मेलमिलाप नीतिको सान्दर्भिकता बिर्संदै नेपाली कांग्रेस

विन्दुकान्त घिमिरे

नेपाली कांग्रेसले यही पुस १६ गते ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीलाई आमन्त्रण गरेन । राप्रपा र रास्वपालाई आमन्त्रण नगरेको विषयमा कांग्रेसभित्र र बाहिर पनि जिज्ञासा प्रकट भयो । महामन्त्री गगन थापाले अग्रगामी परिवर्तनका लागि योगदान पु¥याएका दलहरू बसेर समीक्षा गर्ने कार्यक्रम राखिएको भन्दै स्पष्टीकरण दिए ।

पछिल्ला दिनहरूमा पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियता बढेको विश्लेषण धेरैले गरेका छन् । पूर्व राजा शाह सहभागी कार्यक्रममा जनताको भिड दिन गनेर बढ्न थालेको छ । यस्तो अवस्थामा अग्रगामी परिवर्तनमा योगदान पु¥याएका राजनीतिकदलहरू आपसमा बसेर समीक्षा गर्नु स्वभाविकै हो । मेलमिलाप दिवसको कार्यक्रममा मात्रै होइन त्यसपछि पनि सत्तारूढ पार्टीहरू तथा प्रमुख प्रतिपक्षी एमालेले विभिन्न चरणका बैठक गरिरहेका छन् । यतिसम्मकी राष्ट्रिय सभा सदस्यहरूको आसन्न निर्वाचनमा सत्तापक्ष र प्रतिपक्षबीच चुुनावी तालमेल तथा साझा उम्मेद्वार तय गर्ने विषयमा समेत छलफल भएको समाचार बाहिर आएको छ । पूर्वराजा शाहको पक्षमा बढ्दो जनसमर्थनलाई प्रमुख राजनीतिकदलहरूले गम्भीरतापूर्वक लिन थालेको संकेत हो यो । पूर्वराजाका पक्षमा बढ्दै गएको जनसमर्थनले परिवर्तनकारी शक्तिहरू बीच आपसमा मेलमिलाप जरुरी छ भन्ने सन्देश दिएको छ ।

सत्ता पक्ष र वैधानिक प्रतिपक्षबीच यसरी नै हिलो छ्यापाछ्याप, तिकडम र धोकाधडीपूर्ण राजनीति जारी रहने हो भने अवैधानिक प्रतिपक्षप्रति जनसमर्थन बढ्ने निश्चित छ । त्यसैले नेपाली कांग्रेसले आयोजना गरेको मेलमिलाप दिवसको कार्यक्रममा अग्रगामी शक्तिहरूबीच छलफल हुनु स्वभाविकै हो । तर दूरदर्शी राजनेता बिपी कोइरालाले २०३३ पुस १६ गते स्वदेश फर्कने क्रममा दिएको वक्तव्यको दायरा कहाँसम्म हो ? भन्ने विषयमा भने नेपाली कांग्रेस अझै अन्योल देखिएको छ । बिपी कोइरालाको वक्तव्यको शब्द र वाक्य हेर्ने हो भने राजासँग मेलमिलाप गर्न खोजेको जस्तो देखिन्छ । तर सारमा हेर्ने हो भने राष्ट्रियता र प्रजातन्त्रको संवर्धन हो ।

अहिले देशमा गणतन्त्र छ । राजा छैनन् । तर पूर्वराजाका गतिविधि बढेका छन् । उनी पुनर्वहालीको अभियानमा छन् । छिमेकी देश भारतले पूर्वराजालाई साथ दिएको देखिएको छ । तर के का लागि साथ दिएको हो ? भन्ने स्पष्ट छैन । पूर्वराजा शाह भारतको गोटी बन्न खोजेका हुन् भने नेपालको राष्ट्रियता फेरी संकटमा छ भन्ने बुझ्दा हुन्छ । यतिबेला बिपी कोइराला भएको भए राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ब्याख्या कसरी गर्थे होलान् ? यो प्रश्नको उत्तर खोज्नका लागि तत्कालीन परिस्थितिको मोटामोटी विश्लेषण गर्नुपर्ने हुन्छ । यो आलेखमा यही मोटामोटी विश्लेषणको जमर्को गरिएको छ ।

बिपी र राजा वीरेन्द्रको भेटघाट

सरसर्ती हेर्दा पुस १६ भनेको दूरदर्शी राजनेता बिपी कोइराला लामो निर्वासित जीवन भारतमा बिताएर नेपाल फर्किएको विशेष दिन हो । ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’ लिएर बिपी २०३३ पुस १६ गते नेपाली कांग्रेसका नेता कार्यताहरूसँगै नेपाल फर्किएका थिए । राष्ट्रियता संवर्धनका मामिलामा देशभित्रका सबै शक्तिहरू एकढिक्का हुनुपर्ने राष्ट्रिय मेलमिलापको मुख्य सन्देश हो ।

तर, बिपी कोइराला राजासँग मेलमिलाप गर्ने भन्दै स्वदेश फर्कनुको रहस्य निकै गहन छ । भारतीय बिस्तारवादी नीतिको गहिरो अध्ययन भएकाहरूले मात्रै बिपी कोइरालाले राजासँग किन घाँटी जोडे ? भन्ने रहस्य बुझ्न सक्छन् । त्यतिबेलासम्म भारतले पाकिस्तान विभाजित गरिसकेको थियो । भुटानको रक्षा र परराष्ट्र मन्त्रालय आफ्नो नियन्त्रणमा लिइसकेको थियो । सिक्किमलाई आफूमा विलय गरिसकेको थियो । भारतको अबको टार्गेट नेपाल हो भन्ने सूचना तथा विश्लेषण बिपी कोइरालाले आफ्ना भारतीय अनुयायीद्वारा पाउन थाले ।

सिक्किममा जस्तै नेपालमा पनि राजा र जनताबीच द्वन्द्व सिर्जना गराउने र आफू प्रवेश गर्ने दाउमा भारतकी तत्कालीन प्रधानमन्त्री रहेको सूचना पाएपछि बिपी कोइरालाको धैर्यताको बाँध टुटेको थियो । यो सूचना र विश्लेषण कुनै पनि हालतमा राजा वीरेन्द्रसम्म पु¥याउने सूत्रको खोजीमा बिपी कोइराला जुटे । किनकी कत्ति पनि ढिलाइ गर्न नहुने अवस्था थियो । नेपालका तत्कालीन प्रधानसेनापति अर्जुननरसिंह राणा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीसँग निरन्तर सम्पर्कमा रहेको सूचना राजा वीरेन्द्रसम्म पु¥याउन कत्ति पनि ढिलाइ गर्न नहुने अवस्थामा बिपी थिए ।

तर राजा वीरेन्द्रसँग भेटेर विस्तारपूर्वक यो रहस्य बुझाउन सक्ने सूत्र बिपीसँग थिएन । त्यसैले बिपी कोइराला जोखिम मोलेरै स्वदेश फर्के । स्वदेश फर्कने क्रममा बिपी कोइरालाले शैलजा आचार्यसँग भनेका थिए, ‘नेपालको नियती पनि सिक्किमको जस्तै बन्न लेखेको रहेछ भने मलाई तत्कालै फाँसी हुन्छ, यदि नेपालको भाग्य राम्रो छ भने मेरो राजासँग भेट हुन्छ, तर राजा र म बीच भेट गराउनै नदिने षड्यन्त्रमा इन्दिरा गन्धी लागिसकेकी छिन् ।’
नभन्दै बिपी कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने बित्तिकै पक्राउ गरेर फेरि सुन्दरीजल जेलमा राखियो । भारतीय लबीका पञ्चहरू बिपी कोइरालालाई फाँसी दिनुपर्छ भन्दै अभियान सुरु गरे । तर बिपी कोइरालाले राजाका निजी चिकित्सक मृगेन्द्रराज पाण्डेमार्फत राजा वीरेन्द्रसँग गोप्य भेटघाट गरी भएभरको सूचना दिए । यो सूचना पाए लगत्तै राजा वीरेन्द्रले मध्यरातमा राष्ट्र बैंकबाट डलर निकाल्दै तत्काल अमेरिका गएर स्वास्थ्य उपचार गर्न आग्रह गरे ।

