निःशुल्क स्वास्थ्य शिविरबाट साढे दुई सयले गरे स्वास्थ्य उपचार

पर्वत । पर्वतमा छातीसम्बन्धी रोग भएका साढे दुई सय जना बिरामीहरुको निःशुल्क स्वास्थ्य उपचार गरिएको छ ।
जाडो मौसमसँगै छातीसम्वन्धी रोगीहरुको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको एक दिने छाती रोगसम्बन्धी शिविरमा दुई सय ४५ जनाको परिक्षण गरिएको हो ।

बिरामीहरुको मणिपाल शिक्षण अस्पताल तथा ओम हस्पिटल प्रालि पोखराका वरिष्ठ छातीरोग विशेषज्ञ डा सिपी आचार्यले उपचार गरेका थिए । उपचार गराएकाहरुमध्ये ८० जना बिरामी थप परिक्षण गर्नुपर्ने खालका भेटिएको पर्वत अस्पतालका अध्यक्ष शंकर गिरीले जानकारी दिए ।

बिरामीहरुलाई निःशुल्क एक्सरे, इसिजी, रगत परिक्षण गर्नुका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । पर्वत अस्पतालमा सञ्चालन गरिएको एक दिने शिविरमा उपचारका लागि गाउँ–गाउँदेखि बिरामी आएका थिए ।

एक दिने शिविरवाट लामो समय छातीसम्बन्धी समस्या भएका र आर्थिक अभावका कारण उपचार गर्न नसक्ने विपन्न असहाय तथा वृद्धवृद्धाहरु लाभान्वित भएको गिरीले बताए । शिविर सञ्चालनका लागि पर्वत जेसीज र इनरह्वील क्लव अफ पर्वतले पनि सहयोग गरेका थिए ।

कार्यक्रममा वरिष्ठ छाती रोग विशेषज्ञ डा सिपी आचार्यले अझै पनि नागरिक तहमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि भइनसकेको बताउँदै रोग लागेर जटिल अवस्था आएपछि मात्र उपचार गर्ने बानीलाई सुधार गर्नुपर्ने बताउए ।

उनले लक्षण देखिने वित्तिकै उपचार गराउन सकेमा भविष्यमा ठूलो जोखिम नआउने बताउँदै व्यक्तिगत सुरक्षामा ध्यानजोखिम नआउने बताउँदै व्यक्तिगत सुरक्षामा ध्यान पुर्याउन आग्रह गरे । आफूले दैनिक ५० देखि ६० प्रतिशत बिरामी यही क्षेत्रको हेर्ने गरेको स्मरण समेत गरे ।

कार्यक्रममा पर्वत जेसीजका अध्यक्ष मिलन पौडेल, इनरह्वील क्लव अफ पवर्तका अध्यक्ष मिना जोशीलगायतले बोलेका थिए । कार्यक्रम पर्वत अस्पतालका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया