भएको प्रचार गरे । जसलाई सिधासाधा हिन्दूहरूले पत्याए । ठूलो धार्मिक आस्था बोकेका हिन्दूहरू अंग्रेजको शब्दजाल तथा रणनीतिको सिकार बने । त्यसपछि हिन्दू र मुस्लिमबीच द्वन्द्व सुरु भयो । मुसलमान राजाहरूले हिन्दू प्रधानमन्त्रीलाई हटाए । जसका कारण लखनउ राज्य कमजोर भयो । यही मौका छोपेर अंग्रेजहरूले समृृद्ध र बलियो राज्य लखनउलाई आफ्नो अधिनमा लिए ।

नक्कली अयोध्या खडा गरी लखनउ राज्य आफ्नो हातमा लिए पनि अंग्रेजहरूलाई डर–त्रास बाँकी नै थियो । यो कुराको भेद कतै खुल्ने त होइन ? भन्ने सन्त्रास उनीहरूलाई थियो । जनकपुरसमेत रहेको नेपालले अंग्रेजहरूले खडा गरेको अयोध्यालाई मान्यता नदिने त होइन ? भन्ने सन्त्रास हटाउनका लागि अंग्रेजहरूले मौका पर्खेर बसेका थिए । केही वर्षपछि लखनउका अपदस्थ राजाले सिपाही विद्रोह गरे । यो विद्रोह हिन्दूमाथि मुस्लिमको आक्रमण भएको भन्दै अंग्रेजहरूले राणा प्रधानमन्त्री जंगबहादुरलाई पत्राचार गरे ।

सिपाही विद्रोह दबाउनु अंग्रेजका लागि ठूलो कुरा थिएन तर उनीहरूले यो विद्रोहलाई स्वतन्त्रताको अन्दोलनभन्दा पनि हिन्दूमाथि मुस्लिमले गरेको आक्रमणका रूपमा प्रचार गराएर नेपालका शासकको साथ सहयोग सधैँका लागि प्राप्त गर्ने रणनीति बनाए । जंगबहादुर राणा आफैँ फौज लिएर लखनउ गए । अंग्रेजहरूले पनि जतिसक्दो लुट, लैजाऊ भनेर छुट दिए । चतुर शासक जंगबहादुरले मौकामा चौका हाने । धेरै ठूलो सम्पत्ति लुटे । जसलाई अहिले पनि लखनउ लुट भन्ने गरिन्छ । यति मात्रै होइन, लखनउ राज्यले हडपेको कैलाली, कञ्चनपुर, बाँके र बर्दियासमेत अंग्रेजहरूले नेपाललाई फिर्ता दियो । त्यसपछि भने नेपालले नक्कली अयोध्याको विषयमा कहिल्यै कुरा उठाएन ।

भारतको अयोध्या नक्कली भएका प्रमाण र आधारहरू

माता सीता जन्मिएको ठाउँ जनकपुर नै हो भन्ने कुरामा कुनै सन्देह छैन । संस्कृत, पौराणिक र पुरातात्विक रूपमा समेतले पुष्टि भएको यो कुरालाई भारतीयहरूले समेत मानिरहेका छन् । यसैको आधारमा तथ्यहरूलाई जाँच्न सकिन्छ । सीता जन्मभूमि जनकपुर र नक्कली अयोध्याबीचको सिधा दुरी पाँच सय किलोमिटरभन्दा धेरै छ । पाँच सय किमी टाढा रहेको वर्तमानको अयोध्याबाट रथमा चढेर एकैदिनमा जनकपुर आउनु पत्यारलाग्दो र सम्भव कुरा होइन । पाँच सय किमी दुरी रथबाट पार गर्न कम्तीमा पनि १५ दिन लाग्छ । रथ तान्ने घोडाहरू लगातार हिँडिरहन सक्दैनन् । बीचबीचमा घाँसपानी खुवाउँदै लानुपर्ने हुन्छ ।

सूननदी पतनदीको किनारमा नेपालभित्र अवस्थित वाल्मीकि आश्रमको ऐतिहासिकता र प्रामाणिकताका बारेमा पनि कसैलाई सन्देह छैन । धोबीको कुरा सुनेर रामले सीतालाई वनबास पठाएको कुरा रामायणमा वर्णन गरिएको छ । लक्ष्मणले सीतालाई वाल्मीकि आश्रम नजिकै छाडेर उसै दिन फर्केको प्रसंग रामायणमा छ । लखनऊ नजिकैको अयोध्याबाट वाल्मीकि आश्रमको सिधा दुरी करिब तीन सय किलोमिटर छ । भनेपछि जाउआउ गर्दा ६ सय किमी पुग्छ । ६ सय किमी बाटो रथको सहायताले एकैदिनमा पूरा गर्न सम्भव कुरै होइन ।

रामायणको अन्तिमतिर वाल्मीकिले सीता र लवकुशलाई लिएर पैदल यात्रा गरी रामलाई भेट्न गएको वर्णन छ । सीताको पवित्रताका बारेमा रामलाई अवगत गराएर सीता तथा लवकुश तीनै जनालाई रामको जिम्मा लगाउने वाल्मीकिको योजना थियो । त्यो बेला उनीहरूको भेट भएको ठाउँ अहिलेको देवघाट हो । त्यो बेला रामले सीतालाई स्वीकार गर्दा जनतामा गलत सन्देश जाने लख काटे र सहजतासँग वाल्मीकिको आग्रह शिरोपर गर्न सकेनन् । यसबाट दुःखी भएकी सीताले धरती मातालाई पुकारिन् । धरती फाटिन् र सीता धरतीमा समाहित भइन् भन्ने वर्णन रामायणमा छ र त्यसरी धर्ती फाटेको ठाउँ चितवनको देवघाटमा पर्छ । त्यो ठाउँको दर्शन गर्न अहिले पनि हजारौं तीर्थालुहरूको भीड लाग्छ । लखनऊस्थित अयोध्यामा बसेका राम कहिलेकाहीँ विश्रान्तिका लागि देवघाट आउनु तर्कयुक्त कुरा होइन । बरु देवघाट नजिकैस्थित ठाउँलाई राम विश्राम गर्नका लागि आउने भएकैले रामनगर भनिएको हुनुपर्छ ।

रामायणमा वर्णित एउटा घटनामा सिकार खेल्दै रामका पिता दशरथ अहिलेको स्याङ्जा पर्वत र कास्कीको संगम आँधीखोलाको मुहान पञ्चासेको लेक पुगेको प्रसंग छ । उक्त दहमा श्रवणकुमारले गाग्रीमा पानी भर्दै गर्दा निस्किएको आवाजलाई कुनै जंगली हात्तीको आवाज जस्तो मानेर दशरथले पँधेरातिर ताकेर वाण चलाएका थिए । सो वाण लागेर श्रवणकुमारको मृत्यु भएको थियो । श्रवणकुमारका दुवै मातापिता अन्धा थिए । छोराको मृत्यु थाहा पाएपछि उनीहरूले दशरथलाई पनि आफ्नै जस्तो पुत्रवियोग होस् भन्ने श्राप दिए र पुत्रवियोगको पीडाले बूढाबूढी धेरै दिनसम्म त्यो श्रवणकुमारले पानी भर्न खोजेको दह नजिकै बसेर रोइरहे । स्याङ्जामा अहिले पनि अन्धाअन्धी दहका नामले प्रसिद्ध कुवा छ र त्यो दह नै आँधीखोलाको मुहान हो । अहिले मानिरहेको नक्कली अयोध्याबाट सिकार खेल्न पाँच–६ सय किमी पर आउने कुनै सम्भावना हुन्छ त ?

रामका चारै जना दाजुभाइलाई सानै छँदा दरबारमै पुगेर पढाउने गुरु वशिष्ठको जन्मभूमि पनि नेपाल नै भएको पुष्टि गर्ने धेरै आधारहरू छन् । रामहरू किशोर भएपछि धनुर्विद्या आदि सिकाउने गुरु विश्वामित्रसँग जोडिएको एउटा प्रसंग रामायणमा छ । जसमा विश्वामित्रसँगै राम लक्ष्मणले कोसी नदी तरेको उल्लेख छ । त्यो कोसी नदी अहिले नेपालमै बगिरहेको कोसी नदी हो भन्ने कुरामा कुनै सन्देह छैन । अहिले मानिरहेको लखनऊ नजीकैको अयोध्याबाट घुम्दै हाम्रो कोसी नदीसम्म आइपुगेको कुरा पत्याउन सकिँदैन ।