राजा वीरेन्द्रले बिपीलाई भने, ‘तिम्रो स्वास्थ्य अवस्था अत्यान्तै नाजुक छ । अहिलेको मुख्य आवश्यकता भनेको तिमी कुनै हालतमा पनि बाँचेर फर्कनुपर्छ ।’ त्यसपछि बिपी कोइरालाले भने, ‘सरकार, मेरो स्वास्थ्यभन्दा देशको स्वास्थ्य महत्वपूर्ण हो, ख्याल गरिबक्सेला ।’ यता फाँसीको सजाय दिनुपर्ने मान्छेलाई राज्यको ढुकुटी खर्च गरी अमेरिका उपचार गर्न पठाएको भन्दै दरबारभित्रै राजा वीरेन्द्रको विरोध भयो । खासगरी आमा र भाइहरूबाटै चर्को विरोध भएपछि राजा वीरेन्द्रले प्रधानसेनापति परिवर्तन गरी देशलाई ठूलो संकटबाट जोगाए ।

मेलमिलाप नीतिको सान्दर्भिकता

नेपाली कांग्रेसको सबैभन्दा ठूलो पर्व भनेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हो । यो दिवस हरेक वर्ष पुस १६ गते पर्छ । तर यस वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा केन्द्रीय कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजावादी पार्टी राप्रपालाई आमन्त्रण गरेन । नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले पार्टी परित्याग गर्दै भनेका थिए, ‘जुन दिन नेपाली कांग्रेसले संवैधानिक राजसंस्थाको लाइन छाडेर गणतन्त्रको लाइन लियो, त्यसै दिनदेखि नेपाली कांग्रेसको मृत्यु भयो ।’ कांग्रेसले गणतन्त्रको लाइन लिएपछि बिपी कोइरालाद्वारा प्रतिपादित मेलमिलाप नीतिको मृत्यु भइसकेको छ वा जीवितै छ ? भन्ने प्रश्नहरू पनि कांग्रेस वृत्तबाटै उठ्ने गरेका छन् ।

बिपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले उल्लंघन गरेका हुन् कि ? नेपाली कांग्रेसले ? भन्ने विषयमा पनि बेलाबेलामा कुरा उठ्ने गरेको छ । यस सन्दर्भमा सबैभन्दा पेचिलो प्रश्न हो, ‘कांग्रेसले गणतन्त्रको लाइन लिनु भनेको बिपी कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय एकता तथा मेलमिलाप नीतिविरुद्ध हो कि होइन ?’ ‘राजा नरहे देश रहँदैन, राजाको घाँटी र मेरो घाँटी एउटै हो’ भन्ने कुरा बिपी कोइरालाले कुन परिस्थिति र कुन परिवेशमा भनेका होलान् ?

हुन त नेपाली कांग्रेसको इतिहास लेख्ने सन्दर्भमा शैलजा आचार्यको उपस्थितिमा बिपी कोइरालाले गणेशराज शर्मासँग भनेका थिए, ‘म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाका बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ ।’ बिपीले भनेको यो कुरा जेल जर्नल किताबको पृष्ठ (छ, ज) मा उल्लेख छ । बिपी कोइरालाको निधन भएको ४१ वर्ष नाघिसकेको छ । बिपी कोइरालाको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नेहरू अब नेपाली कांग्रेसमा खासै धेरै छैनन्, भए पनि उनीहरूको भूमिका शून्य छ ।

त्यसैले यति बेला बिपी कोइरालाको विचारलाई अपव्याख्या गरिनु वा आफ्नो स्वार्थअनुसार परिभाषित गरिनु ठूलो कुरा होइन । बिपीको राजनीतिक जीवन खुला किताब जस्तै छ, जसले पनि पढ्न, बुझ्न सक्छ । तर बिपी कोइराला आफ्नो जीवनकालको अन्तिम अवस्थामा पुुग्दा बिपी कोइरालालाई अचम्मको अनुभूति भयो । बिपीको त्यो अनुभूति हो, ‘मेरा अनुयायी भन्नेहरूले नै मप्रति भ्रम सिर्जना गर्नेछन् ।’

नेपाली कांग्रेसमा आफ्नो भूमिकाको बारेमा भ्रम सिर्जना गरिनेछ भन्ने अनुभूति बिपी कोइरालालाई किन भयो ? भन्ने प्रश्न निकै पेचिलो छ । नेपाली कांग्रेसको स्थापनाकालको सिद्धान्त राष्ट्रियता र प्रजातन्त्र हो । २०१२ सालको वीरगञ्ज अधिवेशनपछि समाजवादसमेत समावेश गरी नेपाली कांग्रेसका आदर्श र सिद्धान्त स्थापित गरिएका छन् । यी आदर्श र सिद्धान्तको बारेमा कुनै विवाद छैन । शासकीय स्वरूपमा संसदीय शासकीय प्रणाली नै कायम छ । २००७ सालको क्रान्तिलाई सबैले जनताको पहिलो क्रान्ति स्वीकार गरेकै छन् । यी सबै बिपीको नेतृत्व र वैचारिकीमा भएका हुन् ।

२०१७ सालमा प्रजातन्त्रको हत्यापछि र २०२५ सालमा जेलमुक्त भएपछि नेपालमा प्रजातन्त्र पुनस्र्थापना गर्न २०३३ सालसम्म बिपीले सशस्त्र क्रान्तिको बाटो अपनाए । तर भूराजनीतिक परिदृश्यमा भएको उथलपुथलको विश्लेषण गरी २०३३ पुस १६ पछि राष्ट्रिय एकता र मेलमिलापको नीतिअन्तर्गत राजासँग न संघर्ष न त समर्पणको बाटो तय गरे । तर राजाको विरोध नगरे पनि राजाले स्थापना गरेको व्यवस्थासँग भने बिपीले विरोध कायमै राखेका थिए ।

बिपीको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिले नेपालमा जनमत संग्रह भयो र राजनीतिक पार्टीहरूका लागि केही खुकुलो भयो । त्यसैको जगमा २०४६ सालको आन्दोलन र बहुदलीय व्यवस्था स्थापना भयो । बिपीको जीवनकालमा राजाले प्रजातन्त्र दिन मानेनन् । बिपीले आफैँ लेख्न आवश्यक ठानेको नेपाली कांग्रेसको इतिहास लेख्न बिपीलाई समय पुगेन । कांग्रेसको इतिहास शैलजा आचार्यले लेख्ने अपेक्षा बिपीको थियो । तर शैलजा आचार्यको पनि षड्यन्त्रपूर्वक निधन भयो ।

पुरुषोत्तम बस्नेतबाट नेपाली कांग्रेसको इतिहासको प्रारूप भनेर प्रकाशित भएको छ । बिपीका विचार, घटना दर्शाउने जेल जर्नल, आत्मवृत्तान्तलगायत सामग्रीबाट नेपाली कांग्रेसको बारेमा जान्न सकिन्छ । नेपाली कांग्रेसले गणतन्त्रमा जाने निर्णय गरेपछि केही कोणबाट प्रश्न उठ्ने गरेको छ, कांग्रेसले बिपीको राष्ट्रिय एकता र मेलमिलापको नीति परित्याग ग¥यो । गणतन्त्र बिपीको विचारको प्रतिकूल हो । यो प्रश्न गर्नेमा कांग्रेसभित्रको एउटा समूह, पूर्वपञ्चको पार्टी राप्रपा र राजावादी रहेका छन् ।

अर्कोतर्फ गिरिजाप्रसाद कोइरालाले नेपालका राजनीतिक पार्टीहरूसँग सहमति, सहकार्य र एकता नै राष्ट्रिय एकता र मेलमिलाप नीतिको निरन्तरता हो भन्दै आए । गिरिजाप्रसादले यो यसरी बिपीको नीतिको निरन्तरता हो भनेर व्याख्या गरेनन् । गिरिजाप्रसाद कोइरालालाई सैद्धान्तिक व्याख्या गरेर पुष्टि गर्नुमा कुनै रुचि पनि थिएन । यसरी बिपीको विचारलाई केहीले राजावादी प्रजातन्त्रवादी र केहीले राष्ट्रवादी प्रजातन्त्रवादी भनेर विवाद गरिएको देखिन्छ ।

