केही मन्थन : रैथाने र विकासे

अनुभवले देखायो कि लोकल कुखुरा र ब्वाइलर कुखुरा समान गुणस्तरका हुनै सक्दैनन् । खच्चड र घोडाको बल समान हुनै सक्दैन । जहाँ वर्णसंकरता हुन्छ त्यहाँ मौलिकताको गुण हुनै सक्दैन । जतिसुकै ठूलो विद्वानले भने पनि बेमौसमी उत्पादन र मौसमी उत्पादनको पौष्टिकतामा समानता कुनै पनि हालतमा हुन सक्दैन । ठीक यसै गरी रैथाने बिउ र विकासे बिउमा समानता हुन सक्दैन । उत्पादन परिणाम बढ्दछ, बढ्ला तर गुणस्तर कम हुन्छ । किनकी ‘स्थानीय बिउवीजनले प्रकतिलाई चिनेका हुन्छन्, अप्राकृतिक कुराले तिनलाई हुर्काउन, बढाउन आवश्यक हुँदैन ।’

मोहनप्रसाद सापकोटा

संसारमा माग्ने नभएका देश छैनन् । तर सोच नै मगन्ते सोच भएका देश भने अति कम छन् । कार्यालयको कामको सिलसिलामा तथा व्यक्तिगत किसिमले म जति पनि विकसित देश घुमे त्यहाँ अरू देशबाट बिउवीजन आफ्नो देशमा अनधिकृतरूपमा नभित्रियोस् भनेर अत्यन्त कडा निगरानी गरिएको देखेँ । कारण सोधेँ, बुझेँ स्थानीय बिउवीजन जसको पेटेन्ट अधिकार लिइएको हुन्छ त्यसलाई प्रतिस्थापन नगरियोस् र जनताको स्वास्थमा प्रतिकूल असर नपरोस् भनेर त्यसो गरिएको रहेछ । मैले त्यहाँ नयाँ बिउवीजन आदिको प्रयोग नै गरिन्न त भनेर जिज्ञासा राखेँ । तिनले भने त्यसका लागि यहाँको हावासँग मिल्ने अरू देशको प्रयोग गर्दछौँ । यहाँ भोलि प्रयोगका चरणमा तलमाथि हुँदा तिर्नुपर्ने क्षतिपूर्ति, दण्ड र जरिवानाले संस्थाको नामोनिसान नै मेटिने गर्दछ ।

हाम्रो देशमा पनि सात सालपछि लगत्तै यहाँका प्रायः सबै रैथाने बिउवीजनका सम्बन्धमा व्यापकरूपमा विदेशीहरूबाट अनुसन्धान भएको रहेछ र प्रायः सबै थोकका रैथाने बिउवीजन यहाँबाट लगिएका रहेछन् । नेपालसँग कुनै पनि बिउवीजनको यो हाम्रो हो भन्ने प्रमाण आजका मितिसम्म मलाई लाग्छ छैन ।

ती प्रतिवेदन पुस्तक पुस्तिकाहरूमा एउटा गहन विषय पनि उठाइएको पाइन्छ । ‘यहाँका मान्छे अनभिज्ञ र अतीविज्ञ (मूर्ख) छन् त्यसैले यिनले रैथाने बिउवीजन जोगाउँदैनन् । विश्वभरको हावा पाइने यो मुलुकबाट अहिले त हामीले बिउ लगिरहेका छौं, भोलि कहाँबाट लैजाने होला ?’ तिनको यो भनाइले मलाई चसक्क दुख्यो ।

त्यहाँ विश्लेषण गरिएका कुरा अझ घतलाग्दा र खतरनाक छन् । त्यहाँ कृषि तस्करको कुरा गरिएको रहेछ । अन्त कतै प्रयोग नभएका वा नगरिएका मल, बिउवीजन र कीटनाशक औषधि प्रयोग गर्न यस्ता देश उपयुक्त हुन्छन् । सायद भविष्यमा सबै एकोहोरो लागेर यो देशको उपभोग गर्नेछन् । यस भनाइबाट यो देशमा अन्त प्रयोग भइसकेको भनेर कतै प्रयोग नभएका कुराहरूको प्रयोग हुन्छ, गरिन्छ भनेर सहजै ठोकुवा गर्न सकिन्छ । कुनै नयाँ कुरा यहाँ प्रयोग गरिँदा त्यसमा संलग्न हुने सबै पक्ष एकमतले ‘यो अति उत्तम हुन्छ’ भनेर यहाँ प्रचारप्रसार गर्न थाल्दछन् । उदेकलाग्दो पक्ष छ कि यी कुरा मेरो देशले दशकौँ अघिदेखि भोगिरहेको रहेछ । मरे अर्को मर्दछ, बालीनाली नासिए अर्काको नासिन्छ, केही गर्नु पर्दैन, यसो अलिअलि पैसा छरी दिएर मुखमा बुझो लाए पुग्दछ ।

अनुभवले देखायो कि लोकल कुखुरा र ब्वाइलर कुखुरा समान गुणस्तरका हुनै सक्दैनन् । खच्चड र घोडाको बल समान हुनै सक्दैन । जहाँ वर्णसंकरता हुन्छ त्यहाँ मौलिकताको गुण हुनै सक्दैन । जतिसुकै ठूलो विद्वानले भने पनि बेमौसमी उत्पादन र मौसमी उत्पादनको पौष्टिकतामा समानता कुनै पनि हालतमा हुन सक्दैन । ठीक यसै गरी रैथाने बिउ र विकासे बिउमा समानता हुन सक्दैन । उत्पादन परिणाम बढ्दछ, बढ्ला तर गुणस्तर कम हुन्छ । किनकी ‘स्थानीय बिउवीजनले प्रकतिलाई चिनेका हुन्छन्, अप्राकृतिक कुराले तिनलाई हुर्काउन, बढाउन आवश्यक हुँदैन ।’ आजभन्दा ६० वर्ष अगाडि नै यी कुरा लेखिएका रहेछन् । हामी…, धिक्कार छ हामीलाई ।

कृषि

‘न कृषेस्तु समं वित्तं’ र ‘न वाणिज्यं कृषेः समम्’ भन्थे ऋषिमुनिहरू । आजभोलि आफूले खानेकुरा कहाँबाट आउँदछ भन्ने कुरा नै थाहा नपाउने वा थाहा पाउन मन नगर्ने समाज बढिरहेकोले वा ‘यि वा यो नभए पनि हामी माथिमाथि जान सक्दछौँ’ भन्ने सोचले गर्दा हो यो देशमा विगत लामो समयदेखि कृषि र कृषक अपहेलनीय बनिरहेका छन् । सुगुलगुण्डे विकासमा यस्तै लक्षण बढी देखिने गर्दछन् । यो क्षेत्र पनि रियल स्टेटको जग्गा जस्तो बनाइन खोजिएको छ । कित्ताकाट, प्लटिङ र झण्डा गाड्ने वा बाह्रौंमा बहर वा साँढेलाई डामे जसरी राजनीतिक त्रिशूलले डामेर छाड्ने प्रचलन चलाइएको छ ।

धेरैले यो क्षेत्रलाई आफ्नो उन्नतिको सिँढी बनाए र अहिले पनि धेरैले बनाइरहेका छन् । माया देखाई टोपलिन्छ तर त्यो बकरेले पशुपंक्षीलाई गरेजस्तो कृत्रिम हुन्छ । हुनु जति नोक्सान भइसक्छ अनि मल किन्ने सम्झौता भएका समाचार पढ्न र सुन्न ती विवश हुने गर्दछन् । कहिले राजनीतिक हावाले छोएर त कहिले असहनीय पीडाले ती कहिले दूध पोख्दछन् त कहिले गोलभेंडा सडकमा छरिरहने गर्दछन् । पीडाको अर्थ नबुझ्नेहरू उनीहरूले गर्ने यो कामलाई पनि बेचेर उकासिइरहेका हुन्छन् ।