सक्कली अयोध्या चितवनको माडी

लखनऊमा रहेको अयोध्या सक्कली होइन र विभिन्न तथ्यांकहरूले त्यसलाई रामको जन्मभूमि सिद्ध गर्न सक्दैनन् भन्ने निष्कर्षमा पुगेपछि हाम्रा अगाडि अर्को प्रश्न तेर्सिन्छ, त्यसोभए सक्कली अयोध्या कुन हो र कहाँ छ ? यसका लागि विभिन्न किसिमले अध्ययन गर्दा हामी नेपालको चितवन जिल्लामा अवस्थित माडीमा पुग्नुपर्ने हुन्छ । केही समय पहिलेसम्म त्यहाँस्थित एउटा गाविसको नाउँ अयोध्यापुरी रहेको थियो । अहिले माडी नगरपालिका भएपछि अयोध्यापुरी क्षेत्र वडा–७ र ८ भित्र समेटिएको छ । जो प्राचीन समयदेखि नै अयोध्यापुरीकै नामले जानिन्थ्यो । जुन कुरा महाभारतमा समेत उल्लेख गरिएको भेटिन्छ । अयोध्यालाई प्रायः अयोध्यापुरी भनिन्थ्यो । त्यो क्षेत्र नै वास्तविक अयोध्या हुनुपर्छ । यसका लागि केही तर्कहरूको सहारा लिनुपर्ने देखिन्छ ।

सो ठाउँबाट जनकपुरको सिधा दूरी करीब १ सय ५० किलोमिटर पूर्वमा पर्छ भने वाल्मीकि आश्रम करीब ३५ किलोमिटर पश्चिममा पर्छ । त्यहाँबाट रथमा चढेर एकैदिनमा वाल्मीकि आश्रम पुगेर फर्कन सम्भव छ । जो प्राचीन समयदेखि नै अयोध्यापुरीका नामले प्रसिद्ध छ, त्यो नै सक्कली अयोध्या हो भन्ने महसुस हुन्छ । सरयू नदीको प्रसंग, संस्कृतमा सरको अर्थ ताल छहरो पोखरी आदि हुन्छ । त्यो हिसाबले सरयू भनेको सरबाट बगेर आएको नदी । सरयूको अर्को नाम सरस्वती पनि हो । सरस्वतीलाई पारावतघ्नि पनि भनिन्छ । त्यसको अर्थ पर्वतलाई खियाएर, चिरेर, घात गरेर बग्ने नदी हो । अयोध्यापुरी वरिपरि नै सरयूको खोजी हुनु आवश्यक भएको छ ।

देवघाटसँगै मात्र होइन, माडीभन्दा केही दक्षिणतर्फ पनि रामनगर नामक गाउँ अवस्थित छ । उक्त रामनगरको नाम पनि महाभारतमा उल्लेख छ । तनहुँको सेन राज्यको हिउँदकालीन राजधानी रहेको सो रामनगर हाल भारतीय सीमाभित्र पर्छ । वरिपरि राम जोडिएका ग्राम र नगरहरूको उपस्थितिले पनि अयोध्यापुरीलाई सक्कली अयोध्या सावित गर्न मद्दत गर्दछ । अहिलेको अयोध्यापुरीदेखि पश्चिम नारायणी नदी पार गरेपछि रामग्राम आउँछ । अयोध्यापुरीदेखि उत्तरतिर रामपुर छ । अयोध्यापुरीदेखि पूर्व सुनसरी जिल्लाको जंगलमा रामले धुनी जगाई आगो तापेको ठाउँ अद्यापि रामधुनीका नामले प्रसिद्ध छ ।

उता देवघाटसँग जोडिएको रामनगर पनि बिर्सन हुँदैन । पाल्पामा पनि रामपुर छ । रामपुरसँगै काली नदीको किनारमा रामघाट छ जहाँबाट राम अन्तध्र्यान भएका थिए । रामायणमा रामले आफ्नो राज्य विस्तार गरेको प्रसंग उल्लेख छ । वरिपरिका रामनामयुक्त ठाउँहरू रामले विजय प्राप्त गरेका ठाउँहरू हुन सक्छन् । कतिपय क्षेत्र भने रामले वनबासका समयमा बिताएका र काम गरेका प्रमाणका रूपमा पनि व्याख्या गर्न सकिन्छ ।

नेपालका शासकहरूको बेइमानी

तत्कालीन राजदरबारका एक कर्मचारीको अप्रकाशित डायरीमा उल्लेख भएअनुसार नेपाली कांग्रेसले २०१८ सालमा भारतमा सेल्टर बनाएर विद्रोह गरेका बेला नक्कली अयोध्याको वास्तविकता उजागर गर्ने तयारीमा राजा महेन्द्रले दरबारका एक उपसचिव तहका कर्मचारीलाई जिम्मेवारी दिएका थिए । उनले योगी नरहरिनाथको साथ सहयोगमा प्रतिवेदनसमेत तयार गरेका थिए । यसको सुइँको भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले पाए । त्यसपछि उनले कांग्रेसलाई सेल्टर नदिने राजा महेन्द्रको सर्त स्वीकार गरे । प्रतिवेदन तयार गर्ने उपसचिवलाई कारबाही गरियो । उपसचिवलाई पौराणिक सामग्री उपलब्ध गराउने योगी नरहरिनाथलाई पक्राउ गरियो । संकलित पौराणिक सामग्रीहरू सबै भारतीय दूतावासमा बुझाइयो । केही समय त राजा महेन्द्रले चितवनको अयोध्यापुुरी गाउँ पञ्चायतको नामसमेत परिवर्तन गरी माडी गाउँ पञ्चायत राखेका थिए । साथै, चितवनको लंकु गाउँ पञ्चायतको नाम परिवर्तन गरी भरतपुर नामकरण गरेका थिए ।

सक्कली अयोध्या नेपालमै भएको यथार्थलाई अंग्रेजहरूले सुरुमा राणा शासकको मद्दतले दबाएका थिए । २००७ सालको परिर्वतनपछि लामो समय संक्रमणकालमै गुज्रियो । २०१७ सालपछि राजदरबार आफैँले गरेको प्रयास पनि पञ्चायत टिकाउने सर्तमा तुहाइयो । सारा प्रमाण भारतीय दूतावासमा बुझाइयो । २०४६ सालको परिवर्तनपछि पनि नेपालका शासकले यो मुद्दा उठाउन सकेनन् । उल्टो सक्कली लुम्बिनी हाम्रै हो भन्ने कुरा स्थापित गर्न नै सबै ताकत खर्चनुप¥यो । गणतन्त्र स्थापनापछि भने पहिलोपटक निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले शानदार रूपमा सक्कली अयोध्या हाम्रै भूमिमा पर्छ भन्ने यथार्थलाई उजागर गरे । उनले आफूले जानेसम्मका तथ्य र प्रमाणहरू सार्वजनिक गरे ।

तर, यतिले मात्रै पुग्दैन । सक्कली अयोध्या क्षेत्र विन्ध्याचल पर्वतको फेदमा पर्ने चितवनको अयोध्यापुरी, पर्साको ठोरी र भारतीय सीमाभित्र रहेको रामनगर क्षेत्रलाई थप प्रचार गर्नु जरुरी छ । सेन राज्यको हिउँदकालीन राजधानी रामनगर त अहिले भारतमा पर्ने भएकाले त्यहाँका बसिन्दालाई सुुसूचित गराउनेबाहेक नेपालले खासै केही गर्न सक्ने अवस्था छैन । तर, ठोरी र अयोध्यापुरी क्षेत्रलाई समेटेर छिट्टै गुरुयोजना तयार गर्नु जरुरी छ । कत्ति पनि विलम्ब गर्नुहुन्न । फाजियाबादको नक्कली अयोध्यामा भारतले विश्वकै सबैभन्दा ठूलो राम मन्दिर निर्माण गरिसकेको छ । अंग्रेजहरूले अझै पनि साथ दिने भएकाले भोलि यही नक्कली अयोध्या नै सक्कली अयोध्याका रूपमा स्थापित हुन सक्छ । यस्तो अवस्थामा सीता जन्मभूमि जनकपुर तथा वाल्मीकि आश्रम पो नक्कली हो कि ? भन्ने कुरा उठ्न सक्छ । किनकि जनकपुर तथा वाल्मीकि आश्रमबाट फाजियाबाद निकै लामो दुरीमा छ । त्यसैले फाजियाबादबाट पाँच सय किलोमिटर टाढा रहेको जनकपुर तथा ३ सय ५० किलोमिटर टाढा रहेको वाल्मीकि आश्रमका विषयमा शंका उत्पन्न हुन सक्छ ।

प्रतिक्रिया