फिदिम–२ मा तीव्र पारियो सडक नाली सरसफाइ अभियान

पाँचथर । फिदिम नगरपालिका–२ मा वर्षातको समयमा हुन सक्ने सम्भावित डुबान र विपद्लाई रोक्न सडकका नालीहरू सफा गर्ने अभियान तीव्र पारिएको छ । वडाको विपद् व्यवस्थापन कोषको रु १ लाख ७९ हजार बजेट लगानी गरेर यो सरसफाइ अभियान चलाइएको हो ।

यो अभियानले पर्यावरण सफा राख्नुका साथै स्थानीय स्तरमा रोजगारीको अवसर समेत सिर्जना गरेको छ । नाली सफा गर्न दिनहुँ १० जना श्रमिकहरू खटिएका छन्, जसले दैनिक रु ७५० नगद ज्याला पाइरहेको बताएका छन् ।

वडा समितिका सदस्य नविन ओझाका अनुसार फिदिम–१ कालुराम ग्यारेजदेखि बसपार्क हुँदै होक्मा खोलासम्म, जोरपिपलदेखि थाङसाङ खोलासम्म र जलपा मन्दिरदेखि बसपार्क क्षेत्रसम्मका नालीहरू सफा गरिएका छन् । नालीबाट निकालिएको माटो, ढुंगा र फोहोरलाई सडकमै नछाडी तत्काल व्यवस्थापन गर्न जेसिभी र ट्याक्टरको प्रयोग गरिने वडा कार्यालयले जनाएको छ ।

सडक छेउछाउमा घर निर्माण गर्दा निस्कने माटो र ढुंगा जथाभाभी फालिँदा नालीहरू पुरिने गरेका छन् । त्यसमाथि वर्षाको पानीले बगाएर ल्याउने फोहोरका कारण नाली थुनिएर पानी सडकमै बग्ने र सडक नै भत्किने जोखिम बढेपछि वडाले यो पूर्वतयारी स्वरूप सरसफाइ कदम चालेको हो । यस अभियानले वर्षायाममा बजार क्षेत्रलाई हिलो र डुबानमुक्त बनाउन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया