सूर्योदय नगरपालिकामा ‘मेयरसँग बालबालिका कार्यक्रम’

इलाम । इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीहरूका लागि बाल वचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तरत अनिवार्य बैंक खाता खोलेर वचत गर्न थालिएको हो ।

मेयरसँग बालबालिका कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी बाल वचत अभियान सञ्चालनमा ल्याएको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले जानकारी दिए । कार्यविधिमा प्रत्येक विद्यार्थीले अनिवार्य बैंक खाता खोल्नुपर्ने प्रावधान राखिएको छ । खाता खोलेपछि विद्यार्थीले दैनिक वचत गर्नुपर्ने र त्यसमा नगरपालिकाले साझेदारी गरिदिने उनले बताए ।

विद्यार्थीहरूलाई वचत गर्ने बानीको विकास गर्न यस्तो कार्यक्रम ल्याइएको मेयर राईले बताए । उनका अनुसार कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरू कार्यक्रममा सहभागी हुन पाउनेछन् । नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संस्थागत विद्यालयका विद्यार्थीका लागि हिमालयन बैंक लिमिटेडसँग सम्झौता गरेर काम अगाडि बढाएको हो ।

‘हामीले दुई वटा बैंकसँग सम्झौता गरेका छौँ । बैंकले सबै विद्यार्थीको बैंक खाता शून्य ब्यालेन्समा खोलिदिनुका साथै एक सयसमेत जम्मा गरिदिन्छ’, मेयर राईले भने, ‘विद्यार्थीहरूले त्यो खातामा प्रत्येक दिन न्यूनतम पाँच रुपैयाँ जम्मा गर्नुपर्छ । थप रकम आफ्नो गच्छेअनुसार वचत गर्न सक्छन् । नगरपालिकाले विद्यार्थीको वचतको ब्याजमा दुई प्रतिशत रकम वार्षिक रूपमा एकमुष्ठ जम्मा गरिदिन्छ ।’

कार्यक्रमअन्तर्गत नगरभित्रका सबै विद्यार्थीले बैंक खाता खोलिसकेका छन् । सामुदायिक विद्यालयका १ हजार ५० जना र संस्थागत विद्यालयका २ हजार २ सय विद्यार्थीले बैंक खाता खोलिसकेको युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख एवं सूचना अधिकारी योगनिधि भट्टराईले बताए ।
सूर्योदय नगरपालिकामा एक क्याम्पस, ६३ वटा वटा सामुदायिक, ३० वटा संस्थागत विद्यालय र ५५ वटा बालविकास केन्द्र छन् ।

प्रतिक्रिया