कमला नदीमा नेपालकै ठूलो झोलुंगे पुल निर्माण हुँदै

सिरहा । सिरहा–धनुषा जोड्ने कमला नदीमा नेपालकै सबभन्दा ठूलो झोलुंगे पुलको निर्माण भइरहेको छ । जिल्लाको सिरहा नगरपालिका–१३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठ्ठाल जोड्न सो झोलुंगे पुल १ हजार ५ सय १ मिटर लामो र चार फिट चौडाइको छ । सोको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

संघीय सरकारको २८ करोड लागतमा निर्माण भइरहेको सो पुलको माघ दोस्रो सातासम्ममा सम्पन्न हुने निर्माण कम्पनीले बताइएको छ । थानी निर्माण सेवा काठमाडौंले २०७९ असोज १ देखि निर्माण थालेको थियो । ठेक्का अवधि २०८१ असार मसान्तसम्म भए पनि छ महिना अगावै माघ महिनाभित्रै सक्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको निर्माण कम्पनीका इन्जिनियर बिनोद कुमार मण्डलले बताए ।

उनले धनुषातर्फको सम्पूर्ण काम सकिएको र सिरहातर्फ ओर्लने–उक्लने सिडी निर्माणको काम अन्तिम चरणमा रहेकाले केही दिनभित्र सम्पन्न गरेर आवतजावतका लागि बाटो खुला गर्ने बताए । पुल सञ्चालनमा आएपछि जनकपुर र सिरहा आवतजावत गर्न वर्षौंदेखिको समस्या हट्ने र सो क्षेत्रमा उत्पादन हुने तरकारी र दूधको बजारीकरणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीय बताउँछन् ।

पुल निर्माणपछि सिरहा र धनुषाका सर्वसाधारणलाई ओहोरदोहोर गर्न सजिलो हुने र सिरहाबाट ३५ किलोमिटरको दुरीमा रहेको जनकपुर पुग्न पूर्व–पश्चिम राजमार्ग तथा भारतको बाटो भएर जानुपर्ने बाध्यता हट्नेछ ।

प्रतिक्रिया