भ्रम र यथार्थता

बिपीको विचारका बारेमा जनतालाई भ्रममा पार्ने षड्यन्त्र निरन्तर जारी छ । नेपालको सन्दर्भमा राजतन्त्रको पक्षमा बिपी खुला थिए । राजतन्त्रले प्रजातन्त्र स्वीकार गरेमा राजतन्त्र स्वीकार गर्न बिपीलाई आपत्ति थिएन । बिपीले समर्थन गरेको राजसंस्था शासन गर्ने आकांक्षा राख्ने राजसंस्था होइन । संविधानको अधिनस्थ रहने राजसंस्था हो । राजाले आफूलाई संयमित राख्नसकेमा राजसंस्था राष्ट्रको हित संवर्धन गर्न सर्वाधिक उपयुक्त हुन्छ भन्ने बिपीको विचार थियो ।

प्रजातन्त्र स्वीकार नगर्ने राजसंस्था बिपीलाई किमार्थ स्वीकार्य थिएन । यो विचार बिपीले बारम्बार व्यक्त गरेका छन् । प्रजातन्त्र स्वीकार नगरेको अवस्थामा राजतन्त्र पनि रहने छैन भनेर बिपीले बारम्बार चेतावनीयुक्त विचार व्यक्त गरेका छन् । केही विश्लेषकहरू २०३३ सालअघि र त्यसपछिको बिपीको विचारमा फरक छ भन्छन् । उनीहरू राष्ट्रिय एकता र मेलमिलापको नीति भनेकै राजासँग मेलमिलापको नीति हो । तसर्थ बिपी नेपालमा राजतन्त्रको पक्षमा थिए भन्दै भनेर बिपीलाई राजावादीको रूपमा व्याख्या गर्छन् । तर मिहीन रूपमा बिपीको पुस १६ पछिका वक्तव्य, लेख र भाषणमा व्यक्त विचारलाई विश्लेषण गर्ने हो भने यो भनाइमा सत्यता पाइँदैन । यसका लागि सबभन्दा उपयुक्त सामग्री गणेशराज शर्माद्वारा संकलित र सम्पादित पुस्तक राजा, राष्ट्रियता र राजनीति र फेरि सुन्दरीजल जेलडायरी हुन सक्छ ।

राष्ट्रिय एकता र मेलमिलाप भनेको राष्ट्रियता र प्रजातन्त्रलाई जोड्ने नीति हो । राजा, राष्ट्रियता र राजनीति पुस्तकको पृष्ठ २२ मा बिपी कोइरालाले भनेका छन् – ‘२०१७ साल पुस १ गतेको राजाको गलत कदमले प्रजातन्त्रलाई त कमजोर पा¥यो नै त्यो भन्दा बढी राष्ट्रियता कमजोर बनायो । अहिले राष्ट्रियता सर्वाधिक कमजोर अवस्थामा छ । तसर्थ राष्ट्रिय एकता र मेलमिलापको खाँचो छ । राष्ट्रियता र प्रजातन्त्रलाई जोड्न सक्ने जुन नीति छ राष्ट्रिय एकताको त्यसमा तपाईं आउनुभयो भने कसैले फुटाउन सक्दैन ।’

यसरी बिपीले राष्ट्र र प्रजातन्त्रलाई सँगसँगै प्राथमिकतामा राखेको देखिन्छ । बिपी कोइराला भनेका यो मुलुकका मूर्धन्य राजनेता हुन् । नेपालले अँगालेको अहिलेको शासन व्यवस्था बिपीकै मार्ग दर्शन अनुसारको हो । संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख शब्द बिपीकै मार्गदर्शन हो । बिपी कोइराला राजनीतिक, आर्थिक तथा कूटनीतिक क्षेत्रका मात्रै मूर्धन्य योगदाता होइनन्, नेपाली साहित्यको क्षेत्रमासमेत बिपीको ठूलो योगदान छ । तर आफूलाई बिपीको मुख्य अनुयायी हौँ भन्नेहरूकै कारण नयाँ पुस्तामा बिपी कोइरालाको योगदान हस्तान्तरण हुन सकेको छैन ।

चेलाहरूले राम्रो काम गरे मात्रै गुरुको सुनाम फैलँदै जाने हो, चेलाहरूले अपराध गर्न थाले भने जतिसुकै मूर्धन्य गुरुहरू पनि दुर्नाम हुँदै जान्छन् । नेपाली कांग्रेसको ब्यानरमा अहिले जे जस्ता गतिविधि भइरहेका छन्, जे जस्ता चरित्रका व्यक्तिहरू नेपाली कांग्रेसमा हावी भएका छन्, यसले अझै केही वर्ष निरन्तरता पायो भने बिपी कोइरालाको दुर्नाम सुरु हुने छ । यस्ता गतिविधि नसच्याउने हो भने नाम नलिँदा र फोटो नटाँग्दा नै बिपीप्रति न्याय हुन्छ ।

किन कमजोर बन्यो लोकतन्त्र ?

२०१६ जेठदेखि २०१७ पुससम्म बिपी कोइरालाले १८ महिना सरकारको नेतृत्व गरे । नेपालको वास्तविक स्वर्ण युग भनेको यही १८ महिना कालखण्ड हो भन्ने कुरा त्यसबेलाको सरकारले चालेका कदमले नै पुष्टि गर्छन् । धेरै ऐतिहासिक काम भएका थिए नेपालमा त्यतिबेला । नेपाल असफल राष्ट्र हुनबाट जोगिएको त्यसैको बलमा हो ।

२०४६ सालको परिवर्तन यता चार वर्षे शाही शासनकालबाहेक नेपाल बहुदलीय संसदीय व्यवस्थाअन्तर्गत अगाडि बढिरहेको छ । तर २०१६ जेठदेखि २०१७ पुससम्म त्यो १८ महिने संसदीय कार्यकाल र २०४७ साल यताको ३० वर्षे संसदीय कार्यकालको तुलनै गर्न सकिन्न । पछिल्लो ३० वर्षको अवधिमा सबैभन्दा धेरै अवधि सरकारको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेसले अहिले पनि चुनावमा भोट माग्न जाँदा बिपी कोइराला नेतृत्वको सरकारले गरेका कामलाई नै भजाउने गरेको छ ।

महाकाली सन्धी, एमसिसी संझौताबाहेक २०४८ यता आफूले गरेका अन्य उपलव्धी नेपाली कांग्रेसले उल्लेख गर्न सकेको छैन । तर महाकाली सन्धी, एमसिसी आफैँ विवादास्पद छन् । संसदीय व्यवस्थामा आस्था राख्ने पार्टीहरूले सत्ता प्राप्तिलाई साध्य मान्दैनन्, सामाजिक जागरणलाई साध्य मान्छन् । तर नेपाली कांग्रेस यस्ता व्यक्तिहरूको चुंगुलमा फँसेको छ, जसलाई कुनै पनि हालतमा सत्ता चाहिन्छ । यी व्यक्तिहरूले कार्यकर्ताहरूको दिमाग पनि यसरी नै भुटेका छन् ।

सत्तालाई साध्य ठान्ने कम्युनिस्ट पार्टीहरूसँग मिलेर सरकारमा जाने मात्रै होइन चुनावी गठबन्धनसमेत गर्ने गरी नेपाली कांग्रेस रसातलमा पुगेको छ । जनता चरम निराशामा छन् । नहोउन् पनि कसरी ? जनसंख्याका हिसाबले विश्वको ४१औँ ठूलो देश हो नेपाल, तर अर्थतन्त्रको आकारका हिसाबले विश्वको १०१औँ स्थानमा छ । प्रतिव्यक्ति आम्दानीको हिसाबले नेपाल १५१औँ नम्बरमा छ । जबकी २०४६ सालमा बहुदलीय संसदीय व्यवस्था स्थापना हुनुअघि नेपालको स्थान अर्थतन्त्रको आकारका हिसाबले ८७औँ र प्रतिव्यक्ति आयका हिसाबले १११औँ नम्बरमा थियो । नेपालको हैसियत कतिसम्म गिर्दै गएको छ ? भन्ने कुरा तथ्यांकले नै बोल्छ ।

प्रतिक्रिया