अहिले उखु कृषक बेवारिसे विस्कून बनेका छन् । कृषक आफैँ उखु बनेका छन् र चुस्नेले तिनलाई युगौँदेखि चुसिरहेका छन् अथवा उखु आफैँ कृषक बनेको छ । अहिले कृषिमा अन्त हेरेर सिकिएको ‘चक्लाबन्दी प्रणाली’ सुरु गरिएको छ । विश्वमा जहाँ जहाँ इमानदारीको र परिश्रमको इज्जत गरिन्छ, त्यहाँ त्यहाँ यो प्रणाली सकारात्मक परिणाम दिँदै चलिरहेको छ । यहाँ कसै कसैले किनेका डोजरको मूल्य उठाउन मात्र यसको प्रयोग हुँदैन भन्ने आधार छैन । मानिसमा संस्कार वा आदत बसाउन सकिएन भने प्रोजेक्ट सकिएपछि त्यस प्रोजेक्टबाट सिकिएका कुराहरू पनि बँझिन वा बुझिन थाल्दछन् । केही मानिसहरू अविश्वसनीय ढंगले उकासिन्छन् त्यो बेग्लै कुरा हो ।

अन्तमा, फेरी पनि द्विविधामा परिरहेछु । उखु कृषक भएको हो कि कृषक उखु भएका हुन् ठम्याउन सकिरहेको छैन । किनकि कसैले कसैको रगत चुस्न जुका बनेर शरीरमै टाँस्सिन जानुपर्दछ भन्ने छैन, अरू परोक्ष तरिकाले पनि चुस्न सकिन्छ । यो र यस्तै अनेक प्रसंगमा ब्यापारी वा साहू वा उद्योगलाई दोष दिइए पनि दोषी ती मात्र हुन् भनेर सोच्दछ यदि कसैले भने त्यो मूर्ख हो ।

विकासका मोडेल

देशको ढुकुटीको आधाभन्दा बढी भाग नदेखाई चपाएर सकिन्छ, दाँतमा समेत अलिकति पनि दाग लागेको देखिन्न । बाँकी आधाको पचास प्रतिशत काम गरी दिएर (झाडा टारेर) सकिन्छ । पच्चीस प्रतिशतको काम गरिन्छ, त्यसैले स्वभावतः त्यो टिक्दैन । यी त हाम्रा संस्कृति र परम्परा नै भए छोड्ने कुरा पनि भएन, छोडाउन खोज्ने कुरा पनि भएन ।

हाम्रा यी संस्कृतिमा मिसिन आउँदछ, विदेशी विकासका मोडल । सम्झौता भएदेखि आयोजना तुहिएर काम नलाग्ने हुँदासम्म कमिसन पाइने देश विश्वमा नेपालबाहेक अरू छैन । यस्ता आयोजना पनि यहाँ प्रयोग गरिन्छ, न तिनलाई यहाँको भूबनोटको मतलव छ न त प्राकृतिक गहनताको नै । खूब वातावरणीय पक्ष अध्ययन गरेको जस्तो, दूरदर्शिता अपनाएजस्तो देखिन्छ अनि हरेक वर्ष वर्षामा ती अध्ययन र ती दूरदर्शिता चिना बगाए जसरी आयोजनाको मृत्युसँगै बग्ने बगाइने गर्दछ ।

