
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । गुरुङ आज प्रहरी वृत्त बालाजु पुगी घटनाको बारेमा जानकारी लिँदै सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरेर घटनाका बारेमा जानकारी लिएका थिए । मृतक भुजेल पूर्वगृहमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का वासिन्दा थिइन् ।
तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीय (नेपाली ब्रो) को नामले चिनिने कुमार थापा मगरले गए राति ४२ वर्षीया आफ्नै श्रीमती ईश्वरीको हत्या गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
घरायसी विवादको क्रममा कुमारले फलामको रड प्रहार गर्दा ईश्वरी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी ईश्वरीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया