बारा । जिल्लाको निजगढ नगरपालिकाले बिरामीको घरघरमै पुगेर निःशुल्क उपचार सुरु गरेको छ । ‘ज्येष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपांगसँग निजगढ नगरपालिका’ कार्यक्रममार्फत नगरपालिकाले बिरामीको घरमै पुगेर सेवा दिन सुरु गरेको हो ।
स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको हो ।
भौगोलिक विकटता, स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै आएर सेवा दिँदा स्थानीय सरकारले सरकार रहेको अनुभूत गराएको छ । निजगढ नगरपालिका–११ रतनपुरकी १ सय २ वर्षीय अम्बिका कार्की र उनकी ६५ वर्षीय बुहारी रनमाया खत्रीको स्वास्थ्य परीक्षण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । नगरपालिकाका स्वास्थ्यकर्मीहरू घरमै आएर स्वस्थ्य परीक्षण र औषधि वितरण गरेपछि रनमायाले खुसी व्यक्त गरिन् ।
स्वास्थ्य संस्थासम्म जान नसक्नेका लागि घरमै गएर सेवा प्रदान गरिएको निजगढ नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले बताए । सबै वडामा घरदैलो गरेर बिरामीहरूको पहिचान गरिएको र रक्तचाप, मधुमेहजस्ता दीर्घरोगीको जाँचसमेत गरिएको उनले बताए ।
घरमै पुगेर प्राथमिक उपचार गरी औषधिसमेत वितरण गरिएको छ । घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुःखाइ लगायतका उपचार गरिने बताए ।
पालिकाले जाँच गरिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिने निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताए । नगरप्रमुख पुरीले नेपालको संविधानले नै नागरिकलाई स्वास्थ्य उपचारको हकप्रदान गरेकोले यसको प्रत्याभूति गर्न सबै क्षेत्र र तहले इमानदारीका साथ काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया