
कालिकोट । कर्णाली प्रदेशको दुर्गम भौगोलिक क्षेत्र जोड्ने जीवनरेखा मानिने कर्णाली राजमार्गमा दुर्घटनाको श्रृङ्खला रोकिएको छैन । शनिबार कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१ मा भएको ट्याक्टर दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार से २ त ३४३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक जुम्लाको चन्दननाथ नगरपालिका–९ निवासी २४ वर्षीय भक्तबहादुर सुनार र पूजा निर्माण सेवाका साइट इन्चार्ज डडेलधुराको अमरगढी नगरपालिका–८ निवासी ३५ वर्षीय नरेश पाण्डे घाइते भएका हुन् । दुर्घटनामा परेका दुवै जनाको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ ।
घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी प्राथमिक उपचार गरिएको थियो। अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि दुवै जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार साँघुरो सडक, जोखिमयुक्त मोड तथा भौगोलिक जटिलताका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ ।
कर्णाली राजमार्गले कहिले पाउला विकास ?
जोखिमको भारसुर्खेतदेखि जुम्लासम्म जोडिएको कर्णाली राजमार्गमा कर्णालीका नागरिकको दैनिक जीवन, व्यापार, स्वास्थ्य सेवा र शिक्षासँग प्रत्यक्ष जोडिएको सडक हो । तर वर्षौंदेखि सडकको अवस्था कमजोर रहँदा यहाँ यात्रा गर्ने यात्रु तथा सवारी चालकले ठूलो जोखिम मोल्नुपर्ने अवस्था छ ।
राजमार्गका अधिकांश भागमा सडक साँघुरो, भिरालो तथा घुमाउरो छ । कतिपय स्थानमा सडक विस्तार र स्तरोन्नतिको काम भइरहे पनि निर्माणाधीन खण्डहरूमा धुलाम्मे सडक, खाल्डाखुल्डी र कमजोर संरचनाले दुर्घटनाको जोखिम बढाएको स्थानीयको गुनासो छ । विशेष गरी कालिकोट, जुम्ला र दैलेखका पहाडी खण्डमा वर्षायाममा पहिरो तथा हिउँदमा धुलोका कारण यात्रा अझ कठिन बन्ने गरेको छ ।
सडकको नियमित मर्मत सम्भार नहुँदा र कतिपय स्थानमा सुरक्षा बार तथा संकेतचिन्हको अभाव हुँदा दुर्घटनाका घटना दोहोरिने गरेका छन्।स्थानीयवासीका अनुसार कर्णाली राजमार्गमा सवारी दुर्घटना नयाँ विषय होइन । हरेक वर्ष सडक दुर्घटनामा परी सर्वसाधारणले ज्यान गुमाउने तथा घाइते हुनेक्रम जारी छ ।
सडक स्तरोन्नति, नियमित मर्मत, ट्राफिक व्यवस्थापन र चालकहरूको सतर्कता बढाउन नसके दुर्घटनाका घटना अझ बढ्न सक्ने सरोकारवालाहरू बताउँछन् । यसपटकको ट्याक्टर दुर्घटनाले पुनः एकपटक कर्णाली राजमार्गको जोखिमपूर्ण अवस्थालाई उजागर गरेको छ ।
दुर्गम भौगोलिक बनावट, कमजोर सडक संरचना र सीमित यातायात पूर्वाधारका कारण कर्णालीका नागरिकले दैनिक रूपमा ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन । स्थानीयवासीले कर्णाली राजमार्गलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।
दुर्घटनाग्रस्त ट्याक्टर हटाउने तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । माननीय देखि मन्त्रि हुँदै मुख्य मन्त्री समेत पाएको कालिकोट लगायतका जिल्लाका नेताहरुका भाषण मात्र ठुला छन्, तर कर्णाली राजमार्ग बारे कसैको चासो छैन ।

कालिकाेट
प्रतिक्रिया