हामीसँग जुन भूबनोट छ, त्यो स्थिर छैन । यो रहस्यमय भूबनोटलाई विदेशी आयोजनाको अनुकरण गर्दै खोतल्दै गयौँ भने हामी पूर्णरूपमा विनास हुनेछौँ । हरेक वर्ष यो देखिइरहेको छ । हरेक विकासका आयोजनाबाट हरेक वर्ष जति फाइदा हुन्छ त्यसको बढीमा पच्चीस प्रतिशतले त्यो आयोजनाको मर्मत सम्भारलाई धान्न सक्नुपर्दछ । तर, यहाँ प्रायः हरेक आयोजनाका पचहत्तर प्रतिशत फाइदा मर्मतसम्भारमा खर्च भइरहेको देखिन्छ । हामी यसलाई विकासतिरको यात्रा भन्ने गर्दछौँ, म चाहीँ यसलाई मसानतिरको यात्रा भन्न रुचाउँदछु ।

देशभर समस्यामाथि समस्या थपिँदै गइरहेका छन् । हरेक पाखा पर्वत चिथर्न पनि छाडिएको छैन, बाढी र पहिरोले धनजनको क्षति हुन पनि कम भएको छैन । नदी किनारमा एउटा सुकुम्बासीलाई बगाएको भोलिपल्टै खर्को सुकुम्बासी गएर बसि हाल्दछ । प्रकृतिको प्राकृतिक स्वभावलाई यहाँ कमाई खाने भाँडो बनाइने गरिएको छ ।

मानिस सोच्दछन् पशुपतिनाथ, स्वयम्भूनाथ, अल्लाह वा प्रभू आदिलाई केही नहुँदासम्म मलाई वा हामीलाई पनि केही हुन्न, गलत सोच्दछन् । राम, कृष्ण, बुद्ध, पैगम्बर मुहम्मद वा जिससका पछि लाग्ने पनि यस्तै सोच्दथे । तर तिनका समयमा पनि अनेक थरी प्रकोप हुन्थे र त्यसलाई रोक्न सकिएको थिएन । प्रकृतिको चरित्र बोधगम्य विषय होइन तर पनि नियमितरूपमा हुने वा देखिने प्रकृतिको चरित्रलाई व्यापार बनाइएको देख्दा भने उदेक लाग्दो रहेछ ।

चाहे प्रमाण होस् वा नहोस् तर मानव सभ्यताको सुरुआती बिन्दु यही हिमालयको सेरोफेरो हो भन्दछ पूरै पूर्वीय दर्शन । यस क्षेत्रमा अनेकौँ महामानव जन्मिए र बिलाए । कसैले कसैलाई देवता भने त कसैले कसैलाई दानव । जब जब सभ्यताको निरन्तरतामा मानवको सोच र कर्म बाधक हुने अवस्था आयो तब तब भीषण नरसंहारहरू भए । यो क्रम सधैँ चलिरहेछ र निकट भविष्यमा पनि चल्नेछ ।

अलिकति प्राचीन सहर देखेपछि मानिसहरू त्यो स्थललाई अरू स्थलभन्दा सुरक्षित सम्झने गर्दछन् र सबैतिरबाट त्यहाँ आई थुप्रने गर्दछन् । तर ती भ्रममा छन्, यथार्थतः यस्तो गतिविधिले प्रकृतिलाई भार कम गर्न सहजता मात्र प्राप्त हुन्छ । यी कुरा हाम्रा पुराण, वंशावली र इतिहासले स्पष्ट पारेका छन्, हामी स्पष्ट हुन चाहँदैनौँ, सत्य यही हो । विभिन्न पद, आस्था आदिमा हुने पदस्थापन र आक्रमण भीषण नरसंहारको लक्षण हो । मानिस नबोल्न वा विरोध नगर्न विवश हुन सक्दछ तर हुने कुरा ऊ रोक्न सक्दैन । जब नरसंहार हुनेछ तब जो जो वास्तविक प्रकृतिप्रेमी हुनेछन् ती ती जोगिनेछन् र अरू सबै नष्ट हुनेछन् । एकपछि अर्को गरेर जेजस्ता गतिविधि हामी भोग्न विवश भइरहेका छौँ, त्यो उज्ज्वल भविष्यको लक्षण होइन, कुनै पनि हालतमा होइन ।

