यौन र समाज : शास्त्र र यथार्थता

अहिले जुन तरिकाले महिलाहरू पीडित भइरहेका कुरा बाहिर आउने गर्दछन् त्यो भयावह देखिन्छ । भित्री तहसम्म अनुसन्धान गरी दोषीलाई कठोर सजाय दिइनुपर्दछ । तर पुरुषहरू पीडित हुँदैनन् भनी सोच्नु पनि पूर्णतः गलत हुनेछ । धैर्यताले निश्चित सीमा नाघेपछि पुरुषहरूबाट आउने विद्रोहले समाज पूरै तहसनहस हुन सक्ने सम्भावना हुन्छ । महाभारत र रामायण यसका ज्वलन्त उदाहरण हुन् ।

मोहनप्रसाद सापकोटा

आहार, मैथुन र निद्रा : यी हरेक जीवका स्वाभाविक क्रिया हुन् । अन्य जीव प्रकृतिप्रदत्त लक्षण र समयअनुसार मात्र यी कार्य गर्दछन् । तर मानिसमा बुद्धि पनि भएकोले ऊ अरू जीवभन्दा बेग्लै किसिमले यी कुराको उपभोग गर्ने गर्दछ । धेरै प्राचीन कालदेखि नै मानिसले यी कुरालाई स्वेच्छिक प्रयोग गरिरहेका दृष्टान्त छन् । यो लेख मैथुनमा मात्र सीमित रहेर लेख्न चाहान्छु ।

के भन्दछ शास्त्र ?

प्राचीनकालका ऋषिमुनिहरू तथा देवदेवीहरू पनि यौनका मामिलामा बेलाबेलामा चुकेका पाइन्छन् । मैथुनलाई सामान्य रूपमा लिनुपर्दछ भनिरहँदा पनि असामान्य अवस्थामा विभिन्न घटनाहरू भएका पाइन्छन् । मैथुनका नियम, मर्यादा र कारणहरू बताइएका छन् । धार्मिक कानुनहरू लेखिएका छन् । मैथुन सृष्टिको सुरुआत दक्षप्रजापतिका पालाबाट मात्र भएको हो त्यसभन्दा अघि थिएन भनिएको छ । पुराणहरू लेख्दछन्ः

सत्ययुगमा मात्र मैथुनको उत्पत्ति भएको हो । सुरुसुरुमा मानिसहरू आफ्नी पत्नीसँग ऋतुकालमा (रजस्वला भएको ४–२० दिनसम्म) मात्र सहवास गर्दथे । ती न स्त्री–लोभी थिए न त स्त्री–लम्पट नै । यसैले त्यसबेला जारीको डर थिएन ।

यो कल्पमा पनि पहिलो सत्ययुगदेखि नै मैथुनको सुरुआत भएको हो । अहिले २८औँ कलियुग चलिरहेछ । सुरुसुरुमा नारीहरू हरेक महिना रजस्वला हुँदैनथे । अतः मैथुन गर्दा पनि सन्तान जन्माउन कठिन हुन्थ्यो वा सन्तान हुँदैहुँदैनथे । ती स्त्री जीवनको उत्तराद्र्धमा एउटा मात्र सन्तान जन्माउने गर्दथे । मैथुनलाई असल सन्तान उत्पादन गर्न चाहिने जति सबै उपाय अपनाएर मात्र प्रयोग गरिन्थ्यो ।

मैथुनको सृष्टि हुनुअघि मानिसको आजकलको जस्तो कुनै पनि शारीरिक संस्कार गरिँदैनथ्यो । तर पनि मानिसको जवानी स्थिर हुन्थ्यो र संकल्पकै भरमा सन्तान जन्मने गर्दथे । उमेर सकिन लाग्दा मानिसहरू बल्ल सन्तान पाउँदथे । संकल्पले सन्तान जन्माउने गर्दा कहिले नचाहँदा नचाहँदै सन्तान जन्मने गर्दथे त कहिले असंख्य सन्तान एकैपटक जन्मने र एकैपटक मर्ने गर्दथे । यसरी सृष्टि अघि नबढ्ने देखेपछि मात्र मैथुनमार्फत सन्तान पाउने तरिका सुरु गरिएको हो ।

शब्दहरू जेजस्ता प्रयोग भए पनि सुरुमा मानिसमा जुन ज्ञान र शक्ति थियो त्यो समयक्रममा लोप हुँदै अर्को नयाँ ज्ञानले त्यसलाई प्रतिस्थापन गर्दै गर्दै लगेको देखिन्छ । जतिजति जनघनत्व बढ्दै गयो, खानपिन र वातावरणमा परिवर्तन हुँदै गयो त्यतित्यति यौनजन्य विकार पनि बढ्दै गए । यौनतृष्णा शान्त पार्न मानिसहरू प्राकृतिक नियमका सबै मर्यादा मिचेर अघि बढ्न थाले । कुनै नाता बाँकी रहेनन् । समलिंगी यौन सम्बन्ध चल्न थाल्यो । स्वजातभन्दा बाहिरका जीवसँग यौनसम्बन्ध राख्न थालियो । यसरी सृष्टिमा विचलन आउन थालेपछि ऋषिमुनिहरू (तत्कालीन समाजशास्त्री) ले अनेक नियम कानुन बनाएर त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था मिलाए ।

उपनिषद्कालसम्म मानिसमा यौनजन्य विकृति त्यति मौलाएको पाइन्न । यदि यस्तो हुँदो त याज्ञवल्क्यले मैथुन कर्मलाई स्तुतियोग्य कार्य भन्दैनथे । कतै न कतै विकृतिको निराकरणका बारेमा केही कुरा लेखिएका हुन्थे । तर यस्तो देखिन्न । स्मृतिकालमा आएर नै यौनजन्य विकृति सुरु भएको देखिन्छ । यसबेला लेखिएका ग्रन्थमा पुरुषलाई वीज र नारीलाई स्त्रीको तथा पुरुषलाई घिउ र नारीलाई अग्निको उपमा दिँदै अनेक थरी नियम बसाइएका छन् । चार वर्ण र जातपातका नियम पनि यही अवधिमा बढी चलेका देखिन्छन् । सामान्यतः मैथुनका नियम नमानेर जन्मने सन्तानका कारणले नै जातपातको प्रथा चलाइएको देखिन्छ । अवैध किसिमले जन्माए पनि मार्न नहुने वा नमिल्ने हुनाले यसरी जन्मने सन्तानलाई विभिन्न काममा खटाएर जातपातको व्यवस्था गरिएको पाइन्छ । विश्वकर्मा, राजा बेन आदिका कथामा यससम्बन्धी प्रसंगहरू भेटिन्छन् ।

वेदमै चार वर्णको कुरा छ भनिन्छ । तर तिनको वर्गीकरण जन्मको आधारमा गरिएको नभई कर्मका आधारमा गरिएको पाइन्छ । यौनसम्बन्धी समस्या निराकरण गर्न नारद, मनु आदि मुनिले यौनसम्बन्धी कानुन लेखे । तिनले स्त्री र पुरुषका बीचमा अती सन्निकटता र अति दुरी समाजका लागि घातक हुन्छ भनेर ठोकुवा गरेका छन् । यसैले चाहे आमासँग नै किन नहोस् लामोसमयसम्म एक्लै नबस्नू, पतिपत्नी लामो समय छुट्टिएर नबस्नू, एकले अर्कालाई सन्मान गर्नू, दुवै मर्यादामा रहनू आदि भनेर लेखे । सतहमा जे देखिए पनि ज्योतिष, जात, खानदान आदिजस्ता कुरा हेरेर मात्र विवाह गर्नुपर्दछ भनिनुका पछाडि भविष्यमा यौन समस्याका कारण हुन सक्ने सामाजिक बेथितिलाई नियन्त्रण गर्नु नै प्रमुख उद्देश्य रहेको देखिन्छ । शास्त्रले एकपति वा एकपत्नीलाई नै विशेष प्राथमिकता दिएको छ ।

शास्त्रमा यौन शिक्षालाई पनि विशेष प्राथमिकतामा राखिएको छ । विस्तृतरूपमा एकैठाउँमा सबै कुरा प्राचीन ग्रन्थमा लेखिएको पाइन्न, फाट्टफुट्ट लेखिएको छ । यौनसम्बन्धी कुरा उपनिषद्देखि पुराणसम्म सबैतिर पाइन्छन् । वेद आफूले नहेरेको हुनाले यसै भन्न सक्दिनँ । कालान्तरमा वात्स्यायन आदिले अझ खुलेर योनसम्बन्धी शिक्षा दिन कामसूत्र आदि ग्रन्थ लेखे । समग्रमा भन्नुपर्दा खुलेर नबताइए पनि ५० प्रतिशत पारिवारिक र सामाजिक समस्याको वास्तविक कारण यौन–समस्या नै हुने गर्दछ । यसैले यससम्बन्धी कूतुहलतालाई सामान्यीकरण गर्न यौनसम्बन्धी आधारभूत ज्ञान आमाले छोरीलाई र बाबुले छोरालाई दिनु पर्दछसमेत भनिएको छ ।

एक पश्चिमी दार्शनिकले भनेझैँ कुनै बेला विपरीत लिंगीको गोलीगाँठो देख्दा उत्तेजित हुने मानिस अब परिवर्तन भएको छ । ऊ विस्तारै यौनलाई सामान्यरूपमा लिन थालेको छ । तर पनि किन त समाजमा हत्या, हिंसा, बलात्कार आदिजस्ता घटना बढिरहेका छन् त ? आफ्नो नियममा बस्दा यौन–सन्तुष्ट हुन नसक्ने मानिसका लागि प्राचीनकालमा पनि वैकल्पिक व्यवस्था गरिएका थिए । यदि नहुँदा हुन् त वेश्यासम्बन्धी कानुन नै लेखिएका हुँदैनथे । तर यसरी यौन व्यवसाय चलाउनेहरूलाई गृहस्थी हुन दिइन्नथ्यो ।

समाजमा यौनसम्बन्धी समस्या दुई किसिमले बढ्ने गर्दछ । पहिले यौन सन्तुष्टिका लागि र दोस्रो पैसाका लागि । यौन सन्तुष्टिका लागि हुने अपराध कम गर्न रेड लाइट एरिया बनाउने आदिजस्ता उपाय बनाउन सकिन्छ । शास्त्रमा यसको पनि विधान पाइन्छ । बाहिर प्रचारमा नआए पनि विश्वभर भित्रभित्रै यो उपाय नअपनाउने देश कुनै पनि छैनन् । तर जब स्त्री–पुरुषका बीचको यौन सम्पर्कका बीचमा पैसालाई प्राथमिकतामा राखिन्छ तब यो समस्याको कुनै पनि सरल समाधान हुँदैन । जुनबेला जे घटना घट्दछ त्यो बेला त्यो घटना सहमतिमा भएको थियो वा थिएन भनी मापन गर्ने उपाय के हो ? अहिले जुन तरिकाले महिलाहरू पीडित भइरहेका कुरा बाहिर आउने गर्दछन् त्यो भयावह देखिन्छ । भित्री तहसम्म अनुसन्धान गरी दोषीलाई कठोर सजाय दिइनुपर्दछ । तर पुरुषहरू पीडित हुँदैनन् भनी सोच्नु पनि पूर्णतः गलत हुनेछ । धैर्यताले निश्चित सीमा नाघेपछि पुरुषहरूबाट आउने विद्रोहले समाज पूरै तहसनहस हुन सक्ने सम्भावना हुन्छ । महाभारत र रामायण यसका ज्वलन्त उदाहरण हुन् ।

समान अधिकार वा स्वतन्त्रताको पनि निश्चित सीमा हुन्छ । प्रकृतिप्रदत्त गुणलाई समानता र स्वतन्त्रताको तराजूमा जोख्दै बराबर पार्न खोज्नु हुँदैन । गल्ती दुवैले गर्न हुँदैन तर कसको गल्ती देशलाई बढी बोझिलो हुन्छ त्यो भने हामी सबैले मनन गर्नुपर्दछ । को संयमित हुँदा समाज संयमित हुन्छ र को असंयमित भइदिँदा समाज छाडा हुन्छ त्यो कुरा सबैले मनले सोच्नु पर्दछ ।

केही दिन पहिले टिकटिकमा एउटा भिडियो देखेको थिएँ । एउटी नारी विदेशस्थित एउटा विवाहित पुरुषसँग गफ गरिरहेकी देखिन्छिन् । उनी सोद्धछिन्, ‘तपाइँ विदेशमा हुनुहुन्छ, तपाईंकी श्रीमतीले यहाँ अर्को पुरुषसँग सुत्न पाउने कि नपाउने ?’ उसले उताबाट जवाफ दिन्छ, ‘पाउने किन नपाउने’ । पश्चिमेली समाजमा यो कुरालाई खासै महत्व दिइन्न किनकी ‘यो मेरो एक सय एकौँ पति वा पत्नी हो’ भने पनि त्यसलाई अन्यथा मानिन्न । तर यस्तो समाज अब अपवादमा बाहेक नियन्त्रण गरिन वा हुन थालेको छ । किनकी यसबाट जे जस्तो कुरा उत्पादन हुन्छ त्यसले देशलाई बर्बादीतिर लैजान्छ । अनि हामीलाई जेजसरी स्वतन्त्रताको परिभाषा यहाँ पढाइन्छ, सिकाइन्छ वा सुनाइन्छ त्यस्तै खालको समाज वास्तविक जीवनमा संसारभर कतै पनि छैन, हुँदैन । समाजमा हुने केही प्रतिशत यस्ता गलत प्रवृत्तिले समग्र समाजको प्रतिनिधित्व गर्दैन र यी अनुकरणीय कुरा पनि हुँदैनन् ।

अन्तमा, छाडा सामाजिक सञ्जाल, नियन्त्रित यौन शिक्षा, बिग्रँदो पारिवारिक वातावरण र वैकल्पिक व्यवस्थाको अभावले गर्दा नै हरेक समाजमा यौन अपराधमा वृद्धि हुन्छ भन्ने कुरा ख्याल राखौँ । कसैलाई कुनै पनि निहुँमा दिइने स्वतन्त्रता वा अधिकार लिनेलाई, समाजलाई र देशलाई बोझ हुनु हुँदैन । ‘खुट्टा भए जुत्ता कति कति’ भन्ने उखान सही होइन । तर ‘उत्ताउलो गाई बाघले खाई’ भन्ने उखान पनि हामीले बिर्सन हुँदैन ।

नारीलाई दिइने अधिकार वा स्वतन्त्रता राज्यले दिन सक्ने सुरक्षासँग आवद्ध हुनुपर्दछ अनि त्यो पुरुषको अधिकार हनन नहुने हदसम्मको हुनुपर्दछ तब मात्र दिइएको अधिकार वा स्वतन्त्रताको अर्थ रहन्छ । कसैलाई पनि दिइने स्वतन्त्रता र अधिकारले समाजलाई अप्राकृतिक बनाउन नखोज्ने हुनुपर्दछ ।

प्रतिक्रिया