पैदल यात्राको पहिलो दिनमा नै खोला र जंगल हाम्रो साथीजस्तै बनी हामीसँगै हिँड्न थाल्यो । पैदल यात्राको रमाइलो नै हो यहाँको प्राकृतिक छटा । सहयात्रीजस्तै भएको प्रकृतिसँग नजिकिँदै, रमाउँदै चराचुरुंगीको मीठो ध्वनिको आनन्द लिँदै यात्रा अगाडि बढेको थाहै नहुने । सुसाइरहेको खोलाको मधुर आवाजले यात्रालाई अझ जीवन्त तुल्याइरहको थियो । यात्रामा उकालो हिँडदा श्वास फुलेर हिँडन् गाह्रो हुने सम्ममा हिँडदा आनन्द भएको महसुुस भयो । मानौँ जिन्दगी पनि यस्तै उकाली, ओराली तथा सम्मजस्तै भएको आभास दिलायो । कहिले दुःख कहिले सुख ।
लाङटाङ अर्थात स्थानीय बासिन्दाको भनाइअनुसार गोरु भेटिएको ठाउँ । धेरै वर्ष पहिले तिब्बतबाट विवाहमा प्रयोग गर्न भनेर ल्याएको गोरु एकाएक हराएर त्यसको खोजकार्य सुरु भयो धेरै दिनको खोजीपछि हालको लाङटाङमा भेटिएको हुनाले त्यस ठाउँलाई लाङटाङ नामकरण दिएको जनविश्वास छ । यो ठाउँ वाग्मती प्रदेशको रसुवा जिल्लामा पर्दछ । काठमाडौंबाट जम्मा एकदिनको यात्रामा लाङटाङ पदमार्गको सुरुआत स्थल स्याप्रुबेँसी पुग्न सकिन्छ ।
प्रायःजसो गाडीको चार चक्काको भरमा घुमिरहेका हामी यसपालि भने पैदल यात्रा गर्ने निर्णय ग¥यौँ । हामी जम्मा सात जना (गौरव, अंस्मिता, रेश्मा, सुनील, विकेश, प्रकाश र म स्वयं प्रतिज्ञा) कलेजका साथीहरू यो यात्राका लागि अघि बढने तयारीमा थियौँं । पैदल यात्रा भन्ने बित्तिकै सहज यात्रा त पक्कै होइन । यो यात्रा एउटा शरीर र चेतनाको द्वन्द्वको यात्रा हो । थकान र अठोटको युद्धको यात्रा हो । पैदल यात्रा सुरु गर्नुअघि ६ घण्टा गाडीमा यात्रा गर्नुपर्ने हुन्छ त्यसैले हामीले हाम्रो यात्रा मंसिर २५ गते सोमबार सुरु गर्ने निर्णय गर्यौँ । त्यसैअनुसार बिहान ६ः४० को बस हामीले बुक गरिसकेका थियौँ । बस माछापोखरी बसपार्कबाट लाग्ने हुनाले हामी बिहान ६ः१५ मा त्यहाँ पुगिसकेका थियाैं ।
भनेकै समयमा गाडी गुड्यो । हामी बाहिरी वातावरण नियाल्दै, गफ गर्दै, ड्राइभर दाइले बजाएको गीतमा रमाइरहेका थियौँ । रमाइलो गफगाफ गर्दा गर्दै हामीलाई त्रिशूली आइपुगेको पत्तै भएन । खानाको लागि गाडी रोकेपछि पो हामीलाई थाहा भयो । हामीले त्यही खाना खायौँ । बिहानदेखिको भोको पेट त्यसमाथि साथीहरूसँग भएर होला सबैले मज्जैसँग खाना खाइयो ।
खानापछि बसले त्रिशूली, वेत्रावती, धारापानी, घुम्ती, गुमडाँडा, राम्चे, गराङ, ठाडे हुँदै धुन्चे पुर्यायो । त्यहाँ सहचालकले लगभग आदि घण्टा जति बस रोकिन जानकारी दिएकाले हामी मौकाको सदुपयोग गर्दै बाहिर घुम्न निस्कियौँ । बाहिर निस्कनासाथ आँखै अगाडि देखिएको लाङटाङ हिमालले हामीलाई स्वागत गरेको अनुभव भयो ।
चाँदीजस्तै टल्केको उक्त हिमाल देख्दा कतिबेला त्यहाँ पुगिएला र हिमालसँग नजिकबाट भेट होला भन्ने खुल्दुली मनमा जाग्यो । बस जाने खबर पाएसँगै हामी बसमा चढ्यौँ । बसले भारकु, १२ घुम्ति हुँदै हामीलाई लगभग ३ बजे स्यापु्र पुर्यायो । यहाँसम्मको यात्रा बसबाट भए पनि अबको यात्रा पैदल गर्नुपर्ने थियो । समय बाँकी भएकाले पैदल यात्रको तयारीतर्फ लाग्यौँ । मेरो मामाको बसोबास यहीँ स्याप्रुमा भएको हुनाले पहिला मामालाई भेटेर मात्र यात्रा अगाडि बढाउने विचारले मामालाई भेट्न गयौँ । हामीलाई देखेर खुसी हँुदै मामाले हामीलाई पानी सँगसँगै कफी पनि ल्याएर दिनुभयो । कफीको गफमा यात्राको बारेमा मामालाई बताउँदै पहिलो रातको बसाई ब्याब्बो पुग्ने कुरा बतायौँ । मामाले पनि यात्राको शुभकामना दिँदै हामीलाई बिदा दिनुभयो । मामालाई नमस्कार गर्दै हामी पैदल यात्रातर्फ लाग्याैं ।
पैदल यात्राको पहिलो दिनमा नै खोला र जंगल हाम्रो साथीजस्तै बनी हामीसँगै हिँड्न थाल्यो । पैदल यात्राको रमाइलो नै हो यहाँको प्राकृतिक छटा । सहयात्रीजस्तै भएको प्रकृतिसँग नजिकिँदै, रमाउँदै चराचुरुंगीको मीठो ध्वनिको आनन्द लिँदै यात्रा अगाडि बढेको थाहै नहुने । सुसाइरहेको खोलाको मधुर आवाजले यात्रालाई अझ जीवन्त तुल्याइरहको थियो । यात्रामा उकालो हिँडदा श्वास फुलेर हिँडन् गाह्रो हुने सम्ममा हिँडदा आनन्द भएको महसुुस भयो । मानौँ जिन्दगी पनि यस्तै उकाली, ओराली तथा सम्मजस्तै भएको आभास दिलायो । कहिले दुःख कहिले सुख । यिनै रमाइला अनुभवसँगै यात्रा निरन्तर चलिरह्यो ।
समयले नेटो काट्दै गर्दा सन्ध्याले हामीलाई अँगाल्ने हाल्न थालिसकेको थियो । पेटले पनि आहारा माग्न थालिसकेको थियो । एकैछिन विश्राम गरी मोबाइलको टर्चको उज्यालोले झोलामा भएका चाउचाउका प्याकेट झिकी पेटको ज्वालालाई शान्त पार्दै गन्तव्यतिर लाग्यौँ । गीतको रमाइलोसँगै हामी करिब तीन घण्टाको पैदल यात्रापछि रातको ७ः३० बजे ब्याब्बो होटेल पुग्यौँ ।
मामाले पहिले नै होटलका लोपसाङ दाइलाई हामी आउने जानकारी दिनुभएकाले हामीलाई धेरै सहज भयो । लोपसाङ दाइले पनि हामीलाई स्वागत गर्दै तातोपानीसँगै मिठो खाना खुवाउनुभयो । मनले गरेको यात्रा त्यसमाथि साथीभाइको साथ शरीर थाकेता पनि मन थाकेको थिएन । खानापछि आगोको ताप सेक्दै हामी ठट्टा र रमाइलो गर्नतर्फ लाग्यौँ । केहीबेरको रमाइलोसँगै रात पनि छिप्पन लागिसकेकाले हामी सुत्न गयौँ । ढिला सुतेको त्यसमाथिको थकाइले होला बिहान उठ्दा सात बजिसकेको थियो । बिहानको नित्यकर्म गरी त्यही होटेलमा बिहानको नास्ता खाएर हामी पैदल यात्रातर्फ लाग्यौँ ।
हाम्रो यात्रा यहाँबाट तीन घण्टाको दुरीमा रहेको लामा होटेलतर्फ सुरु भयो । भर्खर बे्रकफास्ट खाएको हुनाले शरीरमा हिँड्ने तागत थपिएको थियो । खानासँगै शरीरले विश्राम पनि पाएको थियो त्यसैले अघि बढ्नका लागि कुनै आनाकानी गरेन । बिहानैदेखि हामीसँगै हिँडेको खोला रिम्चे पुग्नलाग्दा पनि हामीसँगै थियो ।
रिम्चे पुग्नुभन्दा अगाडिको बाटोमा पहिरो गएर बाटो अफ्ठ्यारो बनाएको रहेछ । हामीले उक्त बाटो कठिनसाथ भए पनि पार गर्यौ । प्रकृतिको सुन्दरतामा हराउँदै रिम्चेबाट लगभग १५ मिनेटपछि हामी लामा होटल पुग्यौँ । तीन घण्टाको बाटो भए पनि हामीलाई उक्त बाटो काट्न झन्डै दोब्बर समय लाग्यो । लामा होटेल पुग्दा दिउँसोका दुई बजिसकेको थियो । यहाँ हामीले खाजा खायौँ र यात्रालाई निरन्तर गर्यौँ ।
यात्रामा हिँड्दा स्थानीय मानिसको हिँडाइ र यात्रीको हिँडाइ एकनासको हुँदैन । स्थानीय त्यहाँको वातावरणसँग भिजिसकेको हुन्छ । यात्री वातावरण चाहार्दैै नियाल्दै हिँड्छ । त्यसैले यात्रीलाई गन्तव्यसँगको दुरी नाप्न गन्तव्यमा पुग्नै पर्ने हुन्छ । यात्राको क्रममा यात्रीले शरीर अनुसारको हिँडाइ, थकाइलाई बिसाउँदै, शरीरमा ऊर्जा ल्याउँदै, सहयात्रीसँग गफिँदै हिँडदा समयको ख्याल गर्दैन । तर उसलाई जसरी पनि गन्तव्य भने पुग्नै पर्ने हुन्छ ।
पैदल यात्राले यात्रीलाई थकाउँछ तैपनि यात्री थकान मार्दै गन्तव्यसम्म जसरी पनि पुग्न चाहान्छ ऊ आफूलाई कमजोर देखाएर भाग्न चाहँदैन । त्यसैले होला हामीलाई जसरी पनि गन्तव्यसँग पुग्नु नै थियो । प्राकृतिक सौन्दर्यको आनन्द लिँदै, थकाइलाई बिर्साउँदै हामी घोडातबेला भन्ने ठाउँमा आइपुग्यौँ ।
खुल्ला आकाश र हिमाल हाँसिरहेको देखेर घोडाहरू पनि स्वतन्त्र रूपमा चरिरहेको जस्तो लाग्थ्यो । गन्तव्यमा पुग्न सहज भने थिएन फेरि बीच बाटोबाटै भाग्ने हामी त्यति कातर पनि थिएनौँ । दिनले डाँडा काटिसकेको हुनाले दोस्रो रात हामीले थाङस्यापमा बितायौंँ ।
थाङ्स्यापबाट बिहानको बे्रकफास्ट (रोटी तरकारी) खाएर लाङटाङतर्फ लाग्याँै । पदयात्रा साँच्चै अचम्मको यात्रा हो । बिहान उठ नास्ता खाउ, हिँड । फेरि दिउँसो खाजा खाउ अनि फेरि हिँड । बिहानदेखि काम भनेको हिँडने मात्र । तर, हिँडदा वरिपरि जे देखिन्छ त्यसले हामीलाई गुनासो गर्ने मौका दिँदैन । लगभग तीन घण्टाको हिँडाइपछि हामी लाङटाङ पुग्यौँ । तर, हाम्रो त्यसदिनको यात्रा भने अझै सकिएको थिएन । त्यसदिनको लागि हाम्रो गन्तव्य क्यानजिङसम्मको भएको हुनाले एकैछिन लाङटाङमा विश्राम लिई खाजा खाएर प्रकृतिको सुन्दरतामा हराउँदै अघि बढ्यौँ । लगातार दुई दिनको पैदल यात्रापछि क्यानजिङ पुग्दा खुसीको सीमा नै थिएन ।
अन्य यात्राभन्दा पैदल यात्रामा गन्तव्यमा पुग्दा शरीरले भोगेको दुःख बिर्सेर आफैँलाई स्याबासी दिइरहेका थियौँ । क्यानजिङ पुग्दा रात परिसकेको त्यसमाथि हाम्रो तेस्रो दिनको गन्तव्य त्यहिँसम्मको भएको हुनाले त्यस रात हामी क्यानजिङमै बस्यौँ । बिहान उठ्ने बित्तिकै हिमाललाई हाँसिरहेको देख्दा कतिबेला खुसीको आँसु खस्यो पत्तै पाइएन । लाङटाङ, क्यानजिङ पुगेर स्वर्गलाई नजिकबाट नियाल्दै हामीले आफूले आफैँलाई चिन्ने मौका पाएका थियौँ ।
हामी त्यसदिन करिब ४ हजार ९ सय ८४ मिटरमाथि हाइटमा पुग्ने यात्रामा निस्केका थियौँ । यात्रा सहज थिएन पाइला अघि सर्न अन्कनाइरहन्थे तै पनि काठमाडौंदेखि चार दिन लगाएर आएका थियौँ पछि हट्न मनले दिएन । हिँडने क्रममा जतिमाथि पुग्यो त्यति नै बढी सास फुल्ने, रिँगटा लाग्ने, लेक लाग्ने भएकाले त्यो कुरालाई मध्यनजर गरेर हिँडनुपर्ने रहेछ । नाक ठोकिने उकालो पार गरेर हामीलाई छेरखुरि पुग्नुथियो जहाँ हिमालै हिमालको संसार देख्न पाइथ्यो । जति माथि पुग्यो हिमालहरू उत्तिकै कलात्मक देखिँदै थिए त्यसैले होला शरीर गले पनि सास बढे पनि कसैले रोकिने छाँट देखाएनन् ।
थाकेको शरीरलाई विश्राम दिँदै हामी छेरखुरितर्फ अघि बढिरहेका थियौँ । करिब चार घण्टाको उकालो पार गरिसकेपछि छेरखुरि पुग्दा हाम्रो शरीर लखतरान भएर गलेको थियो तर जुन दुष्य त्यहाँ पुगेर देखियो त्यो देख्दा सबै थकान एकैछिनमा मेटियो । साँँच्चै अद्भूत छ नेपालको सुन्दरता जहाँ पुगे पनि उत्ति नै सुन्दर उत्ति नै मनमोहक बनाउने । कैयौँ कठिनाइहरू पार गरेर त्यहाँसम्म पुग्दा आफूले आफैँलाई गर्व गरिरहेका थियौँ । कुनै ठुलो कुरा हासिल गरेझैँ हाम्रो खुसीको सीमा नै थिएन । हाम्रो ६ दिनको लाङटाङ पदयात्रा हामी सबैको लागि विशेष बन्न पुग्यो ।
पहिलो कुरा त कलेज र अफिसको कुर्सीमा बसिरहेको शरीरले मिठो व्यायाम पायो । मनले नयाँ कुरा देख्न पायो र नयाँ आत्मियता गाँस्न पायो । हिँडिरहे अवश्य पुगिन्छ भन्ने ज्ञान पाइयो । यो यात्राबाट हामीले जीवनलाई हेर्ने नयाँ दृष्टिकोण पाएका थियौँ । अहिले २०२३ मा आइपुग्दा लाङटाङ टे«क धेरै मानिसहरूले इच्छाइएको गन्तव्य बन्न पुगेको छ सोही कारण यस क्षेत्रले हरेक साल हजारौँ पर्यटकहरू देख्न र सुन्दरता देखाउन पाउदँछ । लाङटाङ पदयात्राले मनैभरिने सम्झनाहरू दिएको छ धेरै मिठा अनि कतिपय तिता पनि । दुई दिनको बसको यात्रा र चार दिनको पैदल यात्रामा भरिँदो सहर काठमाडौंबाट हिमालको संसारमा पुग्दा मनले पनि सहरको कोलाहलबाट केही दिनलाई भए पनि मुक्ति पायो । अस्तु ।
प्रतिक्रिया