नयाँ अन्न र होम

दाल, भात, तरकारीजस्तो टन्न चाहिन्न, केही थोपाले पनि अमृतको काम गर्दछ । बिहानै कतै प्लास्टिक बालेजस्तो छ, सफा गर्न खोजेका होलान् । मलाई भने दिमागलाई असर गर्ने खालको गन्ध आइरहेछ । जे बालिन्छ त्यो आकाशमा गएर हावासँगै मिसिएर बस्दछ, बादल बन्दा त्यो पनि मिसिएर बादल बन्दछ, अनि जब पर्दछ त्यसको अंश पनि सँगै पृथ्वीमा फर्किएर आउँदछ ।

प्रसंग यज्ञका सम्बन्धमा उठाउन चाहेँ । यज्ञमा प्रयोग हुने मन्त्रको अर्थहरू केलाउँदछु एउटा गजबको विज्ञान लुकेको देख्दछु । अमुक देवता, अमुक देवी, अमुक राक्षस, अमुक प्र्राणी, अमुक तत्वलाई यो चरु होम हाल्दछु भनिएको हुन्छ । यो खाउ र सन्तुष्ट होउ, मलाई मागेको कुरा देउ, दुःख नदेउ भनिएको हुन्छ । विभिन्न प्रयोजनका लागि विभिन्न अनाज, शखर, घिउ, फलफूल, बनस्पति, कन्दमूल र मासुको समेत होम गर्ने विधान गरिएको छ ।
अब यो कुरा लगेर यो होमलाई तुलना गरौँ वायुमण्डलमा भएका र पृथ्वीमा भएका अदृश्य जीवलाई नियन्त्रण गर्ने अचम्मको विधि देखिन्छ होम । शरीर नदेखिएपछि, तिनले आएर आफूले जस्तै खाएको नदेखिएपछि विश्वास गर्दैनौँ हामी । खाएर आँखा अगिल्तिर शरीर ढले मात्रै कुनै कुरा विषालु लाग्छ हामीलाई तर कोरोनाजस्तै आँखाले नदेखिने भाइरस आदि हुन्छन् र तिनलाई कतै अलमल्याउन, निष्क्रिय बनाइराख्न वा मार्न वातावरणमा अहिले विभिन्न औषधि छरेजस्तै धुवाँ छर्ने एउटा सनातन र विशिष्ट विधि वा प्रविधि पनि थियो होम भन्ने बारेमा हामी ध्यान दिँदैनौँ ।

जब पृथ्वीको जल, स्थल र आकाशको वातावरण प्रदूषित हुन थाल्यो तब मात्र होम वा यज्ञको सुरुआत भएको देखिन्छ । शास्त्रमा दिइएका तथ्यांक हेर्दा पृथ्वीमा मानिसको उत्पत्ति भएको करिब २५–३० लाख वर्षपछि मात्र होम गर्ने चलन चलाइएको पाइन्छ । त्यतिञ्जेलसम्म अहिले जसरी खेतीपाती हुँदैनथ्यो, प्रकृति प्रदत्त कुराले नै मानिस अघाउँदथे । जब फल, फूल, कन्दमूल र जलमा विकृति पैदा भयो तब त्यसले मानिसहरूको आवश्यकता पूरा हुन छाड्यो । धेरै मानिस अकालमा मर्न थाले । यसलाई मानिसको पहिलो ज्ञानको चरण (सिद्धि) लोप भयो भनिएको छ । लामो समयसम्म यो अवस्था रह्यो । त्यसपछि मानिसले दोस्रो सिद्धि (ज्ञान) पाए, होमको सुरुआत त्यसपछि मात्र भयो । खेतिपाती र पशुपालनको सुरुआत त्यसपछि मात्र भयो ।
होमबाट निस्कने ज्वाला र गन्धको विश्लेषण गरेर खानेकुरा एवं वातावरणको प्रदूषण जाँचिन्थ्यो । आजभोलीको होम त अशुद्ध छ किन कि अशुद्ध कुरा होम गर्न हुन्न भनिएको छ, शुद्ध कुरा उपलब्ध नै हुन छाडे ।

अन्त्यमा

धेरै पहिलेका कुरा नगरौँ, केही पुस्तासम्म मात्र सोचौँ । अहिले हामी कोही डाक्टरका, कोही मन्त्रीका, कोही व्यापारीका सन्तान भनेर चिनिएका छौँ होला । तर केही पुस्ताअघि ती सबै किसान नै थिए । अघिल्ला पुस्तासम्मका कुरा नगरौँ, जीवन गुजारा गर्न तीमध्ये धेरैले निकै ठूलो मिहिनेत गर्नुपर्दथ्यो । हाम्रोे पुस्ताले पनि निकै गोताहन्डर खाँदै आयौँ । जीवनमा अनेकौँ आरोहअवरोहहरू झेल्दै बुझ्दै आयौँ । तर, हामी आफैँ जीवनको उत्तरार्धमा आएर र हामीभन्दा पछिको पुस्ता सुरुदेखि नै अचम्मसँग बदलिएको छ ।

दुःख र मिहिनेत फरक विषय हुन् । सामान्यतः परिश्रम अनुसारको फल नपाउनुलाई दुःख भनिन्छ तर हामी सोचेजस्तो नहुनुलाई दुःख मानिरहेका छौँ । यसैगरी शरीरलाई प्रतिफल पाउने गरी सक्रिय बनाउनुलाई मिहिनेत गर्नु भनिन्छ, तर हामी शरीरलाई अल्छी बनाउन उद्यत हुनुलाई मिहिनेत मानिरहेका छौँ । समग्रमा भन्नुपर्दा पहिले दुःख धेरै गर्दा पनि प्रतिफल कम पाइन्थ्यो, अहिले कम दुःखमा पनि जीवन गुजारा गर्न सहज बन्दै गएको छ । शरीरले बढी सुख खोज्दै गइरहेछ, त्यसैले दुःख बढिरहेछ, जीवन गुजाराका लागि होइन ।

अर्को शब्दमा भन्नुपर्दा जुन परिश्रम र मिहिनेत गर्ने क्षमता हामीसँग वंशानुगतरूपमा थियो त्यो बिस्तारै ह्रास भइरहेछ । जुन सहनशीलता हाम्रो रगतमा थियो अब त्यो देखिन छाड्दै गएको छ । प्रविधिको विकाससँगै मिहिनेत गर्ने बानीमा ह्रास नआइदिएको भए देश विकास गर्न सहज हुन्थ्यो, तर त्यसो भएन ।

सबैलाई सुख चाहिएको छ, मिहिनेतबिनाको सुख । त्यसैले खेतबारी जोत्ने, खोस्रने, कोरीबाटी गर्ने जाँगर वा कुनै उद्योगमा हुने लगनशीलता हराउँदै जान थालेको छ । यस्ता मानिस पाउन कठिन हुन थालेको छ, सीमापारीकालाई लगाउनुपर्ने भएको छ । डर लाग्न थालेको छ अब, कतै कुनै दिन यहाँ भोकमरीको चपेटा त पर्दैन । एसी खाने, एसीमै बस्ने र एसीमै सुत्ने आदतले खेती त हुँदैन । जहाँ प्रकृतिले साथ दिएको छ त्यहाँ प्रकृतिले साथ नदिएका देशका दिक्कलाग्दा प्रविधि र नीति हुलेर हामी गर्व गरिरहेका छौँ । स्वर्गजस्तो देशलाई रहर र स्वार्थले मरुभूमि बनाइरहेका छौँ ।

प्रतिक्रिया